बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलरमा नेपालीमूलका रानाभाट दम्पती निर्वाचित

बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको काउन्सिलरमा नेपालीमूलका रानाभाट दम्पती निर्वाचित


बेलायतको लन्डन रोयल ग्रीनबीच बरोको ‘प्लमस्टेड एन्ड ग्लिन्डन’मा नेपालीमूलका पूर्वमेयर जित रानाभाट काउन्सिलर निर्वाचित भएका छन् । त्यस्तै, उनकी पत्नी गौमाया गुरुङ सोही बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित भएकी छन् ।

यसअघि सोही बरोको मेयर तथा उपमेयरको जिम्मवारी पूरा गरेका रानाभाट एक हजार ६१० मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित भएका हुन् । प्लमस्टेड एन्ड ग्लिन्डनमा तीन वटै सिट लेबर पार्टीले जितेको छ । लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिल निर्वाचित भएका छन् ।

रानाभाटपत्नी गौमाया पहिलोपटक काउन्सिलर निर्वाचित भएकी हुन् । उनले एक हजार २९२ मत प्राप्त गरेकी छन् । एबिउडमा पनि तीनवटै सिट लेबरले जितेको छ । रानाभाट दम्पती दुवै जना लेबर पार्टीबाट चुनावी मैदानमा होमिएका थिए ।

उता, अल्डरसटका रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेल्वासे निर्वाचित भएका छन् । कञ्जरभेटिभ पार्टीका उम्मेदवार बेल्वासे ८९१ मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित भएका हुन् । सोही बरोको वेलिङटन वार्डमा पूर्वगोर्खा उत्तरबहादुर गुरुङ ५५१ मतसहित काउन्सिलर निर्वाचित भएका छन् ।

त्यसैगरी, रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीबाट एक हजार १८० मतसहित निर्वाचित प्रतिक्षा गुरुङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बनेकी छन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार लक्ष्य गुरुङ लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित भएका छन् । बेलायतमा बिहीबार सम्पन्न निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यो निर्वाचनमा बेलायतको सत्तारुढ दल लेबर पार्टीलाई ठूलो झड्का लागेको छ । बेलायतको समयअनुसार शुक्रबार मध्यरातिसम्म प्राप्त नतिजाअनुसार कूल १३६ काउन्सिलमध्ये १३१ को नतिजा प्राप्त हुँदासम्म नाइजल फराज नेतृत्वको रिफर्म युकेले सबैभन्दा बढी एक हजार ४४३ काउन्सिलर सिट जितेको छ ।

दोस्रो स्थानमा रहेको सत्तारुढ लेबरले ९५९ र तेस्रो स्थानको लिब्डेमले ८३४, कन्जरभेटिभले ७७३, ग्रीनपार्टीले ५११ तथा अन्यले २४४ काउन्सिलर पद जितेका छन् । सत्तारुढ पार्टीले यसअघिको तुलनामा करिब एक हजार ३९५ सिट गुमाएको हो । अधिकांश सिट फराज नेतृत्वको रिर्फमले कब्जा गरेको छ । उसले अघिल्लो चुनावको तुलनामा एक हजार ४४१ बढी सिट जितेको हो ।