यहाँ राजनीतिको नाममा जनता झुक्क्याउने नीति, ठगठाग नीति, बजेट-ठेक्कापट्टा हत्याउने नीति नै राजनीति भनेर हिँडेका छन् । त्यो राजनीति होइन । जुन नीतिले धेरैको हित हुन्छ त्यो राजनीति हो । लुच्चा, फटाहा, बदमास, बेइमानहरू नै यहाँका जनसाधारणले खोजेका छन्, पाएका छन् । ती सुहाउँदा जनसाधारण छन, जनसाधारण सुहाउँदा ती छन् ।
‘भाले खोज्ने, पोथी खोज्ने, बाँच्न खोज्ने, ब्याउन खोज्ने, बच्चा हुर्काएर मर्न खोज्ने, साक्षात् मान्छेको जुनीमा मान्छेका आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छे जगाउने प्रयासस्वरुप ‘थाहा’ आन्दोलन गरियो । या त मान्छे जाग्दै जागेनन्, जे-जति जागे लुच्चा फटाहालाई नै काम लागे । यी राप्रपा मण्डले पुराना मण्डले भैहाले, यिनीहरूको माउ-मण्डले काङ्ग्रेस मण्डले हुँदैहुन्, काङ्ग्रेसको कुपुत्र राप्रपा मण्डले, मण्डलेहरूको कुपुत्र यी एमाले मण्डले हुन् । मान्छेलाई चाहिएको, मन परेको यस्तै मात्र हुँदारहेछन् ।’
महान् नेपाली दार्शनिक रुपचन्द्र बिष्टले एकतीस वर्षअघि घटना र विचारका लागि देवप्रकाश त्रिपाठीलाई दिनुभएको विशेष अन्तर्वार्तामा उपरोक्त विचार व्यक्त गर्नुभएको हो । त्यसबेला रास्वपा नामक समूह गर्भमा पनि थिएन, त्यसैले यस अन्तर्वार्तामा रास्वपा र तिनका नेता-कार्यकर्ताबारे रुपचन्द्रको टिप्पणी पढ्न पाइँदैन । तत्कालीन वर्तमानबारे उहाँले व्यक्त गर्नुभएको कालजयी विचार सधैं पठनीय हुने भएकोले यहाँ प्रस्तुत गरिएको छ ।
यो अन्तर्वार्ता लिन देवप्रकाशलाई केही वर्ष लागेको थियो । त्यसबेलाको चर्चित ‘विमर्श साप्ताहिक’को अन्तर्वार्ताकारका रूपमा पनि उहाँले रुपचन्द्रसङ्ग (२०४८ सालमा) अन्तर्वार्ताका निम्ति आग्रह गर्नुभएको थियो । त्रिपाठीको आग्रहमा विष्टको जवाफ थियो- ‘शत्रुहरूको मन्त्रिमण्डलको दास, शत्रुदासका पनि दासहरूले चलाएको पत्रिकामा मैले अन्तर्वार्ता दिन मिल्दैन, जुन दिन तँ भाते आफैं सम्पादक हुन्छस्, त्यसपछि तलाई अन्तर्वार्ता दिउँला !’
