✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८३ वैशाख २६ गते शनिबार तद्अनुसार सन् २०२६ मे ९ तारिख शुद्ध ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि ९ः५५ पर अष्टमी तिथि श्रवण नक्षत्र शुक्ल योग बालव करण आनन्दादिमा स्थिर योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२१ मा भयो र सूर्यास्त साँझ १८ः४१ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, कानूनदिवस ।
आजको राशिफल
मेष – समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खान सक्छन् । पशुधन र जमिनबाट लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ भने मित्रसुख प्राप्त होला । आरोग्यबल बढ्नेछ ।
वृष – बौद्धिक र सृजनात्मक कर्ममा सफलता मिल्ने समय भएपनि सानातिना काम र घरेलु समस्यामा नै समय ब्यतीत हुने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने योग रहेकोले विशेष सावधानीको खाँचो छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । दैनिक कामकाजमा असर पर्ने सम्भावना छ ।
मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानीको बाटो पनि खुल्ने योग छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सुख विलासको माहोलमा दिन बित्ने देखिन्छ ।
कर्कट – आजको दिन विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ, सजग रहनुहोला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा हानी र कर्मचारीले अपजस व्यहोर्नुपर्ने योग छ । आज यात्रागत कार्य थाती राख्नु उचित हुनेछ । आरोग्यता रहनेछ । प्रतिकुलताका बाबजुद साहसिक काममा आकर्षण बढ्ने देखिन्छ ।
सिंह – बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, ब्यवहारमा सरलता अपनाउनुहोला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन । पारिवारिक समस्याले मन खिन्न हुने देखिन्छ । अनावश्यक ब्यस्तता र खर्च बढ्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
कन्या – नसोचेका कामहरु बन्ने दिन छ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुने र विपरीतलिङ्गीबाट सहयोग मिल्ने देखिन्छ । धन आर्जन गर्ने मौका जुर्ला । नियमकानूनले साथ दिनाले सजिलै दायित्व पूरा गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
तुला – नियमित कार्यमा जाँगर बढ्ने तथा कामको उच्च मूल्याङ्कन हुने समय छ । बोलीको कदर हुनेछ भने विशेष खुशीको समाचार सुन्न पाइने योग छ । सोचेको विशेष योजनामा काम गर्ने वातावरण मिल्ला । दिनदुःखीलाई दिएको सहयोगले मन प्रफुल्ल तुल्याउनेछ । उचित ठाउँमा धन लगानी गर्ने अवसर जुर्ने देखिन्छ । प्रेमभाव एवम् दाम्पत्यसुख बढ्नेछ । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।
वृश्चिक – शुभदायी दिन छ । मित्रजनले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । बिग्रिएका कामहरू बन्नाले उत्साह वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
धनु – आम्दानी बढ्ने र प्रयास गर्दा उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुधनबाट लाभ लिन सकिनेछ । धनार्जनको विशेष अवसर मिल्ने सम्भावना छ । अरुको मन सजिलै जित्न सकिएला । अनुकुलताका बाबजुद मनमा खराब विचारहरुले डेरा जमाउन सक्ने र मानसम्मानमा आघात पुग्ने योग छ, सचेत रही व्यवहार गर्नुहोला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
मकर – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । नियमित कार्यमा थकानको अनुभव होला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्ने योग छ । अप्रिय समाचार सुन्नुपर्दा मन खिन्न हुनेछ । खर्चवृद्धिले सताउन सक्छ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । शत्रुमाथि विजय प्राप्त हुनेछ । आलोचनाको शिकार बन्नबाट जोगिन विशेष प्रयत्न गर्नुहोला ।
कुम्भ – दिन सुखदायी नै रहने देखिन्छ । काममा मित्रजनको सहयोग प्राप्त होला । विशिष्ट व्यक्तिको विचारले सकारात्मक प्रभाव पैदा गर्न सक्छ । व्यापारमा लाभ हुनेछ भने समाजमा प्रतिभाको कदर हुनेछ । धर्मकर्ममा रुचि बढ्ला । खेलकुद तथा कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय उत्साहप्रद देखिन्छ । आयस्रोत बढ्नेछ । अनुकूलता वृद्धिले यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
मीन – आकस्मिक यात्राको समय छ । जग्गाजमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सजग रहनुहोला । समाजमा कुरा काट्नेको कमी हुने छैन । सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । नयाँ जिम्मेवारी पाइएला । यात्रापरक काम बन्नेछ । विपरीतलिंगीको साथ मिल्नेछ ।
प्रतिक्रिया