‘विगतमा केही पनि भएन’ भनेर लोकतान्त्रिक संवैधानिक इतिहासलाई सराप्ने कुराले नेपाल बन्ने होइन । जनताले भारी बहुमत दिएपछि अब मुलुक निर्माणको योजना निर्माणमा ध्यान दिन आवश्यक छ । नयाँ सरकारप्रति नागरिकको अपेक्षा र आशा बढी नै भएकाले पनि पूर्ववत् गाली, आरोप-प्रत्यारोप र प्रतिशोधी मानसिकताबाट मुलुक बन्दैन ।
✍ अधिवक्ता डा. प्रेमराज सिलवाल
‘चिसो भनेको नै कोकाकोला’ भनेजस्तो सोच र भाष्य विकास गरियो । चुनावमा घन्टीले ४६ प्रतिशन प्रचार इन्टरनेटबाट गऱ्यो । एमालेले ९ प्रतिशत र काङ्ग्रेसले ६ प्रतिशत मात्र गर्न सक्यो । मोवाइलको कमालको यही कारण निर्वाचनमा ‘चुपचाप घन्टीमा छाप’ भन्ने ‘भुसभुसे नारा’ बिक्यो । मूलतः युवाहरूले सामाजिक सञ्जालमार्फत फिँजाएको नारा बलियो भएर काम गरेको देखियो ।
विगतदेखि नै सामाजिक सञ्जाल निर्णायक हुँदै आएकोमा यसपटक सामाजिक सञ्जालको प्रचार-प्रसारले नयाँ भनिएको रास्वपालाई ‘छक्का दाउ लागेजस्तो’ भयो । विगतमा सरकार र पुराना दललाई सामाजिक सञ्चालमार्फत बर्साइएका गालीसमेत सर्वाधिक बिक्री भएका थिए । एक वर्षपहिले नै बालेनले राजनीतिक ‘दलका नेतालाई लखेटनुपर्ने’ भनेर लेख्दा लाखौँले लाइक र शेयर गरेर समर्थन गरेका थिए । ‘सिँहदरबार बाल्नुपर्दछ’ भन्दा हजारौँले समर्थन गरिदिए । ‘ओलीलाई माटोमुनी गाड्नुपर्दछ’ भनेर फेसबुकमा लेख्दा पनि लाखौंले ‘समर्थन’मा ताली बजाएका हुन् ।
सामाजिक सञ्चालको त्यही न्यारेटिभ (वैचारिक जग) को बलमा गत भदौ २३ र २४ गतेको प्रदर्शन चर्काउने काम भयो । जसमा त्यति धेरै नोक्सानी मुलुकले भोगेर पोल्ने, बाल्ने, चोर्ने, फोड्र्ने र लुट्ने कार्य भएको भएपनि तिनीहरू ‘आन्दोलनकारी’ भएर ‘मुलुकको परिवर्तनमा भूमिका खेलेको’ भन्ने भाष्य स्थापित गरिएकाले रास्वपालाई चुनावमा सहयोग पुग्यो । सभापति रवि लामिछानेलाई तत्कालिन ‘ओली सरकारले प्रतिशोधपूर्वक जेल हालेको’ भन्ने भाष्य स्थापित गराइयो । विगतमा जेसुकै अवस्था भएको भए पनि निर्वाचनपश्चात अब मुलुक निर्माणको जिम्मेवारी उहाँहरूमा ‘सरेकोले’ मुलुकको लोकतान्त्रिक, कानुनी, संवैधानिक, सामाजिक र नैतिक संस्कृति कस्तो बनाउने भन्ने अभिभारा समेत मूलतः उहाँहरूमा नै सऱ्यो ।