उहाँलाई सम्झाउन सम्भव थिएन, एकपटक जवाफ दिएपछि त्यो नै उहाँको अन्तिम निर्णय हुने गर्दथ्यो ।
त्यसपछि जनमत नामक साप्ताहिक म्यागेजिनको कार्यकारी सम्पादकको जिम्मेवारीमा रहँदा पनि त्रिपाठीले भेटेर बिष्टको अन्तर्वार्ता लिन कोशीस गर्नुभयो । ‘अहिले म आफैं सम्पादक भएको छु, अब अन्तर्वार्ता दिनुहोस्’ भन्न पुगेका त्रिपाठीलाई जवाफ फर्काउँदै रुपचन्द्रले भन्नुभएको थियो- ‘तँ भाते सम्पादक भइस् भन्दैमा मैले जुवाखाना चलाउने टटलको लगानी रहेको पत्रिकामा अन्तर्वार्ता दिन मिल्दैन, जुन दिन तँ आफै पत्रिका चलाउँछस् त्यसपछि म तँलाई अन्तर्वार्ता दिनेछु ।’ २०४६ सालको परिवर्तनपश्चात कहिल्यै कसैसङ्ग अन्तर्वार्ता नगर्नुभएका विष्टले यसपटक पनि त्रिपाठीलाई फर्काइदिनुभएको थियो ।
२०५१ सालमा ‘घटना र विचार’ पत्रिका दर्ता भएर प्रकाशनमा आउने भएपछि त्यसको प्रधानसम्पादकको रूपमा देवप्रकाश त्रिपाठी उहाँको कालिमाटीस्थित निवासमा अन्तर्वार्ता लिन जानुभयो । आफैले सञ्चालन गर्ने पत्रिकाको लागि भनेपछि बिष्ट अन्तर्वार्ताका निम्ति तयार हुनुभएको थियो ।
त्यसबेला अन्तर्वार्ताको भूमिकामा लेखिएको थियो- रूपचन्द्र बिष्ट, कुनै समय सर्वाधिक चर्चामा रहेको यो नामभित्र छिपेको ब्यक्तित्व अचेल कहाँ छ र के गर्दैछ – शायद धेरैलाई थाहा छैन । मकवानपुरबाट दुई पटक राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी बन्न सफल बिष्ट प्रजातन्त्र स्थापनापश्चात गायब झैँ हुनुहुन्छ । साधारण मानिस भन्दा भिन्न व्यबहार गर्ने सबैले ‘थाहा’ पाउनुपर्छ भनेर त्यसको प्रचारप्रसारको निम्ति यत्रतत्र ‘थाहा’ लेख्दै हिँड्ने, अति उत्साही ब्यक्तित्व रूपचन्द्र बिष्टका मौलिक विशेषता हुन् । पञ्चायतकालमा बिष्ट पञ्चायतविरोधीहरूबीच एउटा आशाको बिन्दु बन्न सफल हुनुभएको थियो भने पञ्चहरूको आखाको कसिङ्गर । पञ्चायत ढल्ने समयतिर आएर उहाँलाई मरिचमानसित जोडेर बदनाम गर्ने चेष्टा पनि भयो, उहाँलाई उक्त भ्रम चिर्न निकै मुस्किल पऱ्यो । साँच्चै भन्ने हो भने उहाँ अझै त्यही भ्रमको शिकार बनिरहनुभएको छ । प्रजातन्त्र स्थापनापश्चात दुईपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्नुभयो, तर दुबैपटक पराजित हुनुभयो । अन्तर्वार्ताका निम्ति उहाँलाई भेट्दा लाग्यो, उहाँ जीवनमा एक किसिमले आफूलाई असफल ठानिरहनुभएको छ र निराश देखिनुहुन्छ । तर बिष्ट यो कुरा स्वीकार गर्नुहुन्न । अन्तर्वार्ताका निम्ति भएको कुराकानी सकिएपछि बिदा हुने क्रममा बिष्टले भन्नुभयो- ‘म आफ्नो आयु छोट्ट्याउँदैछु, डुबेर या विष खाएर मरौँ भने मलाई पनि अप्ठ्यारो, तिमीहरूलाई पनि अप्ठ्यारो ! त्यसैले म अर्कै तरिकाले मर्दैछु, यसरी मरेपछि मलाई पनि सजिलो र तिमीहरूलाई पनि सजिलो !
यति निराशाले घेरिएको अवस्थामा पनि उहाँ आफ्नो विचार र धारणामा अटल हुनुहुन्छ । उहाँको पुरानो शैली र आचरणमा कुनै परिवर्तन आएको छैन ।
बिष्टले भन्नुभएको तर त्यसबेला नछापिएको कुरा उहाँले आफ्नो आत्महत्याबारे बताउनुभएको सन्दर्भ थियो । उहाँले आफ्नो मृत्युयात्राबारे भन्नुभएको थियो- ‘म डुबेर मरौँ भने लाश खोज्न पुलिस र तिमीहरूलाई पनि दुःख हुन्छ, म दुःख दिन चाहन्नँ । झुण्डिएर मरौँ भने पनि त भातेहरूलाई दुःखै हुन्छ । त्यसैले मैले अर्कै तरिकाले आत्महत्या गर्ने निर्णय लिएको छु । शरीरलाई भोक लागेको बेला खान नदिने, निन्द्रा लागेका बेला सुत्न नदिने, बिरामी परेका बेला औषधी नदिने बरु रक्सी दिने, यसो गरेपछि मेरो मृत्युमा कसैले दुःख पाउनु पर्दैन । सिकिस्त बिरामी परेपनि मलाई अस्पताल लैजाने काम कदापि नगर्नु ।’

प्रस्तुत छ, घटना र विचारले रूपचन्द्र बिष्टसित गरेको कुराकानी :
० बिष्टजी, तपाईंले पहिले जनतामा चेतना बिस्तार होस् भन्ने उद्देश्यले थाहा आन्दोलन चलाउनुभएको थियो । यता केही वर्षदेखि तपाईंले न जनतालाई केही थाहा दिइरहनुभएको छ, न तपाईंकहाँ बस्नुहुन्छ र के गर्दै हुनुहुन्छ भन्ने नै जनताले थाहा पाएका छन् । किन यसरी बसिरहनुभएको छ ?
