‘इनास’को ११औँ युरोप क्षेत्रिय कार्यक्रम बेल्जियमको ब्रुजमा सम्पन्न

‘इनास’को ११औँ युरोप क्षेत्रिय कार्यक्रम बेल्जियमको ब्रुजमा सम्पन्न


  • विशेष प्रतिनिधि, ब्रुज (बेल्जियम)

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) युरोप र इनास बेल्जियमको संयुक्त आयोजनामा ११औँ युरोपस्तरीय एकल नृत्य तथा एकल गायन प्रतियोगिता तथा क्षेत्रिय बैठक बेल्जियमको पर्यटकीय शहर ब्रुजमा भव्य रूपमा सम्पन्न भएको छ । अप्रिल २४ र २५ सम्म चलेको दुई दिवसीय कार्यक्रममा युरोपका ९ देशका कलाकार तथा प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतियोगितामा फ्रान्सका कलाकारहरूले दोहोरो सफलता हात पारेका छन् । गायन विधामा फ्रान्सका कुमार रनपहेली र नृत्यतर्फ फ्रान्सकै दीपा तामाङले ‘टाइटल’उपाधि जित्न सफल भए ।

गायनतर्फ कुमार रनपहेली (फ्रान्स) प्रथम, आशिष नेपाली (जर्मनी) द्वितीय, रन्जिव नेपाली (पोल्याण्ड) तृतीय र सुजन तामाङ (अष्ट्रिया)ले सान्त्वना स्थान हासिल गरे । यस्तै, नृत्यतर्फ दीपा तामाङ (फ्रान्स) प्रथम, प्रिन्सी खनाल (बेल्जियम) द्वितीय, दृष्या शर्मा (बेल्जियम) तृतीय र त्रिस्ताचन कार्की ढोली (जर्मनी)लाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

विजेताहरूलाई क्रमशः ८००, ५०० र ३०० युरो नगदसहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

सांस्कृतिक एकता :

कार्यक्रमको उद्घाटन इनासका ग्लोबल अध्यक्ष अर्जुन काफ्ले, संयोजकद्वय श्याम श्रेष्ठ र सुनिल गुरुङ एवम् संस्थापक अध्यक्ष पुष्पकुमार बरुवालले संयुक्त रूपमा दियो बालेर गरेका थिए । दोस्रो दिनको समापन सत्र बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न भयो । राजदूत लम्सालले नेपाली कला र संस्कृति राष्ट्रको गौरवमय पहिचान भएको बताउँदै प्रवासमा हुर्किरहेको दोस्रो पुस्तालाई नेपालसँग जोड्न इनासले खेलेको भूमिकाको प्रशंसा गरिन् । कार्यक्रममा लाखे नृत्य र विभिन्न जातजाति झल्काउने ‘पोशाक शो’ आकर्षणको केन्द्र बनेका थिए ।

यस वर्षको ‘उत्कृष्ट राष्ट्रिय समिति युरोप’को उपाधि डेन्मार्कले प्राप्त गरेको छ । कार्यक्रमको अन्त्यमा इनासको परम्परा अनुसार आगामी १२औँ युरोप क्षेत्रीय सम्मेलन आयोजना गर्ने जिम्मेवारी इनास युकेलाई हस्तान्तरण गरिएको छ ।