देशको राजनीतिक, सामाजिक, संवैधानिक, कानुनी, आर्थिक, सांस्कृतिक र सार्वजनिक क्षेत्रमा प्रभावकारी सुशासन दिनु पर्ने चुनौती अब बन्ने रास्वपाको सरकारलाई छ । नागरिकका न्यूनतम सेवा र सुविधामा तात्विक र देखिने भिन्नत्ता प्रदर्शन गर्नु आवश्यक छ । पुराना दललाई सत्तो सराप गर्ने काम पनि सकियो । त्यस्तो संस्कृतिको अन्त्य हुनुपर्दछ । राजनीतिक दलहरूले निर्वाचन स्वतन्त्रतपूर्वक सम्पन्न भइ मत परिणामलाई स्वीकारेको अवस्था पनि छ । ‘पुराना सबै नराम्रा र नयाँ सबै राम्रा भन्ने केही हुँदैन, होइन ।’ पुरानाले सत्ता राजनीति ध्वस्त पार्दछन् भन्ने पनि होइन । अमेरिकामा डेमोक्रेटिक पार्टी सन् १८२८ मा र रिपब्लिकन पार्टी सन् १८५४ मा गठन भयो । तिनीहरू नै पटकपटक सत्तामा रहने गरेका छन् । उनीहरू नै शक्तिसम्पन्न छन् । उनीहरूको निर्णायक भूमिका भूराजनीतिमा देखिन्छ । त्यति धेरै पुरानो दल रिपब्लिकन पार्टीबाट राष्ट्रपति डोनाण्ड ट्रम्प २०१६ पछि २०२४ देखि पुनः शासन सत्तामा फर्किएका छन् ।
बेलायतमा सन् १८५९ मा लिबरल पार्टी र सन् १९३९ मा कन्जरभेटिभ पार्टी गठन भए । तिनीहरू लगातार सत्तामा छन् । जापानमा सन् १९५५ मा लिबरल डेमोक्रेटिक पार्टी भयो । उसले पटकपटक सत्ता सञ्चालन गर्दै आएको छ । पछिल्लो २०२६ फेब्रुअरीमा भएको निर्वाचनमा भारी बहुमतका साथ उही दल विजयी भएपछि सत्ता सञ्चालन गर्दैछन् । पाकिस्तानमा पाकिस्तान पिपुल्स पार्टी (पिपीपी) लामो समयदेखि सत्तामा छ । सन् २०२० पछि उही दलले मुलुकको बागडोर सम्हालेको देखिन्छ । बंगलादेशमा पनि बंगलादेश नेशनालिष्ट पार्टी (बिएनपी) पुनः सत्तामा फर्केको छ । त्यहाँ जेन-जी विद्रोहका नाममा मुलुक पोल्ने समूहलाई मतदाताले पत्याएनन् । चीनमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी गठन भई उसको नेतृत्वमा सन् १९४९ मा समाजवादी क्रान्ति सम्पन्न भएपश्चात आजसम्म उही दल सत्तामा छ । राष्ट्रपति सि जिङ पिङ सन् २०१२ देखि सत्तामा मात्र छैनन् उनलाई आजीवन राष्ट्रपति हुनेगरी संविधान संशोधन गरिएको छ । चीनको सबै ‘ह्युमन डिभलपमेन्ट इन्डेक्स’ माथि छ । भारतमा सन् १८५५ मा भारतीय काङ्ग्रेस पार्टी र सन् १९८० मा भारतीय जनता पार्टी गठन भएका हुन् । तिनीहरू नै सत्तामा छन् । पुराना दल भनेर सराप्ने संस्कृति त्यहाँ देखिन्न । नयाँ दल, पुरानो दल, बुढो पार्टी, बुढा नेता, पुस्तान्तरण जस्ता तर्क गरेर निर्वाचनबाट पछारिएका दललाई अब प्रगतिको बाधक हुन् भन्ने न्यारेटिभ निर्माण गरेर ‘सत्तोसराप’ गर्ने संस्कृति बसालियो भने त्यो मुलुकको समय बर्बाद गर्ने काम मात्र बन्न पुग्दछ । एउटै दल नभएकाले काम गर्न सकिएन भन्ने छुट पनि अब रहेन ।