– मैले या त मान्छेले साधारण प्राणी जीवन मात्र बिताइरहेको देखे या नतिजा कसरी हाशील गर्नुपर्छ भन्ने कुराको स्वच्छन्द भएर माग गरिरहेको पाएँ । अनि थाहा, थाहा हुनुपऱ्योे, के चाहियो, कसरी त्यो हाशील गर्ने, त्यो थाहा नभइकन चिज किन खोज्ने मात्रै भन्दै हिँड्दाखेरि धेरै थाकेँ म । अनि ‘थाहा’ लेख्दै हिंडेँ । कहिलेकाहीँ यस विषयमा धेरै ठूला ब्याख्याहरू पनि गरिए । सत्य र ठीक आ-आफैले थाहा पाउनुपर्ने, थाहा भएका मान्छेहरू आपसमा कुराकानी-लेखापढी गरेर, सल्लाह मिलाउने-नमिलाउने काम हुनुपर्ने, तर थाहा भएका कुरा पढेर-सुनेर थाहा पाएको स्वाङ पारेर हिँडेर के गर्नु ? तपस्याले मूक्ति तहको थाहा, साधनाले ज्ञान तहको थाहा र अनुभवद्वारा साधारण थाहा मिल्छ । कुन तहको थाहा चाहिन्छ लेउ, यहाँ धनी काम लाग्दैन, बाउ काम लाग्दैन, गुरु काम लाग्दैन, खेताला काम लाग्दैन, पैसो काम लाग्दैन, थाहा त्यस्तो विषय हो । मान्छेभित्रको मान्छे जगाउन गरेको कोशीस थियो यो । भाले खोज्ने, पोथी खोज्ने, बाँच्न खोज्ने, ब्याउन खोज्ने, बच्चा हुर्काएर मर्न खोज्ने, साक्षात् मान्छेको जुनीमा मान्छेका आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छेभित्रको मान्छे जगाउने प्रयासस्वरुप थाहा आन्दोलन गरियो । या त मान्छे जाग्दै जागेनन्, जे–जति जागे लुच्चा-फटाहालाई नै काम लागे । यी राप्रपा मण्डले पुराना मण्डले भइहाले, यिनीहरूको माउ मण्डले काङ्ग्रेस मण्डले हुँदै हुन् । काङ्ग्रेसको कुपुत्र राप्रपा मण्डले, मण्डलेहरूको कुपुत्र यी एमाले मण्डले हुन् । मान्छेलाई चाहिएको, मन परेका यस्तै मात्र हुँदारहेछन् । मान्छेभित्रको मान्छे जगाउने कोशीसमा म असफलै भएँ । जनमुखी राजनीति एउटै राजनीति भनेर जनता जगाउने भनेको, हरेक जनसाधारणले जम्मै जनसाधारणको हित हुने भाव, विचार ब्यवहार गर्नुपर्छ । अनि सत्य र ठीकको राज्य, नत्र झुठ र बेठीकको राज्य हो कि होइन लौ भन भन्दै जादाखेरि यस सम्बन्धमा बोलिएका, लेखिएका कुरा जो–जसले पढे ‘त्यो’ एउटा हटाइदेउ भन्ने मनशाय अहिलेका नेता भन्नेहरूको रहेछ । यी जम्मै मिलेर भ्रम फैलाए जनतामा । अहिलेका एमाले भनिने मालेहरूले रुपचन्द्र बिष्ट बिग्रियो, मण्डले बन्यो भनेर हिँडे, अनि मण्डलेहरूले हो हामीले त्यसलाई बिगाऱ्यौं भनेर हिँडे, काङ्ग्रेस मसाले आदिले हो त्यो बिग्रेकै हो भनेर हिँडे, जनसाधारणले हो रे हो रे भने । झुठै बढी मनपराउने स्वभाव हाम्रो नेपालको, समाजको स्वभाव मनोबिज्ञान छ । सत्य जतिपटक भनेपनि असरै नपर्ने, झुठ छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाने हुँदोरहेछ । दृष्टान्तकै निम्ति एउटा