प्रजातान्त्रिक मुलुकमा दलभन्दा सो दलको प्रधानमन्त्री दलमा भारी हुनु निश्चय पनि भोलिका दिनमा दल र सरकारको लागि मात्रै हैन लोकतन्त्रको लागि पनि राम्रो मान्न सकिन्न । अहिले प्रधानमन्त्रीमा कार्यकारी प्रधानमन्त्रीको शैली र अभ्यासले अगाडि बढेको देख्दा प्रधानमन्त्रीमा अधिनायक प्रवृत्ति हुर्किनुका साथै तानाशाही बन्न सक्ने देखिन्छ, जुन कार्यकारी प्रमुखको पहिलो दोषको रुपमा लिन सकिन्छ ।
✍ ओम आचार्य

काठमाडौको मेयरका लागि निर्वाचनमा लौरो निर्वाचन चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएका बालेन्द्र साहले मेयर पदबाट राजिनामा दिएर रास्वपा प्रवेश गर्दै उक्त पार्टीको वरिष्ठ नेता भए । रास्वपाकै घण्टी निर्वाचन चिन्ह लिएर झापाको निर्वाचन क्षेत्र ५ बाट भारी अन्तरले प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भए । देशभर घण्टी चिन्हलाई प्राप्त अकल्पनिय निर्वाचन परिणामले आश्चर्यचकित पाऱ्यो । झण्डै दुई तिहाइ जनप्रतिनिधि आफ्नो दलबाट निर्वाचित गराउन सफल भयो !
घण्टीका जनप्रतिनिधिहरु सांसद निर्वाचित हुँदैगर्दा विगतमा कांग्रेस एमाले माओवादी दलभित्र राजनीतिक पहिचान छवि र इतिहास बनाएका र आफ्नो निर्वाचन क्षेत्रमा वर्चस्व जमाएकाहरु समेतले लज्जाजनक हार ब्यहोर्नुपऱ्यो । कति उम्मेदवारको त धरौटीसमेत जफत हुन पुग्यो ! यो सबै घटनाक्रम राजनीतिक दलसंग नभएर दलभित्रका नेताहरुप्रतिको वितृष्णासंग जोडेर हेर्ने गरिएको छ । दलका नेताप्रतिको वितृष्णाले दलको छवि र जनताको दलप्रतिको आकर्षण, विश्वास र निष्ठामा पनि प्रतिकुल असर परेको निष्कर्ष निर्वाचनको परिणामले देखाएको छ ।
आकर्षण रास्वपाको कि बालेन्द्रको ?
निर्वाचनमा होमिदै गर्दा रास्वपाले वरिष्ठ नेता बालेन्द्र साहलाई आफ्नो दलको प्रधानमन्त्रीको रुपमा प्रस्तुत गऱ्यो । रास्वपाले पनि बालेनको आकर्षण र लोकप्रियतालाई मनन मात्रै नगरी स्विकारका साथ आत्मसात समेत गऱ्यो । रास्वपा दल दर्ता हुँदैदेखि दल दुई स्थापित गर्न सक्रिय रहेका नेताहरुलाई छोडेर बालेन्द्रलाई आफ्ने दलमा प्रवेश गराइ प्रधानमन्रीको उम्मेदवार बनाउनु उनको लेकप्रियता नै मुख्य कारण हो र यही कारणले चुनावी माहोल पनि एकाएक बन्यो ।
फागुन २१ को निर्वाचनदेखि नै रास्वपा अध्यक्ष ओझेलमा पर्दै गए भने बालेनको चर्चा चुलिँदै गयो । बालेन्द्र साहप्रतिको आकर्षण जनलहरले प्रष्टै देखायो । प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेपछि बालेनलाई मत दिन घण्टीमा मत हाल्नुपर्ने हुँदा मात्रै घण्टी जनजिब्रोमा आयो र घण्टी चुनाव चिन्हले झण्डै दुई तिहाइ मत पायो ।
‘बालेन भनेको घण्टी हो’- मताधिकार भएका मानिसले यसरी बुझे ।
कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली
फागुन २१ को निर्वाचनमा कार्यकारी प्रधानमन्त्रीको अभ्यास र शैली भएको देखियो । वर्तमान संविधानमा कार्यकारी प्रधानमन्त्री को व्यवस्था छैन । केही दलहरुमा कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर संविधान संशोधनको कुरा समेत उठाएका थिए र छन् पनि । फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस, रास्वपाले त गगन र बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेर निर्वाचनमा प्रस्तुत हुनु कार्यकारी प्रधानमन्त्रीकै अभ्यास र शैली अपनाएको रुपमा बुझ्नुपर्छ । नेपाली कांग्रेसले योभन्दा पहिले पनि सन्तनेता कृष्णप्रसाद भट्टराइलाइ प्रधानमन्त्रीको रुपमा अगाडि सारेकै हो ।
रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन शाह यसरी जनआधार जनबल लिएर प्रधानमन्त्री बनेका हुन् । रास्वपा आफैले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार भनेर प्रस्तुत गरेपछि रास्वपा भित्र संसदीय दलको नेतामा बालेन्द्र साहमा सर्वसम्मत विचार नभए पनि सर्वसम्मत मत दिनु बाध्यकारी अवस्था देखिन्छ ।
प्रधानमन्त्री नियुक्त भएपछि बालेन्द्र साहको कार्यशैली कार्यकारी प्रधानमन्त्रीकै जस्तो देखिँदैआएको छ ।
अहिलेसम्म प्रधानमन्त्री बालेन्द्र साहको मन्त्रिमण्डलको निर्णय हेर्दा कार्यकारी प्रधानमन्त्रीकै शैली अपनाएको देखिन्छ । काठमाण्डौका मेयर रहँदाको उनको कार्यशैली र तत्काल निर्णय गर्ने अभ्यासमा हुर्केका उनी प्रधानमन्त्री भएपछि त्यही अभ्यास र शैलीमा छन् ।
अहिलेको सरकारको नेतृत्व गरेका बालेनको पुर्ण कमाण्डमा सरकार चलेको छ । अहिले रास्वपा र सो दलका नेताहरु छायामा पर्दै गएको देखिन्छ । प्रधानमन्त्रीको भारी व्यक्तित्वले रास्वपा र सो दलका नेताहरु थिचिँदै गएका छन् । प्रजातान्त्रिक मुलुकमा दलभन्दा सो दलको प्रधानमन्त्री दलमा भारी हुनु निश्चय पनि भोलिका दिनमा दल र सरकारको लागि मात्रै हैन लोकतन्त्रको लागि पनि राम्रो मान्न सकिन्न । अहिले प्रधानमन्त्रीमा कार्यकारी प्रधानमन्त्रीको शैली र अभ्यासले अगाडि बढेको देख्दा प्रधानमन्त्रीमा अधिनायक प्रवृत्ति हुर्किनुका साथै तानाशाही बन्न सक्ने देखिन्छ, जुन कार्यकारी प्रमुखको पहिलो दोषको रुपमा लिन सकिन्छ ।
समुन्द्र जस्तो गहिरो र गम्भीर
प्रधानमन्त्री कम बोल्नु र गम्भीर देखिनु यतिबेला सबैमा चर्चा र बहसको विषय भएको छ । यसअघिका प्रधानमन्त्रीहरु अधिक बोल्दथे र सामाजिक सञ्जाल एवम् अखबारहरुमा अन्तर्वार्ता तथा अन्य विचारहरु सम्प्रेषण गरिरहन्थे । अहिले त्यस्तो पटक्कै देखिएको छैन । गम्भीर र कम बोल्ने मानिसलाई बुझ्न वा चिन्ह सजिलो छैन । त्यस्ता मानिसहरुको भित्र के छ जान्न गाह्रो हुन्छ, समुन्द्र जस्तो गहिरो र गम्भीर मानिसहरुले एक प्रकारको भय पैदा गर्छन्, जस्तो समुन्द्रले ।
रास्वपामा हैन अन्य राजनीतिक दलमा पनि प्रधानमन्रीको मौनता गम्भीर स्वभावले त्रसित छन् जस्तो देखिन्छ । भारतीय हो कि अमेरिकन पाकिस्तानी हो कि अन्य विदेशी जब उनीहरु बोल्छ तब उनिहरुको पहिचान खुल्छ । अहिले प्रधानमन्त्रीको मौनताले यसै भन्न सकिने स्थिति छैन ।
प्रधानमन्त्री बालेनको लेन के हो ?
प्रधानमन्त्री बालेन शाहले अबको लेनको विषयमा केही संकेत गरेका छन् ! प्रधानमन्त्री भएपछि १०० कार्यसुचीको बटमलाइन प्रतुत गरेका छन् । जेनजी आन्दोलनको माग बमोजिम सरकार हाक्ने विसयमा उ निश्चिन्त छन् जस्तो छन् ।
प्रधानमन्त्री बालेन शाहले अन्य राजनीतिक दलहरुको समेत मन र भावना जित्न सक्नुपर्छ । यसो गर्न उनले निर्वाचनताका अन्य दलहरुले प्रतिवद्धता गरेका घोषणापत्रका राम्रा र राष्ट्र हितका सुशासन र विकासमा गरेका प्रतिवद्धतासमेत ग्रहण गरेर अगाडि बढ्नु उनको लागि हितकर छ ।
प्रधानमन्त्री बालेन शाहले जेनजी आन्दोलनमा शहीद भएकहरुलाई बिर्सनु हुँदैन । उनिहरुको माग र भावनालाई आत्मसात गर्नुपर्छ । प्रधानमन्त्री बालेन शाहले अबको ‘लेन’ स्पष्ट गर्नुपर्छ । र, साथै आन्दोलनकै जगमा बसेर बनेको सरकारले जेनजीको माग र भावनालाई कार्यसम्पादन गरे परिणामुखी नतिजा दिनसके मात्र उनीहरुप्रति श्रद्धाञ्जली हुनेछ ।
प्रतिक्रिया