रोकिराखिएको ट्रकसँग स्कुटर ठोक्किँदा महिलाको मृत्यु

रोकिराखिएको ट्रकसँग स्कुटर ठोक्किँदा महिलाको मृत्यु


नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका-८ कालीगण्डकी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज (१९ वैशाख) बिहान फलफूल चोकबाट डण्डातर्फ जाँदै गरेको ग प्र ०४–००२ प २६२५ नम्बरको स्कुटर सडक किनारमा रोकिराखिएको प्र नं २–०४–००१ ख ००८२ नम्बरको ट्रकको पछाडिको भागमा ठोक्किँदा हुप्सेकोट गाउँपालिका-२ बस्ने निशा कुमालको मृत्यु भएको हो ।

दुर्घटनामा स्कुटरपछाडि सवार निशा कुमाल गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि चितवन पठाइएकोमा उपचारकै क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा स्कुटरचालक कावासोती नगरपालिका–८ बस्ने ३७ वर्षीय शङ्कर श्रेष्ठ घाइते भएका छन् । उनको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।