‘अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ जना सदस्य इरानलाई हस्तान्तरण’

‘अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ जना सदस्य इरानलाई हस्तान्तरण’


संयुक्त राज्य अमेरिकाले कब्जा गरेको इरानी जहाज तौस्काका १५ जना चालक दलका सदस्यलाई पाकिस्तानले इरानी अधिकारीहरूलाई हस्तान्तरण गरेको अधिकारीहरूलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त स्थित इरानको सिमानामा रहेको तटीय जिल्ला ग्वादरको गब्द–रिमदान सीमा नाकाबाट उनीहरुलाई हस्तान्त्रण गरिएको ग्वादरका उपायुक्त नकीबुल्लाह काकरले पुष्टि गरेका छन् ।

पाकिस्तानको मध्यस्थतामा दुई पक्षबीच आवश्यक समन्वय र छलफल पछि चालक दलका सदस्यहरूलाई औपचारिक रूपमा इरानी अधिकारीहरूलाई हस्तान्तरण गरिएको काकरलाई उदृत गर्दै सिन्हुवाले जनाएको छ ।

हस्तान्तरण गरिएका १५ जना चालक दलका सदस्यहरू संयुक्त राज्य अमेरिकाले कब्जा गरेको कन्टेनर जहाजमा रहेका २२ जना इरानी नागरिकहरू मध्यका व्यक्तिहरु भएको जनाइएको छ । जसलाई गत महिना अमेरिकाले कब्जामा लिएर पछि पाकिस्तान लगिएको थियो ।

बाँकी चालक दलका सदस्यहरूलाई अर्को चरणमा फिर्ता गर्ने अपेक्षा गरिएको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको जनाइएको छ ।

यसअघि पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको विश्वास निर्माण गर्ने उपायको रूपमा चालक दलका सदस्यहरूको स्थानान्तरणलाई सहज बनाएको जनाएको थियो । जस अनुरुप उनीहरूलाई इरानमा फिर्ता गर्नका लागि रातारात पाकिस्तान लगिएको जनाइएको छ ।