गोक्यो यात्रा : दृष्यदेखि कर्तब्यसम्म

गोक्यो यात्रा : दृष्यदेखि कर्तब्यसम्म


जीवनमा कति हिँडियो भन्दा पनि कहाँ पुग्ने बाटो हिँडियो भन्ने कुराले अर्थ राख्छ । जिन्दगीमा हिँड्दै जाँदा यात्रा त धेरै गरियो, उद्देश्यसहित गन्तब्यमा पुग्नुको सुखद अनुभूति भने यसपटक गोक्यो पुग्दा भयो । हाम्रो देश विश्वमै ट्रेकिङका लागि प्रसिद्ध छ । आकाशको लामो दूरी तय गरेर विभिन्न देशमा मानिसहरू हाम्रा हिमालय, हिमताल र डाँडाहरू हेर्न आउने गर्छन । हामीलाई भने त्यस्ता कुराको खासै वास्ता हुँदैन । सन् २०२६ को पृथ्वी दिवसलाई लक्षित गरेर ‘साथसाथै’ संस्थाले गोक्यो लेकलाई गन्तब्य बनाएपछि उक्त ठाउँका बारेमा जानकारी लिएँ । साथसाथैकी अध्यक्ष प्रजिता कार्की र उनको टीमले अप्रिल २२ मा पर्ने पृथ्वी दिवसलाई लक्षित गरेर प्रायः हिमालनिकटका भ्रमणहरू तय गरिरहेको हुन्छ । यसपटक ‘गोक्यो’ जाने भनेपछि आफूवरिपरिका धेरैले चाहिँ ‘टोक्यो’ नै बुझे । गोक्यो ट्रेकिङ जान लागेको छु भन्दा प्रायःको भनाइ रह्यो, ‘आहा…ट्रेकिङ पनि टोक्यो, कस्तो मज्जा ।’ आफ्नै देशमा भएको सुन्दर स्थान गोक्योका बारेमा आफूजस्तै धेरै मानिसहरू अनभिज्ञ रहेछन् भन्ने थाहा भयो, जुन खासै खुशीको कुरा भने थिएन ।

तीन जना चाइनिज, दुई जना अष्ट्रेलियन, एक जना इन्डियन र २५ जना नेपाली गरेर ३१ जना टोलीको यात्रा तय भएको थियो । १० दिनको उक्त भ्रमणका लागि २०८३ साल बैशाख ३ गते यात्राको सुरुवात भएपनि कार्यब्यस्तताले एक दिनपछि काठमाडौं छोड्दा साथीहरू काठमाडौंबाट रामेछाप, रामेछापबाट प्लेनमा लुक्ला हुँदै फाक्दिङ पुगिसकेका थिए । काठमाडौंबाट लुक्ला पुगेर हिँड्दा साथीहरू भेट्न गाह्रो हुने भएकाले लुक्लाबाट नाम्चेसम्म हेलिकोप्टरमा जाने योजना बनाएकी थिएँ । भाग्य नै भनौँ, लुक्ला पुगेको केहीबेरमै नाम्चे जाने हेलिकोप्टर पाएँ – ३५ सय भाडामा । सामान लिन या कसैलाई लिनका लागि जाँदै गरेका हेलिकोप्टर भेटियो भने ३५ सयमा नाम्चे पुऱ्याइदिने रहेछन् । ट्रेकिङका लागि अनुभव नयाँ थियो । आफ्नो तयारी खासै गतिलो छैन भन्ने कुरा काठमाडौं एयरपोर्टमै लागिसकेको थियो । लुक्ला जाने बिहानका फ्लाइटहरू प्रायः ट्रेकिङ जानेले नै भरिने रहेछन् । प्रायः सबैका ब्याग वाटरप्रुफ थिए, अलि ठुला पनि । आफ्नो भने अरु बेला जिल्ला जाँदा बोक्ने गरेको पुरानो र सामानले भरिएर चेन लाउनै सकस झैँ भएको । बाटोमा चेन बिग्रियो भने ? – आफैलाई प्रश्न गरेँ । धन्न यात्राभरी पानी परेन र चेनले पनि साथ दियो । ब्यागप्याक भने राम्रै थियो । सामान राख्ने झोलालाई लिएर अर्कोपल्टलाई सिकाइ भने भयो । अनुहारमा लाउने सन-स्क्रिन क्रिमदेखि स-साना झैँ लाग्ने तर अत्यन्त आवश्यक धेरै कुरामा ध्यान दिनुपर्ने रहेछ ।

