यसै पनि सिद्धान्त, विचार र आदर्श मरेको राजनीतिक पार्टी, ‘राजनीतिक पार्टी’का रुपमा रहन्न । केवल मानिसहरूको भीड र जमात मात्र रहन्छ, जो कमजोर हुँदै बिलाएर जानेछ । अहिलेको कांग्रेसको गति र मति हेर्दा कमजोर मात्र होइन; अन्ततः समाप्त भएर जानेछ । उसलाई कसैले मार्नु पर्दैन, खुदै उसैले आफूलाई मार्नेछ ।
✍ राजेश ढुंगाना
नेपाली कांग्रेस विगत अर्थात् २०४७ सालको जनआन्दोलन लगत्तैजसो भएको आम निर्वाचनपश्चात् नै दुई धार वा बहुधारमा हिंड्न थालेको हो । त्यसो त २०१७ सालपछि नै र जन्मैदेखि दुई धारमा चलेको हो । तर, त्यतिबेला धारहरू सैद्धान्तिक एवम् वैचारिक थिए । तर, २०५० साल यताका धारहरू कुनै विचार र सिद्धान्तका लागि भएका छैनन्, होइनन् । केवल नितान्त निजी स्वार्थ, सत्ताप्राप्ति एवम् त्यसबाट प्राप्त हुने अवैध आर्जनका लागि मात्र थिए ।
अपवाद बाहेक सत्तामा बस्नु नपरेको कांग्रेस यतिबेला लामो समयपछि सत्ता बाहिर रहनु परेकोले पानी बिनाको माछा झैं छट्पटाई रहेछ । सत्ता/शासन सेवाका लागि हो भन्ने बिर्सेर मेवा खाने साधनमा मात्र सत्ता प्राप्तिलाई कांग्रेसले लिंदै आयो । यो ३० वर्ष कांग्रेसले राजनीति सेवाका लागि नभएर शासनका लागि सम्झियो । त्यो पनि अनियमित आयआर्जन र राष्ट्रदोहन गर्न ।
यसबेलाको दयनीय स्थिति एकैचोटि, एकै महिना, एकै वर्षमा आएको होइन । यसका लागि तीन दशक लागेको छ । यसबाट मुक्ति पाउन पनि कांग्रेसलाई तीन दशक नै लाग्नेछ । तर, सत्य हो – कांग्रेस अझै पनि सुध्रिनेवाला छैन । नसुध्रिएपछि सप्रिने बाटोतर्फ लाग्ने कुरै भएन ।
यस्तो प्रतिकूल अवस्थामा पनि कांग्रेस गुट, उपगुट र स्वार्थमै केन्द्रित छ । यसको ताजा उदाहरण हो- संसदीय दलको नेता छनोट । जम्माजम्मी ३ दर्जन जति मात्र सांसद भएको संसदीय दलमा आफ्नो नेता चुन्न लामो ऊहापोह भोग्नुपऱ्यो कांग्रेसले । तर, त्यसमा पनि कुनै तर्कमा आधारित मतभेद थिएन । शासनसत्ताकै केन्द्रमा सो मतभेद थियो । अझ स्पष्ट भन्ने हो भने, नयाँ संस्थापन वा शेरबहादुर पक्ष कसले यो पद लिने भन्ने त्यो विवाद थियो । अन्ततः शेरबहादुर पक्षले यो पद प्राप्त गऱ्यो । त्यसको प्रतिउत्तरमा गगन थापापक्षीय संस्थापनले हुँदाखाँदाको कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभाको दलको नेता पद खाइदियो । सिटौला ठीक थिए कि थिएनन्, त्यो बेग्लै चर्चाको विषय हो । तर, हटाइनुमा कुन तर्क छ – उनी देउवा पक्षको हुनुबाहेक ?
नयाँ संस्थापन वा शेरबहादुर पक्ष कसले संसदीय दलको नेता पद लिने भन्ने विवाद थियो । अन्ततः शेरबहादुर पक्षले यो पद प्राप्त गऱ्यो । त्यसको प्रतिउत्तरमा गगन थापापक्षीय संस्थापनले हुँदाखाँदाको कृष्णप्रसाद सिटौलाको राष्ट्रियसभाको दलको नेता पद खाइदियो ।
उता, पूर्णबहादुर खड्काको नाम र आवरणमा देउवा पक्षले राष्ट्रिय भेला बोलाएर आफ्नो शक्ति आर्जन गरेको छ । केही समय रोकिएपछि यो शक्ति अब क्रमशः भित्तामा बजारिएको टाउको उठाउँदै छ; त्यो पनि गतिलैसँग ।
त्यसैगरी, कांग्रेसमा अर्को गुट पनि हैसियत अनुसार सशक्त रुपमै छ- शेखर कोइराला गुट । ऊ पनि निरन्तर भेला गराइरहेको छ । अर्थात्, यतिबेला कांग्रेसमा दुई मात्र होइन, तीन गुट छन् । ओहो… एउटा थिल्थिलो भएको कांग्रेसमा पनि तीन गुट ?!! वर्तमान प्रतिकूल परिस्थितिमा त एकताबद्ध हुनु पर्ने होइन ? ‘२’ का ठाउँमा ‘१’ हुनु पर्नेमा ‘३’ गुट ! शायद अब चौथो पनि जन्मेला । कालले कुत्कुत्याएपछि हुने नै यस्तै हो । अझ रमाइलो पक्ष त के भने, यी गुटहरू केन्द्रमा मात्रै छैनन्; वडा र टोल समितिसम्म स्पष्ट रूपमा छन् ।
कुनै सैद्धान्तिक र वैचारिक फरक छैन, होइन । केवल निहीत स्वार्थको बाझाबाझ मात्र हो । नत्र एउटा कांग्रेसमा तीन वटा कांग्रेस किन भयो ? कांग्रेसलाई यो लज्जास्पद परिस्थितिमा पुऱ्याउन कुनै एउटा पक्ष मात्र जिम्मेवार छैन । कमबेशी तीनवटै पक्ष उत्तिकै दोषभागी छन् ।
यसै पनि सिद्धान्त, विचार र आदर्श मरेको राजनीतिक पार्टी, ‘राजनीतिक पार्टी’का रुपमा रहन्न । केवल मानिसहरूको भीड र जमात मात्र रहन्छ, जो कमजोर हुँदै बिलाएर जानेछ । छिमेकको इण्डियामा मात्र होइन, विश्वमै यस्ता कैयौं उदाहरणहरू छन् । त्यसैले अहिलेको कांग्रेसको गति र मति हेर्दा कमजोर मात्र होइन; अन्ततः समाप्त भएर जानेछ । उसलाई कसैले मार्नु पर्दैन, खुदै उसैले आफूलाई मार्नेछ ।
प्रतिक्रिया