रास्वपाको चमत्कारिक जीतले नेपाल ‘नयाँ सम्भावनाको बाटोमा’ गयो । अब कुनै बहाना गर्ने समय र छुट रहेन । आरोप/प्रत्यारोप र गालीगलौजको संस्कृतिबाट होइन लोकतन्त्रिक मूल्य, मान्यता र असल अभ्यासको अनुशरण गर्नु अपरिहार्य भएको छ ।
एउटै दलको बहुमत नहुँदा पनि विश्वका संसदीय लोकतान्त्रिक अभ्यास गरेका प्रमुख मुलुकहरूमा शासन स्थीर र सुदृढ भएको देखिन्छ । बेलायतमा सन् २०१६ देखि हालसम्म हेर्ने हो भने टेरेजा मे (२०१६–२०१९), बोरिस जोन्सन (२०१९–२०२२), लिज ट्रास (२०२२), ऋषि सुनाक (२०२२–२०२४) र सन् २०२४ पछि हालसम्म कियर स्टारमर प्रधानमन्त्री रहेका देखिन्छन् । यसको अर्थ बेलायतको संसदीय लोकतन्त्र अस्थिर भयो भन्ने होइन । त्यस्तो संस्कृतिलाई राजनीतिक र कानुनी बाध्यताको स्वभाविक रूपमा लिइएको देखिन्छ । बेलायतमा संविधान नामको अलग्गै दस्ताबेज नभएर पनि मुलुक कानुन, ऐतिहासिक दस्ताबेज, संसदको आदेश र अदालती नजिरबाट सञ्चालित हुँदै आएको छ । संविधानअनुसार सरकार परिवर्तन भयो भने राज्य प्रणाली, लोकतन्त्र र संविधान नै अस्थिर भयो भन्ने भाष्य विगतदेखि नेपाली सत्ता राजनीतिमा बोलिने गरिएका हुन् । त्यो आफ्नो ‘कमजोरी ढाक्ने पर्दा’ मात्र थियो । भारतमा सन् १९७५ को इन्दिरा गान्धीको सरकारपछि मोरारजी देसाइ (१९७७ देखि १९७९ सम्म) प्रधानमन्त्री रहे । चरण सिंह (१९७९–१९८०), राजीव गान्धी (१९८४–१९८९), भी.पी.सिंह (१९८९–१९९०), चन्द्रशेखर (१९९०–१९९२), पि.भी. नरसिंह राव (१९९१–१९९६), अटल बिहारी बाजपेयी (१९९६–१९९८), एच.डी. देवेगौडा (१९९८–१९९७), आई. के. गुजराल (१९९८–१९९९) प्रधानमन्त्री बने । त्यसअघि भारतीय काङ्ग्रेसको अर्थमन्त्री रहेका डा. मनमोहन सिंह सन् २००४ देखि सन् २०१४ सम्म दुई कार्यकाल पूरा प्रधानमन्त्री भएको देखिन्छ । सन् २०१४ पछि भने लगातार तीन कार्यकाल भारतीय जनता पार्टी (बिजेपी)बाट नरेन्द्र मोदी प्रधानमन्त्री रहेका छन् ।
भारतमा पछिल्लो अवधिमा नेशनल डेमोक्रेटिक फ्रन्ट (एनडिए) को गठबन्धनको सरकार सञ्चालित हुँदैछ । अर्थात्, ती देशको संसदीय लोकतन्त्र कमजोर र अस्थिर भएको भन्ने नभएपनि नेपालमा शासन अस्थिर भएको भाष्य बनाएर विगतमा प्रमुख भनिएका दलहरूले जनअपेक्षाअनुकूल कार्य गर्न सकेनन् । आरोप/प्रत्यारोप र गालीको संस्कृति बसालिएकोले पनि लोकतान्त्रिक गणतान्त्रिक प्रणालीप्रति नागरिक अपनत्व कमजोर भएको अवस्था हो । युरोपको नर्वेमा बहुमत/अल्पमत नभनी सर्वदलीय सरकार बनाउने संस्कृति बसालिएको छ । राजतन्त्र, संघीयता समेत भएको लोकतान्त्रिक देश सबै दृष्टिले सम्पन्न छ । जर्मनमा सरकारको एउटा विभागले निर्वाचन आयोगको काम गर्दै आएको भए पनि धाँधली र पक्षपात गरेको कुरा सुन्नमा आएका छैनन् । तसर्थ विगतको नेपाली सत्ता राजनीतिमा पुराना, युवा र एउटै पार्टीको बहुमत नभएको भन्दै सुशासनको अनुभूति कमजोर हुने गरी कार्य गरियो । अब मतदाताले जनमतमार्फत रास्वपाको एकल बहुमत दिइएको देखिन्छ ।
