गोरखादेखि पश्चिम अर्थात् पोखरादेखि गढवालसम्मको करिव ८०० किमीको प्लेटमा भने विगत ५०० वर्ष भन्दा बढि समयदेखि ठूलो भूकम्प गएको छैन । यसर्थ यस क्षेत्रमा भविष्यमा जान सक्ने भूकम्प अझ भयावह हुने अनुमान गरिएको छ ।
✍ सुनिल उलक

वि.सं. २०७२ बैशाख १२ गते दिउँसो ११ः५६ बजे गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टरको भूकम्प गएको थियो । यस भूकम्पपछि पनि कैयौं पराकम्पनहरु समेत गएका थिए । १७ दिनपछि बैशाख २९ गते दिउँसो पुुनः अर्को ७.३ रेक्टरको भूकम्प गएको थियो । यी दुई ठूला भूकम्पका कारण नेपालभरि गरेर ८ हजार ७ सय ८९ जनाको निधन भयो । २२ हजार ३ सय ९ जना गम्भिर घाइते भए । ५ लाख ११ हजार ३ सय ९० घरहरु पूर्णरूपमा क्षति भए भने करिव २ लाख ८६ हजार ७ सय ६७ घरहरु आंशिक रूपमा क्षति भए । यस भूकम्पले नेपालका १७ जिल्लामा प्रभाव पारेको थियो ।
भूकम्पपछि देशमा तथा विदेशबाट समेत राहत सामग्री जम्मा गरि वितरण समेत गरिएको थियो । राहत वितरण गर्दा समेत पार्टीका कार्यकर्तालाई मात्र बाँड्ने एवम् मन्त्री तथा नेताहरुले समेत राहत सामग्री लुकाउने समेत गरेको पाइएको थियो । छाना छाउनका लागि बाँडिने जस्तापाता तथा पालहरु पनि लुकाइएका घटनाले नेपालका राजनीतिकर्मीहरु कतिसम्मका रहेछन् भन्ने त्यतिबेला जनताले बुझेका थिए ।
भूकम्पले सबैभन्दा बढि प्रभाव पारेको सिन्धुपाल्चोक जिल्लामा ३६६० जनाको मृत्यु भएको थियो । काठमाडौंमा १२३६ जनाको मृत्यु भएको थियो भने नुवाकोटमा १११२ जनाले जीवन गुमाएका थिए ।
भूकम्पको उच्च जोखिम रहेको नेपालमा भूकम्प जानुको प्रमुख कारण नै भारतीय प्लेट यूरेशिया प्लेटबीचको घर्षण हो । प्रत्येक वर्ष दुई सेन्टीमिटरका दरले भारतीय प्लेट यूरेशिया प्लेटमा घुस्ने गर्दछ । जसले गर्दा जमिनदेखि १० किमी तल हलचल हुने गर्दछ । यसरी समय-समयमा हुने हलचलले जमिन सतहमा पनि हलचल हुन्छ जसलाई हामी भूकम्प भन्दछौँ ।
७२ को भूकम्प गोरखादेखि पूर्वतर्फ असर गरेको थियो । जुन क्षेत्रमा समय-समयमा भूकम्प भइरहेको पाउँछौं । तर, गोरखादेखि पश्चिम अर्थात् पोखरादेखि गढवालसम्मको करिव ८०० किमीको प्लेटमा भने विगत ५०० वर्ष भन्दा बढि समयदेखि ठूलो भूकम्प गएको छैन । यसर्थ यस क्षेत्रमा भविष्यमा जान सक्ने भूकम्प अझ भयावह हुने अनुमान गरिएको छ । यसले गर्न सक्ने क्षतिको असर निकै ठूलो हुन सक्छ ।
प्रतिक्रिया