- विशेष प्रतिनिधि, बेल्जियम (युरोप)
नेपाल पत्रकार महासंघ बेल्जियमको आयोजनामा आन्त्वेर्पेन शहरमा आइतबार एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन र नेपाली राष्ट्रगानको धुनसँगै सुरु गरिएको उक्त कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदूत सेवा लम्साल र नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले अतिथिहरूलाई फूलको गुच्छा अर्पण गरी स्वागत गर्नुभएको थियो । प्रेस स्वतन्त्रता दिवसको सन्दर्भलाई समेत ख्याल गर्दै आकस्मिक रूपमा आयोजना गरिएको अन्तरक्रिया भए तापनि स्थानीय संघ-संस्थाका प्रतिनिधि र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा पत्रकारिताको पछिल्लो अवस्था, सामाजिक सञ्जालको चुनौती र सांगठनिक विस्तारबारे गम्भीर विमर्श गरियो।
अन्तरक्रियामा लग्जेम्बर्गबाट सहभागी पत्रकार प्रतिक लामिछानेले महासंघको आगामी अधिवेशनले बेल्जियम मात्र नभई बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड र लग्जेम्बर्ग) क्षेत्रलाई नै समेट्नुपर्ने प्रस्ताव राख्नुभयो । सोही क्रममा सहभागी संघ-संस्थाका प्रतिनिधिहरूले पत्रकारितामा बढ्दो राजनीतिक आबद्धता र त्यसबाट सिर्जना हुने ‘स्वार्थको द्वन्द्व’ (Interest of Conflict) प्रति चिन्ता व्यक्त गरे । सूचना र विज्ञापनको मिसावटले समुदाय ‘जलिरहेको वनभित्रको जरायो’ जस्तै अलमलमा परेको गुनासो गर्दै उनीहरूले तथ्यहीन समाचारको ‘फिल्टर’बारे प्रश्न उठाएका थिए ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारितामा सम्पादकीय पद्धतिको महत्त्वमाथि प्रकाश पार्दै एउटा गलत सूचनाले देशमा गृहयुद्धसम्म निम्त्याउन सक्ने खतरा औंल्याउनुभयो । ‘भाइरल’ हुने नाममा सामाजिक सञ्जालमा जथाभावी सामग्री हाल्ने प्रवृत्ति र व्यावसायिक पत्रकारिताबीच ठूलो भिन्नता रहेको चर्चा गर्दै उहाँले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (IFJ) मा पनि यस्ता अफवाहका खतराहरूबारे गम्भीर छलफल भएको जानकारी दिनुभयो । उहाँले नेपालमा प्रेस स्वतन्त्रताको बर्तमान अबस्थाको बारेमा चिन्ता जाहेर गर्दै सबै पत्रकारलाई प्रेस स्वतन्त्रताबारे सचेत रहन निर्देशन दिनुभयो ।

प्रेस युनियनका महासचिव दिलिप पौडेल र उपमहासचिव दिलिपाश्री अधिकारीले सूचनाको बाढीमा ‘फेक न्युज’ र मानवीय मुद्दाहरूलाई छुट्याउन सक्ने क्षमता पत्रकारमा हुनुपर्ने धारणा राख्नुभयो । राजदूत सेवा लम्सालले प्रवासका पत्रकारहरूले आफ्नो व्यक्तिगत समय र श्रम खर्चिएर समुदायको सेवा गरेकोमा आभार व्यक्त गर्दै दूतावास र पत्रकारबीचको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपाध्यक्ष डिल्ली अम्माईले अतिथिहरूलाई सुमधुर शब्दमार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गरिरहनु भएका महासचिव पेम्वा गेलु शेर्पाले यस्ता अन्तरक्रियाहरूले समुदायको ‘आँखा खोल्ने’ काम गर्ने भएकाले यसलाई नियमित बनाउनुपर्ने जिकिर गर्नुभयो । सहभागीहरूले युट्युबको ‘काँचो आलु’ जस्तो कच्चा सूचना सम्प्रेषण गर्ने शैलीले समाजलाई कता लैजाला भनी गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
अन्त्यमा, सभापति एवं बेल्जियम अध्यक्ष ओम शर्माले समापन मन्तव्यमार्फत सबैलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्नुभयो । उहाँले पत्रकारले आफ्नो विवेक र सम्पादकीय मर्यादा नभुलेमा मात्रै समुदायको विश्वास जित्न सकिने र ‘इन्ट्रेष्ट अफ कन्फ्लिक्ट’बाट मुक्त रहन सकिने स्पष्ट पार्नुभयो । सूचनाको डढेलोबाट समुदायलाई जोगाउनु नै आजको पत्रकारिताको मूल धर्म भएको निष्कर्षका साथ कार्यक्रम समापन गरिएको थियो ।
प्रतिक्रिया