शासन सत्ताको ‘नेतृत्वमा युवा नभएको’ भन्ने भाष्य नेपालमा बढी बोलियो । सत्ता सञ्चालनमा प्रभावकारिता ल्याउन ‘केवल उमेरका युवा मात्र चाहिने’ होइन भन्ने कुरा भूराजनीति पढ्दा थाहा लाग्दछ । विश्वको दोस्रो सम्पन्न देश चीनमा चिनियाँ राष्ट्रपति ७२ वर्ष, रुसका राष्ट्रपति ७३, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७५ र विश्वको सर्वाधिक धनी तथा शक्तिशाली मुलुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ७९ वर्षका भइसकेका भए पनि कुशलतापूर्वक सत्ता सञ्चालन गर्दैछन् । अर्थात् उमेर मात्र ‘मेजर फ्याक्ट’ होइन । तथापि, नेपालमा ४० वर्षमुनि र आसपासका रास्वपाका नेताहरूको नेतृत्वको दललाई नागरिकले इतिहासमा नै सर्बाधिक बलियो समर्थन गरेकाले अब मुलुकको स्थीरता, विकास र मूलतः सुशासनको क्षेत्रमा पनि चमत्कारिक मत प्राप्त भए जसरी नै परिणामुखी कार्य गर्न ‘होमवर्क’ गर्न थाल्नुपर्ने अवस्था बन्यो । रास्वपाको चमत्कारिक जीतले नेपाल ‘नयाँ सम्भावनाको बाटोमा’ गयो । अब कुनै बहाना गर्ने समय र छुट रहेन । आरोप/प्रत्यारोप र गालीगलौजको संस्कृतिबाट होइन लोकतन्त्रिक मूल्य, मान्यता र असल अभ्यासको अनुशरण गर्नु अपरिहार्य भएको छ ।
‘विगतमा केही पनि भएन’ भनेर लोकतान्त्रिक संवैधानिक इतिहासलाई सराप्ने कुराले नेपाल बन्ने होइन । जनताले भारी बहुमत दिएपछि अब मुलुक निर्माणको योजना निर्माणमा ध्यान दिन आवश्यक छ । नयाँ सरकारप्रति नागरिकको अपेक्षा र आशा बढी नै भएकाले पनि पूर्ववत् गाली, आरोप-प्रत्यारोप र प्रतिशोधी मानसिकताबाट मुलुक बन्दैन । अर्काेलाई फेसबुकबाट गाली गर्नु र जिम्मेवारीसहित सत्ता कुशलतापूर्वक सञ्चालन गर्नुमा फरक हुन्छ । नागरिकले ‘चुपचाप घन्टीमा छाप हानेका’ले नागरिक अपेक्षा र आवश्यकताअनुसार ‘चुपचाप मुुलुक निर्माण गर्नु’को विकल्प रहेन । ‘चिसो भनेको नै कोकाकोला’ भनेजस्तो बालेन/रवि भनेका सुगन्धयुक्त सुन हुन् भन्ने भाष्य डिजिटल मोविलाइजेसनमार्फत फैलाइएका छन् । काम र परिणामबाट त्यो पुष्टि गर्नुपऱ्यो । दल, नेता र पुरानालाई खुइल्याउने शक्ति विकास, सुशासन र समृद्धिमा लगाउन सक्नुपऱ्यो ।
प्रतिक्रिया