थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गर्दै सोमबार बैङ्ककको जेलबाट पेरोलमा रिहा भएका छन् । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल सजाय भोगिसकेका छन् ।
दशकौँदेखि विवाद र राजनीतिमा ध्रुवीकरणको केन्द्रमा रहेका थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन स्थानीय समय अनुसार सोमबार (११ मे) बिहानै जेलबाट रिहा भएका हुन् ।
उनको स्वागतका लागि बैङ्ककको केन्द्रीय कारागार ‘क्लोङ प्रेम’ बाहिर करिब ३०० समर्थक र राजनीतिक सहयोगीहरू भेला भएका थिए । थाक्सिन सेतो पोलो ब्रान्डको टिसर्ट र निलो पाइन्ट लगाएर जेलबाट बाहिर निस्किँदा उनलाई परिवारिक सदस्यहरूले अँगालो हाल्दै स्वागत गरेका थिए । त्यस्तै, उनको रिहाइसँगै खुशी साट्न जेलबाहिर भेला भउका समर्थकहरूले ‘वि लभ थाक्सिन’ नारा लगाएका थिए र उनलाई रातो गुलाब उपहार दिएका थिए । रिहाईपछि पहिलो पटक सार्वजनिकरूपमा देखिएका उनले सञ्चारमाध्यमसँग भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
थाक्सिनको राजनीतिक यात्रा
दूरसञ्चार व्यवसायमा आबद्ध अर्बपति व्यापारी थाक्सिनले सन् १९९८ मा आफ्नै राजनीतिक पार्टी गठन गरेका थिए र सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा विदेश भ्रमणमा रहेको बेला सेनाले ‘कू’ गरेर उनको सरकार अपदस्थ गरेको थियो ।
त्यतिबेला थाई राजनीति झण्डै दुई दशकसम्म गहिरो राजनीतिक द्वन्द्व र ध्रुवीकरणको शिकार बनेको थियो ।
थाक्सिनलाई शक्तिको दुरुपयोग, आफ्नो व्यापारिक हितलाई फाइदा पुऱ्याएको र सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लगाइएको थियो । उनलाई अनुपस्थितिमा नै दोषी ठहर गरिएको थियो ।
सन् २०२३ मा उनीस्वदेश फर्किएर अदालतमा हाजिर भएका थिए । त्यहाँबाट उनलाई सुरुमा आठ वर्षको जेल सजाय सुनाइएको थियो, तर पछि थाइल्यान्डका राजा महा वाजिरालोङकोर्नले जेल सजाय घटाएर एक वर्षमा झारेका थिए ।
स्वास्थ्य कारण देखाउँदै थाक्सिनलाई बैङ्ककस्थित प्रहरी अस्पतालको एक विशेष कक्षमा कैद गर्न दिइएको थियो । यो निर्णयका विरोधीहरुले उनलाई विशेष सुविधा दिएको आरोप लगाएका थिए । यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उहाँलाई जेलमा आफ्नो सजाय पूरा गर्न आदेश दिएको थियो ।
स्वास्थ्य कारणले ‘प्यारोल’ स्वीकृत
हालसालै, न्याय मन्त्रालयको एक समितिले उनको राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराधको कम सम्भावनालाई ध्यानमा राख्दै उनको लागि ‘प्यारोल’ स्वीकृत गरेको छ । रिहाइपछि आगामी चार महिनासम्म उनलाई निगरानीमा राखिने बताइएको छ । उनीहरूले बैङ्ककमा आफ्नो घरमा बस्नुपर्नेछ भने निगरानीका लागि ‘इलेक्ट्रोनिक मोनिटरिङ ब्रेसलेट’ लगाउनु पर्नेछ र नियमित रूपमा अधिकारीहरूलाई रिपोर्ट गर्नुपर्नेछ।
सन् २०२४ मा थाक्सिनकी छोरी पातोङटार्न सिनावात्रा थाइल्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेपछि थाक्सिनलाई थप सुविधा दिनसक्ने भनाइहरू आएका थिए तर पातोङटार्नको विदेशी अधिकारीसँगको विवादास्पद फोन कल सार्वजनिक भएपछि संवैधानिक अदालतले उनलाई सन् २०२५ मा पदबाट हटाएको थियो । यस वर्षको आम निर्वाचनमा थाक्सिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा पुगेको थियो ।
प्रतिक्रिया