- सुरेश सुवेदी, काठमाडौं
मुलुकको जेठो विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा नियन्त्रण कार्यालय (पिएनका) बल्खु यतिबेला कार्यशैलीले भने विद्यार्थी भने आजित भएका छन् । पनिका भने आफ्नै नियम र प्रणालीको धज्जी उडाउने थलो बनेको छ । नियमतः कुनै पनि तहको अध्ययन पूरा गर्न तोकिएका सबै विषयमा उत्तीर्ण हुनु अनिवार्य हुन्छ । तर, बल्खुको ‘जादुमयी’ ढड्डामा भने फेल भएका परीक्षार्थीले पनि शानका साथ शैक्षिक ट्रान्सक्रिप्ट हात पारिरहेका छन् ।
घटनाको नालीबेली
हालै (चैत्र २२ गते सोमबार) वितरण गरिएको स्नातक तह (LL.B.)को एउटा ट्रान्सक्रिप्टले त्रिविको चरम लापरवाहीलाई छताछुल्ल पारेको छ । उक्त ट्रान्सक्रिप्टमा परीक्षार्थीले केही विषयमा तोकिएको न्यूनतम उत्तीर्णाङ्क (Pass Marks) समेत ल्याउन सकेका छैनन् । तर, अचम्मको कुरा त के छ भने, ट्रान्सक्रिप्टको अन्त्यमा ती परीक्षार्थीलाई ‘सेकेन्ड डिभिजन’मा उत्तीर्ण भएको आधिकारिक छाप र हस्ताक्षरसहित प्रमाणपत्र सुम्पिएको छ ।
त्रिविको आफ्नै सफ्टवेयर र जाँचकीको आँखा छलेर यसरी फेल भएका विद्यार्थीको हातमा ट्रान्सक्रिप्ट पुग्नुले ठूलो आर्थिक चलखेल वा गम्भीर प्राविधिक त्रुटिको हुने सम्भावना देखाउछ । कतै यस्ता काम नियतवश त हुँदै छैन भन्ने शंका उत्पन्न भएको छ ।
फोटोमा देखिएको ट्राष्क्रिप्ट अन्तर्गत दोश्रो वर्षको सम्पत्ति कानून property Law विषयमा सामान्य उत्तीर्ण अंक पनि ल्याएको देखिँदैन ।
जिम्मेवार मौन, कर्मचारीको रुखो जवाफ
यस विषयमा आधिकारिक धारणा बुझ्न खोज्दा पदाधिकारीहरू आफ्नो कार्यकक्षमा भेटिएनन् । कार्यकक्षमा नभेटिएपछि फोन सम्पर्क गर्दासमेत उनीहरूसँग सम्पर्क सम्भव भएन ।
यद्यपि, प्रशासकीय अधिकृत भोला सिग्देलसँग कार्यकक्षमै जम्काभेट हुँदा उनले दिएको जवाफ झनै गैरजिम्मेवार थियो । उजुरी वा जिज्ञासा सुन्नुको साटो उल्टै परीक्षार्थीलाई प्रतिप्रश्न गर्दै उनले भने- ‘किन लिएको त त्यस्तो (त्रुटिपूर्ण ट्रान्सक्रिप्ट) ?’
यो जवाफले त्रिवि प्रशासन आफ्नो कमजोरी सुधार्नुको सट्टा सेवाग्राहीलाई नै दोषी देखाएर पन्छिन खोजेको प्रष्ट हुन्छ ।
को हुन् त जिम्मेवार ?
ट्रान्सक्रिप्टमा देखिएको यो ‘चमत्कार’ बारे सम्बन्धित फाँटका अधिकारीहरू मौन छन् ।
कार्यालयको सूचना पार्टीअनुसार यस क्षेत्रको जिम्मेवारी निम्न पदाधिकारीहरूको काँधमा छ-
डा. सूर्यकान्त कलौनी (विज्ञान तथा अतिगोप्य शाखा)
डा. दावा शेर्पा (शिक्षा तथा कानून गोप्य शाखा)
डा. कविराज पौड्याल (व्यवस्थापन र मानविकी गोप्य शाखा) भनी उल्लेख गरिएको छ ।
कानून संकायको यो गल्तीमा विशेष गरी कुन शाखाका अधिकारीहरूको भूमिकामाथि प्रश्न उठ्न सक्ला ?
निष्कर्ष :
हजारौँ विद्यार्थी सामान्य त्रुटिका कारण वर्षौंसम्म प्रमाणपत्र नपाएर भौतारिरहेका बेला, फेल भएकालाई ‘पास’ बनाउन पनि सकिने रहेछ भन्ने संकेत त जाँदै छैन ? यस्तो कार्यले त्रिविको साखलाई कहाँ पुर्याउला ?
सामान्य प्राविधिक त्रुटिले भएको यस्तो घटनाका पछाडि कुनै गिरोह नै सक्रिय हुन त सक्दैन ?
पास भएकालाई सजिलै फेल देखाउने संयन्त्रले फेललाई पास बनाउन नसक्ला र ? भन्ने गम्भीर प्रश्न उब्जाएको छ ?
विद्यार्थीले हाल उक्त ट्रास्क्रिप्ट सच्याएर लिइसकेका छन् ।
प्रतिक्रिया