जब समाचारको मूल्य लगानीकर्ताको मुनाफाको तराजुमा जोख्न थालिन्छ, तब सत्य ओझेलमा पर्छ र सम्पादकीय स्वतन्त्रताको दोहन सुरु हुन्छ । बैंक, हाइड्रोपावर र उद्योग चलाउने हातहरूले जब मिडिया हाउस पनि चलाउन थाल्छन्, तब पत्रकारको कलमले जनपक्षीय मुद्दाहरूमा भन्दा मालिकका ‘व्यापारिक कवच’ निर्माणमा बढी समय खर्चिनुपर्ने बाध्यता आउँछ ।
✍ डिल्ली अम्माई

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) केवल पात्रोको एउटा पाना मात्र होइन, यो त मानव चेतनाको मुक्तिको घोषणापत्र हो । सन् १९९३ मा संयुक्त राष्ट्र संघले यसको औपचारिक शङ्खघोष गरेदेखि नै प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायुका रूपमा हेरिएको छ । तर, सन् १९८० को मेकब्रिड आयोगले परिकल्पना गरेको ‘धेरै आवाज, एउटै विश्व’ को सपना आज पनि शक्ति राष्ट्रहरूको सूचना साम्राज्य र आर्थिक औपनिवेशिकताको घेराभित्र सङ्घर्षरत छ । सूचनाको सन्तुलित प्रवाह र राष्ट्रिय मौलिक पहिचानको रक्षा नै विकासशील देशका पत्रकारहरूको वास्तविक मार्गचित्र हुनुपर्नेमा वैश्विक संरचनाले अझै पनि एउटा विशिष्ट ‘अधिरचना’ भित्र रहेर उदार पूँजीवादको पक्षपोषण गरिरहेको भान हुन्छ ।
आजको विश्व प्रेस कुनै बेलाको जस्तो केवल घटनाको विवरण दिने ‘सुचनाको साधन’मा मात्र सीमित छैन, यो त समाज रूपान्तरणको एउटा गहन महाप्रस्थान बनिरहेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने, चौध हजारभन्दा बढी पत्रकार र हजारौँको संख्यामा रहेका अनलाइन, रेडियो र टेलिभिजनहरू लोकतन्त्रको सुन्दर फूलबारी झैँ देखिन्छन् । तर, यो संख्यात्मक बाहुल्यताभित्र लुकेको गुणात्मक संकट र सम्पादकीय स्वतन्त्रतामाथिको प्रहारले हामीलाई एउटा गम्भीर प्रश्नमा उभ्याएको छ । जब मिडियाको लगाम कर्पोरेट लगानीकर्ताको व्यापारिक स्वार्थसँग बाँधिन्छ, तब पत्रकारिताको ‘वाचडग’ भूमिका बिस्तारै ‘ल्यापडग’ मा रूपान्तरण हुने जोखिम बढ्छ ।
प्रेसमा कर्पोरेट कब्जाको सबैभन्दा डरलाग्दो पक्ष भनेकै ‘स्वार्थको द्वन्द्व’ (Conflict of Interest) हो । जब समाचारको मूल्य लगानीकर्ताको मुनाफाको तराजुमा जोख्न थालिन्छ, तब सत्य ओझेलमा पर्छ र सम्पादकीय स्वतन्त्रताको दोहन सुरु हुन्छ । बैंक, हाइड्रोपावर र उद्योग चलाउने हातहरूले जब मिडिया हाउस पनि चलाउन थाल्छन्, तब पत्रकारको कलमले जनपक्षीय मुद्दाहरूमा भन्दा मालिकका ‘व्यापारिक कवच’ निर्माणमा बढी समय खर्चिनुपर्ने बाध्यता आउँछ । यसले सूचनाको निष्पक्षतालाई मात्र मार्दैन, बरु समाजलाई भ्रमको एउटा यस्तो चक्रव्यूहमा फसाउँछ जहाँ विज्ञापन र समाचारबीचको भिन्नता हराउँदै जान्छ ।
सन् २०२३ को अधिकारको भविष्यदेखि २०२६ को ‘शान्तिको भविष्यलाई आकार दिने’ नारासम्म आइपुग्दा प्रेसले नयाँ चुनौतीहरू सामना गरिरहेको छ । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्सको उदय र डिजिटल निगरानीले पत्रकारको गोपनीयता र सुरक्षामाथि नयाँ पर्खालहरू उभ्याएका छन् ।
यति धेरै संख्यामा मिडिया हुँदाहुँदै पनि श्रमजीवी पत्रकारको आफ्नै लगानीमा सञ्चार माध्यम चल्न नसक्नु एउटा दुःखद यथार्थ हो । सीमित विज्ञापन बजार र ठूला घरानाहरूको सिन्डिकेटका कारण एउटा निष्ठावान पत्रकारले व्यावसायिक र आर्थिक स्वायत्तता प्राप्त गर्न सकेको छैन । पत्रकारितामा पत्रकारकै लगानी नहुनुको अर्थ हो- विचारको बजारमा विचार नभई लगानी हाबी हुनु । जबसम्म पत्रकार आर्थिक रूपमा सबल र लगानीकर्ताको दबाबबाट मुक्त हुँदैनन्, तबसम्म प्रेस स्वतन्त्रता केवल एउटा वार्षिक नारामा मात्र सीमित रहन्छ ।
सन् २०२३ को अधिकारको भविष्यदेखि २०२६ को ‘शान्तिको भविष्यलाई आकार दिने’ नारासम्म आइपुग्दा प्रेसले नयाँ चुनौतीहरू सामना गरिरहेको छ । विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI) को उदय र डिजिटल निगरानीले पत्रकारको गोपनीयता र सुरक्षामाथि नयाँ पर्खालहरू उभ्याएका छन् । तथापि, यही प्रविधिभित्रै रहेर वैकल्पिक मिडिया र जनपक्षीय पत्रकारिताको नयाँ लहर पनि सुरु भएको छ । साम्राज्यवादी सूचना उत्तेजनालाई अस्वीकार गर्दै भुइँमान्छेको आवाजलाई मुखरित गर्ने र सत्तालाई निरन्तर प्रश्न गर्ने साहस नै आजको प्रेसको वास्तविक सफलता हो ।
अन्ततः, प्रेस स्वतन्त्रता दिवसको सार्थकता तब मात्र रहन्छ जब यसले समाजका अन्तिम लहरमा रहेका मानिसहरूको पीडालाई न्यायको स्वर दिन सक्छ । यो केवल राज्यको चौथो अङ्ग मात्र होइन, बरु नागरिकको भरोसाको अन्तिम किल्ला पनि हो । त्यसैले, मे ३ को यो अवसरमा हामीले कर्पोरेट पर्खालहरू भत्काउँदै र साम्राज्यवादी सूचनाको भाष्यलाई चिर्दै एउटा यस्तो प्रेसको कल्पना गर्नुपर्छ, जहाँ कलम कुनै स्वार्थको क्रुसमा झुण्डिनु नपरोस् । स्वतन्त्रताको यो सङ्घर्षमा पत्रकारको निष्ठा र जनताको समर्थन नै समाज रूपान्तरणको असली इन्धन बन्नेछ ।
प्रतिक्रिया