महाकाली माविलाई सिटिजन्स बैंकको सहयोग

महाकाली माविलाई सिटिजन्स बैंकको सहयोग


  • विकाश रौनियार, धादिङ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड गजुरी शाखा धादिङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–७ पिपलटारमा रहेको श्री महाकाली माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।

विद्यार्थीहरूको शैक्षिक तथा प्रशासनिक कार्यमा सहजता ल्याउने उद्देश्यले १ थान प्रिन्टर र १ थान स्क्यानर हस्तान्तरण गरिएको हो । विद्यालयमा आयोजित कार्यक्रममा गजुरी शाखाका प्रबन्धक कृष्ण धितालले उक्त सामग्री औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिका समाजका महत्वपूर्ण अंग भएकाले उनीहरूको विकासमा योगदान पुर्‍याउनु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा पनि बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका २ सय शाखा, १ सय ६९ एटीएम तथा ४२ वटा शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।