बसपार्कभन्दा बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

बसपार्कभन्दा बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने


नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले अन्तिम तीन दिन अवधि दिएको छ ।

महानगरपालिकाले गत चैत २५ गते सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दुरीका बस सेवा बसपार्कभित्रबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । यस अवधिमा भएका कामको समीक्षा र आगामी कार्यक्रम कार्यान्वयनका लागि समन्वय गर्न सोमबार (७ वैशाख) काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा नुवाकोटतर्फ यातायात सञ्चालन गर्ने कम्पनी सम्पर्कमा आएको बताउँदै धादिङतर्फ यातायात सञ्चालन गर्ने कम्पनीले सूचनाको अवज्ञा गरेको जानकारी दिइएको थियो । यसरी महानगरपालिकाको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।

बैठकमा यातायात आवागमनको सहजता र शहरी सुरक्षासँग जोडिएको प्रणालीका विषयमा कार्यवाहक प्रमुख डंगोलले महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीलाई नेपाल प्रहरीसँग समन्वय गरेर अनुगमन गर्न निर्देशन दिनुभयो ।

बैठकमा अतिरिक्त प्रहरी महानिरीक्षक ईश्वर कार्कीले शहरी सुरक्षालाई जनशक्तिबाट भन्दा पनि प्रविधिबाट निगरानी बढाउँदै लैजानु पर्ने बताउनुभएको थियो भने प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गुण्डागर्दी विरुद्धको अभियानले अनधिकृत काम गर्नेको सङ्ख्यामा कमी आएको जानकारी गराउनुभएको थियो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले, सडक संकेत र सडक अनुशासन पालना गराउन महानगरपालिका र ट्राफिक प्रहरीका बिचमा समन्वयात्मक कार्यक्रमलाई बढाउनु पर्नेमा जोड दिनुभएको थियो । सार्वजनिक सवारी साधनको पार्किङ, टिकट काउण्टर सञ्चालन, यात्रु चढाउने र ओराल्ने क्रियाकलाप, सार्वजनिक यातायात सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहका अनुसार काठमाडौंबाट दैनिक औसतमा सात सय वटा सार्वजनिक यातायातका साधन बाहिरिन्छन् । तीमध्ये करिब ३५० वटा बसपार्क बाहिरै पार्किङ गर्ने, यात्रु चढाउने तथा ओराल्ने गर्छन् । काठमाडौँमा सवारी साधन व्यवस्थापनका चुनौतीमध्ये यो प्रमुख समस्या बनेको छ ।

ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार नयाँ बसपार्कभित्रबाट अहिले ५७ वटा कम्पनीका सवारी साधन सञ्चालन हुन्छन् । लामो दुरीको एउटा सवारी साधन नौ घण्टा पार्किङ् गरेको ४५० रुपियाँ शुल्क लिने गरिएको छ । मध्यम तथा छोटो दुरीका माइक्रो बसको २२० रुपियाँ लिने गरिएको मल्लको भनाइ छ । बसपार्कबाट औसतमा दैनिक यस ठाउँबाट ३४० वटा गाडी आउने जाने गर्छन् ।

नयाँ बसपार्क क्षेत्र १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसमा ७५० वटा सवारी साधन व्यवस्थापन गर्न सकिन्छ ।