नाम्चे पुग्दा अर्कै संसारमा पुगेझैँ भयो । अलि-अलि हाइ अल्टिच्युड लुक्लामै महसूस भएको थियो । नाम्चे र लुक्लामा उस्तै–उस्तै लाग्यो । सफा नाम्चे बजारको वरिपरिको दृष्य हेरेर ‘ओहो… हाम्रो देश यस्तो छ, तर हामी घुम्नका लागि अरु नै देश गइरहेका हुन्छौँ’ जस्तो पनि लाग्यो । फाक्दिङ हुँदै दुई दिन हिँडेर साथीहरू थाकेर नाम्चे पुग्दा आफ्नो भने ट्रेकिङ सुरु भएकै थिएन । भोलिपल्ट बिहान बडो उत्साहका साथ खुम्जुङतर्फ लागियो । उकालो, समथर, ओह्रालो, फराकिला डाँडाहरू… आहा… रमाइला दृष्यहरू कति-कति । दुई जना चिनियाँ केटी साथीहरू नाम्चेबाटै फर्किए, २९ जनाको टोलीले खुम्जुङमा स्थानीय समूदायसँग कुराकानी, छलफल गऱ्यौँ । खुम्जुङ्ग उपत्यकामाथिको हिमाल बर्षेनी अलि-अलि अलि गर्दै यो मौसममा हुर्हुराउँदो डाँडो बनेछ । विगतमा हिउँ पर्दा र अहिले नपर्दाका अनुभव, पानी, दाउरा, ग्याँसदेखि वाशिङ मेसिनसम्मका कुराहरू भए । बाहिरबाट जानेका लागि सुन्दर दृष्य भएपनि हिमाल स्थानीय समूदायका लागि जीवन हुन्, जीवनयापनका माध्यम हुन् ।

नाम्चे बजारमाथिको यात्रा निकै महँगो हुने रहेछ । एक ग्लास तातोपानीको सय रुपैयाँ, एक थर्मस पानीको चार सय पचाससम्म पर्ने । मोबाइल चार्ज गरेको कतै ३ सय ५० त कतै ६ सय रुपैयाँ । नेपाल टेलिकम र एनसेल दुबैको उपस्थिति रहेनछ । एभरेष्ट नेट हुने रहेछ इन्टरनेटको लागि, २४ घण्टाको १२ सय रुपैयाँ पर्ने ! नुहाएको छुट्टै पैसा लाग्ने, तथापि नुहाउनचाहिँ पानी चिसो भएर खासै नसकिने । पैसा तिरेपछि तातोपानी पाइने । ढुवानीका कारण खाना महँगो हुनु स्वभाविक हो तर सोलार र चिम्नीको तापमा तताएको पानी किन महँगो भएको हो खासै बुझ्न सकिएन । नेपाल टेलिकम अहिलेसम्म किन नपुगेको ? यो सरकारको ध्यान जाओस् । बाटोमा रहेका होटलहरू ब्यवस्थित रहेछन्, बास बस्दा कुनै पनि प्रकारको असहज र अप्ठ्यारो नहुने, खाना पनि मिठो, सफा ।

नाम्चेपछि, खुम्जुङ्ग, डोले, मछेम्म्रो हुँदै चार दिनमा गोक्यो ताल पुगियो । बाटोभरी देखिएका हिमालका दृष्यहरूको बर्णन शायदै गर्न सकिएला । वरिपरि हिमाल हेर्दा जति आनन्द आउँछ, हिमाली जीवन त्यतिकै कष्टकर छ । आवश्यक हरेक सामान लामो बाटो बोकाएर लैजानु पर्ने । मानिसले भारी बोक्ने त छँदैछ, घोडा, खच्चडहरूको जीवन पनि कामदार जनावरको रूपमा त्यत्तिकै कष्टकर छ । ४ हजार ७ सय मिटर उचाईमा रहेको गोक्यो ताल एउटा मात्रै नभइ ६ वटा रहेछन् । पहिलो, दोश्रो कटेर तेश्रोमा पुगेपछि बस्ने होटलहरू छन् । सामान ढुवानी, मानिसहरूको आवतजावत र आपतकालीन उद्धारका लागि हेलिप्याड पनि त्यहीँ छ । हेलिकोप्टरहरूको आउने-जाने क्रम चलि नै रहने रहेछ । गोक्योको पहिलो र दोश्रो तालको पानी छुन नमिल्ने मान्यता रहेछ । तालमा देउताको बास हुने भएकाले पानी छोए देउता रिसाउने मान्यता रहेछ । तेश्रो तालमा भने मानिसहरूले छोएको र देउतालाई चढाउने पवित्र जलको रूपमा पानी भरेको पनि देखियो । जहाँ–जहाँ जे–जे देखियो, एक पटक आफ्नो देशका विभिन्न भागचाहिँ घुम्नैपर्ने रहेछ भन्ने लाग्यो । सधैं काम, दौडधुप… जीवन धान्ने क्रममा हामीले खास जिन्दगी बाँच्नै पाएका हुँदैनौँ, बाँच्न पाइरहेका छैनौँ । जिन्दगी धान्नु र आफूले चाहेजस्तो जीवन बाँच्नुबीचको दूरी निकै लामो छ ।

