इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको ‘माउन्ट डुकोनो’ ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन् । एएफपीले जनाएअनुसार बेपत्ता हुनेहरुमा नौ जना सिङ्गापुरका नागरिक रहेका छन् भने विस्पोट हुँदा करिब १० किलोमिटर वरपरको क्षेत्रको हावामा धुवाँ धुलो फैलिएको छ ।
स्थानीय उद्धार अधिकारी इवान रामदानीलाई उद्धृत गर्दै जनाइएअनुसार घाइते व्यक्तिहरूबारे अझै पुष्टि भएको छैन भने बेपत्ता भएको भनिएका २० जनाको खोजी भइरहेको छ ।
वैज्ञानिकहरूले पछिल्लो समयमा इन्डोनेसियामा ज्वालामुखीका गतिविधि वृद्धि भएको चेतावनी दिएपछि अप्रिल १७ देखि यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको भए तापनि बेपत्ताहरु सबै पर्वतारोहीहरू रहेको जनाइएको छ ।
इन्डोनेसियको भू–विज्ञान विभागले विस्फोटको प्रभाव उत्तरी मालुकु प्रान्तको माउन्ट डुकोनोको शिखरबाट करिब १० किलोमिटर टाढाको क्षेत्रसम्म फैलिएको जनाएको छ ।
इन्डोनेसिया एक विशाल द्वीपसमूहहरुको राष्ट्र र यसको भौगोलिक स्थितिको कारण बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिको सामना गर्ने गरेको जनाइएको छ । माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो-उच्च सतर्कता स्तरमा रहेको छ ।
गत डिसेम्बरदेखि सेन्टर फर भोल्कानोलोजी एन्ड जियोलोजिकल हजार्ड मिटिगेसन (पिभिएमबिजी)ले पर्यटक तथा पर्वतारोहीलाई ज्वालामुखीको चार किलोमिटर भित्रमा नआउन सिफारिस गरेको छ ।
प्रतिक्रिया