भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह

भारतीय दूतावासद्वारा आफ्ना नागरिकलाई इरानको यात्रा नगर्न आग्रह


इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावको बीचमा भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सुचना जारी गरेको छ ।

सामाजिक सञ्जाल एक्समा दूतावासले भारतीयहरूले कुनै पनि अवस्थामा इरानको यात्रा नगर्न आग्रह गर्दै इरानमा रहेका नागरिकहरूलाई आवाश्यक समन्वय गरेर स्वदेश फर्कन सल्लाह दिएको छ ।

पछिल्लो समयमा भारत र इरानबिच केही उडानहरू सुरु भएको रिपोर्टहरूलाई ध्यानमा राख्दै, भारतीय नागरिकहरूलाई अवस्था सहज नभएसम्म इरान यात्रा नगर्न सल्लाह दिइएको जनाएको छ । क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र परिचालन अनिश्चितताले इरानका लागि अन्तर्राष्ट्रिय उडानमा असर गरिरहेको दूतावासले जनाइएको छ ।

दूतावासले यस अघि अप्रिल-८ मा यस्तै सुझाव जारी गरी भारतीय नागरिकहरूलाई तुरुन्त इरान छोड्न आग्रह गरेको थियो । दूतावासले यात्रा गर्नु अघि दूतावाससँग आवाश्यक समन्वय गर्नुपर्ने पनि बताएको छ ।

यसअघिको सुझावको निरन्तरता र हालैको घटनाक्रमको आधारमा इरानमा रहेका भारतीय नागरिकहरूलाई दूतावाससँगको समन्वयमा र दूतावासले सुझाएका मार्गहरू प्रयोग गरेर इरानबाट छिटो बाहिरिन आग्रह गरेको जनाइएको छ ।

मध्यपूर्वमा हालैका घटनाक्रमका बारेमा अन्तर-मन्त्रीस्तरीय कार्यक्रममा बोल्दै विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर महाजनले फेब्रुअरी २८ देखि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत आएको बताएका छन् ।