रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले जनाएको छ । प्योङयाङले युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकका साथै क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ । त्यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूले बताएका छन् ।
दुई देशले सन् २०२४ मा एक सैन्य सन्धिमा हस्ताक्षर गरेका थिए, जसमा दुवै देशले एक अर्कामाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ बिना’ सैन्य सहायता प्रदान गर्न बाध्य पार्ने सहमति भएको थियो ।
रूसी रक्षामन्त्री आन्द्रे बेलौसोभले भनेका छन्, ‘हामी उत्तर कोरियाको रक्षा मन्त्रालयसँग हाम्रो सैन्य सहकार्यलाई निरन्तर र दीर्घकालीन रूपमा राख्न सहमत भएका छौं । हामी सन् २०२७ देखि सन् २०३१ को अवधिका लागि रुसी-कोरियाली सैन्य सहयोगका लागि यो वर्ष एउटा योजनामा हस्ताक्षर गर्न तयार छौँ ।
युक्रेनविरुद्ध मस्कोको युद्धमा सहयोग गर्ने क्रममा मारिएकाहरूको सम्मानमा एक स्मारक कम्प्लेक्सको उद्घाटन समारोहमा रुसी अधिकारीहरू प्योङयाङमा भेला भएका छन् ।
बेलौसोभले आइतबार उत्तर कोरियाली नेता किम जोङ उन र रक्षामन्त्री नो क्वाङ चोलसँग भेट गरेका थिए भने रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले पनि उत्तर कोरियाली नेता किमलाई भेटेर कुस्र्कको युद्धमा उत्तर कोरियाली सेनाको भूमिकाका लागि धन्यवाद दिएका थिए ।
प्योङयाङले रूसको पश्चिमी कुस्र्क क्षेत्रमा किएभका सेनाको महिनौँ लामो प्रत्याक्रमण रोक्न सेना तैनाथ गरेको छ । बेलौसोभले कुस्र्क अपरेशनमा भाग लिएका उत्तर कोरियाली सैनिकलाई सैन्य पुरस्कार प्रदान गरेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
‘कोरियाली सैनिकहरूले हाम्रा सैनिक र अधिकारीहरूसँग काँधमा काँध मिलाएर लडे र रूसी भूमिलाई युक्रेनी नाजीहरूबाट मुक्त गरे’, भोलोडिनले भनेका छन् ।
सोलले जनाएअनुसार युक्रेनसँगको युद्धमा करिब दुईहजार उत्तर कोरियाली मारिएका छन् भने उत्तर कोरियाली सैनिकलाई ‘युद्धमा पक्राउ पर्नुको साटो आत्महत्या गर्न’ निर्देशन दिइएको छ ।
केवल दुई उत्तर कोरियाली सैनिकहरू जिउँदै पक्राउ परेका छन् र हाल युक्रेनी अधिकारीहरूको हिरासतमा छन् ।
प्रतिक्रिया