- सुरेश सुवेदी, काठमाडौं
वर्षौंको प्रतीक्षा, स्थानीयको अनवरत सङ्घर्ष र सरकारी लगानीबाट बल्लतल्ल बनेको पक्की सडक । नागार्जुन काठमाडौंका स्थानीय बासिन्दाले सोचेका थिए- अब धूलो र हिलोबाट मुक्ति पाइनेछ, यात्रा सहज हुनेछ । तर, नगरपालिकाको भित्री बस्तीहरूमा पछिल्लो समय देखिएको ‘टिपर आतङ्क’ले खुसीभन्दा बढी सन्त्रास फैलाएको छ ।
बस्तीका साँघुरा गल्लीहरूमा राति र दिउँसो गुड्ने गह्रुँगा टिपरका कारण सर्वसाधारणको जनजीवन मात्र प्रभावित भएको छैन, भर्खरै बनेका भौतिक संरचनाहरू समेत भत्किन थालेका छन् ।
१. सडकको आयुमाथि प्रहार र अस्तव्यस्त पूर्वाधार
आर्थिक वर्ष २०८०/८१ मा उपभोक्ताहरूको ठुलो दबाब र सरकारी बजेटबाट पक्की गरिएको सडक अहिले टिपरको भार थाम्न नसकेर जीर्ण बन्दै गएको छ। सडकको भारवहन क्षमता भन्दा कैयौँ गुणा बढी तौल बोकेका टिपर गुड्दा पिच उप्किने र ढलका मङ्गाल (Manhole) का ढकनीहरू फुट्ने क्रम बढेको छ ।
टिपरको उचाइ र चौडाइका कारण सडकमा टाँगिएका टेलिफोन, इन्टरनेट र बिजुलीका तारहरू छिनिने र चुँडिने समस्या दैनिक जसो दोहोरिएको छ । स्थानीयको पसिना र लगानीमा बनेको संरचना टिपरको चक्कामुनि पिसिएको देख्दा उपभोक्ताहरू मर्माहत छन् ।
२. टोल अध्यक्षको पीडा : ‘सचेतनाले काम गरेन’

बस्तीभित्रको यो समस्या समाधानका लागि स्थानीय स्तरमा पहल नभएको भने होइन, तर व्यवसायी र चालकहरूको अटेरीपन कायमै छ । नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित ओमकारेश्वर टोल विकास समितिका अध्यक्ष मोहनराज धिताल पीडा पोख्दै भन्नुहुन्छ, ‘सचेतना जगाउँदा पनि बलमिच्याइँ हटेको छैन । अब त रातभरि टिपरको आवाजले साना केटाकेटीदेखि ज्येष्ठ नागरिकसम्म सबैको निद्रा हराउन थालेको छ ।’ अध्यक्ष धितालका अनुसार, रातको शान्त वातावरणमा टिपरको कर्कश आवाजले मुटु रोगी, वृद्धवृद्धा र श्रमजीवी वर्गको स्वास्थ्यमा समेत गम्भीर असर पुर्याउन थालेको छ।
३. सुरक्षाको जोखिम र बालबालिकाको त्रास
बस्तीका सडकहरू यति साँघुरा छन् कि जहाँ टिपर गुड्दा पैदल यात्रीलाई हिँड्ने ठाउँ समेत पुग्दैन । टिपर रोकिँदै चल्दा (Stop and Go) चालकले नजिकै रहेका साना बालबालिकालाई देख्न नसक्ने प्राविधिक जोखिम उत्तिकै छ । जुनसुकै बेला अप्रिय दुर्घटना हुन सक्ने डरले अभिभावकहरू आफ्ना छोराछोरीलाई घरबाहिर निकाल्न समेत डराउनुपर्ने अवस्था छ ।
४. घर-घरमा असुरक्षाको महसुस
साँघुरा सडकमा टिपरहरू लामो समयसम्म रोकिँदा छेउछाउका घर, कम्पाउन्ड र वार्डली (Balcony) सम्म बाहिरी व्यक्तिको सहज पहुँच पुग्ने देखिन्छ । यसले गर्दा घरभित्रको गोपनीयता मात्र होइन, सुरक्षाको दृष्टिकोणले पनि गम्भीर खतरा निम्त्याएको स्थानीयको ठहर छ । टिपरको कम्पनले गर्दा कमजोर संरचना भएका पुराना घरहरू थर्किएर चर्कने जोखिम समेत बढेको छ ।
विकासका लागि निर्माण सामग्री ढुवानी आवश्यक छ, तर बस्तीको संवेदनशीलता र भौतिक संरचनाको रक्षा गर्नु राज्य र व्यवसायी दुवैको दायित्व हो । सडकको क्षमता नहेरी र स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी भइरहेको यो टिपर प्रवेशलाई बेलैमा नियमन नगर्ने हो भने, भर्खरै बनेको पक्की सडक पुनः खाल्डाखुल्डीमा परिणत हुन बेर लाग्ने छैन । धितालको अनुरोध छ ‘समुदाय शान्त र समुन्नत बनाऊँ’ ।
प्रतिक्रिया