पाँच हजार मिटरमाथि रहेको गोक्यो रि अर्थात् गोक्यो तालबाट माथि उकालो चढेर पुगिने चुचुरो गोक्योको आकर्षण स्थल हो । करिब दुई घण्टा लाग्ने उक्त उकालो यति उकालो छ कि त्यति उकालो त कतै पनि बाटो हुँदैन होला जस्तो लाग्छ । उक्लिन अति नै गाह्रो, लेक लाग्ने सम्भावना त्यत्तिकै, तर उचाइमा पुगिसकेपछिको आनन्द संसार नै बिर्सने खालको । गोक्यो रि बाट सगरमाथा, लोत्से, मकालु हिमालहरू देखिने, मनोरम दृष्य भनेको शायद त्यस्तै नै हो, त्यो भन्दा बढी मनोरम अरु के होला र ? जस्तो लाग्ने । उकालो चढ्दाको थकाई सबै बिर्सने । गोक्यो तालको माथिल्लो भागमा रहेको ग्लासियर पग्लिने क्रम केही वर्षदेखि बढेको रहेछ । पग्लिने क्रम बढ्दै गए जोखिम पनि त्यत्तिकै हुनेछ ।

पृथ्वी दिवसलाई जलवायु परिवर्तन र विशेषगरी लैङ्गिकता र समावेशीकरणसँग जोडेर मनाउने ‘साथसाथै’को प्रयास महत्वपूर्ण छ । प्रजिता कार्की, डा. सिद्धार्थ बज्राचार्य, प्रदा कार्की जोशी, बालकृष्ण बस्नेत, बद्री सिग्देल, टेम्बा छिरिङ शेर्पाहरूको सामूहिक प्रयासले छोटो समयमैं साथसाथैले धेरैको साथ प्राप्त गर्न सफल भएको छ । सन् १९७० मा अमेरिकी वातावरणविद् तथा सिनेटर गेलर्ड नेल्शनले अप्रिल २२ लाई पृथ्वी दिवसको घोषणा गर्न प्रस्ताव गर्दा पृथ्वीप्रतिको मानव जिम्मेवारीबारे जनचेतना फैलाउनु प्रमुख उद्देश्य राखिएको थियो । समयक्रममा अहिले जलवायु परिवर्तनसँग यो दिवसलाई जोडेर हेर्न थालिएको छ । जलवायु परिवर्तनका कारण पृथ्वीलाई पर्दै गएको असरले सबैभन्दा बढी महिलाहरू प्रभावित हुने गरेको सन्दर्भमा यसलाई लैङ्गिगक दृष्टिकोणले विश्लेषण गर्नु आवश्यक छ ।

त्यसैपनि पृथ्वी र महिलाको सम्बन्ध सिर्जनशीलता, धैर्य र सहनशीलतासँग जोडिएको छ । महिलाहरूले सन्तान जन्माउने क्षमता राख्छन्, आमा भनिन्छ । पृथ्वीसँग बिउलाई बिरुवामा रुपान्तरण गर्ने शक्ति छ, माता भनिन्छ । पृथ्वी र महिला दुबै जीवनदाता हुन् । जलवायु परिवर्तनले बिश्वब्यापी रुपमै पृथ्वी र महिला दुबैलाई असर गरिरहेको छ । पृथ्वीमा बिरुवा उम्रिने क्रम घट्दैछ, महिलाहरूमा बाँझोपन बढ्दो छ । तुलना गरेर हेर्दा यस्ता मिल्दाजुल्दा कुराहरू धेरै छन् । महिलालाई पृथ्वीको प्रतीक मान्ने परम्परालाई सम्मान गर्दै अब जलवायु न्यायलाई समानता र स्वतन्त्र अस्तित्वसँग जोडेर हेरिनु पर्छ । गोक्योमा जारी घोषणापत्रमा लैङ्गिक दृष्टिकोण, समावेशितालगायतलाई महत्व दिँदै जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने उल्लेख गरिएको छ । यो संसारमा हामी नरहने निश्चित छ, आफू नरहेपनि भावी पुस्तालाई कस्तो पृथ्वी छोड्ने ? पृथ्वी दिवसलाई वर्षमा एक दिन हुने कार्यक्रम मात्र नभइ निरन्तर चलिरहने अभियान बनाउन आवश्यक छ ।