कुरा भन्छु- रुपचन्द्रको इतिहास र पृष्ठभूमि के हो, उसको राजनीतिक पर्चा र भाषण के थिए, त्यो सब कुरालाई वास्ता नगरेर एउटी बुढीको एक भारी मल, एकपटक उसले बोकिदिएको भरमा २०३८ सालको आमचुनाव जित्यो भन्ने कुरा यति धेरै फैलिएर गयो कि होइन भनेर जतिसुकै पटक भन्दा पनि कसैले पत्याएनन् ! एउटा गाउँ पञ्चायतको, एउटा वडाको, एउटा घरको, एकजनाको, एक भारी मल बोकेकै भरमा रुपचन्द्रले चुनाव जितेको भन्ने कुरा खुब मनपऱ्योे मान्छेलाई । यिनीहरूलाई स्वदेशी विदेशी जनविरोधीहरूले चिनेका छन्, यिनीहरूको मनोविज्ञानलाई सुहाउँदो अनेक भ्रमहरू फैलाउँदै छन्, त्यही भ्रममा यिनीहरू परेका छन् । जनताको राज्य चल्नै नसक्ने देखेपछि जनविरोधीसङ्ग एक्लै कति भिडिरहनु भनेर पन्छिन खोज्थेँ, ठीक्क ठाउँमा पुगेको छु ।
० त्यसोभए तपाईं आफ्नो जीवन र अभियानसङ्ग थाकिसक्नुभएको हो ?
– थाकेको भन्दा पनि अब मेरो राजनीतिमा काम छैन भन्ने कुरा छर्लङ्गै देखेर यसरुपमा बसेको छु । नत्र अहिले म आफ्नो शारीरिक तन्दुरुस्तिका निम्ति, लामो आयुका निम्ति गर्नुपर्ने साधनाहरू गरिरहन सक्थेँ । अहिले म त्यसको विपरीत तालमा छु र यत्ति नै ठीक लागिरहेको छ । लामो आयुका निम्ति जे–जस्तो गरिरहनुपर्ने थियो, त्यो सबको उल्टो चर्या छ अहिले मेरो । हेर्नुस्, जनतामा ‘ता’ थिएन, छैन र जगाउनै सकिएन । बहुसङ्ख्यक मानिस जनता हुन्, अल्पसङ्ख्यक मानिस कहिले जनविरोधी हुन्छन् त कहिले सहायक जनतासम्म हुन सक्लान् । जनतामा ‘ता’ नभएपछि ती जनता हुन सक्दैनन् । ‘ता’ हुनका निम्ति जनभाव चाहियो, जनविचार चाहियो । भाव, विचार, ब्यवहार जब हुन्छ, त्यसबेलामा मात्रै बहुसङ्ख्यक मानिसहरू जनता हुन्छन् ! यहाँ त एउटा किसानले आफ्नो एक हल गोरुलाई भन्दा बाँकी जम्मै किसानलाई कम महत्व दिन्छ । एउटी आइमाईले आफ्नो एक जोर गहनालाई भन्दा बाँकी जम्मै आइमाईलाई कम महत्व दिन्छे । यस्तो भएपछि जनतामा ‘ता’ कसरी आउने ? यी त ‘जन’ मात्रै हुन् जनता होइनन् । तामाङ भनेर हुन्छ कि, नेवार भनेर हुन्छ कि, मधेशी भनेर हुन्छ कि, अरु कुन भनेर हुन्छ भन्नेमा लागेर हिँडेको बरु देखिन्छ । तर एउटा गरीबमाथि भएको अन्याय अर्को गरीबले नसहने, सुन्नासाथ विरोध गर्ने गरेको चाहिँ देखिन्न । एउटी नारीमाथि भएको बेठीक ब्यवहारका विरूद्धमा अरु नारीहरूले लेख्ने, बोल्ने उठ्ने गरेको त देखिन्न ! हजारमा नौ शय उनान्शय गरीब र आइमाईका शत्रु चुनाव जित्छन्, यिनीहरू आफ्नो भोट आफैले धाँधली गरेर हाल्छन् आफ्नो शत्रुलाई । काम धेरै आइमाई र गरीबलाई, कमाई धेरै शोषक, शासक र पुरुषलाई – यस्ता अङ्शबण्डा लगाउने, कानून बजेट बनाउने, सरकार ब्यवस्था चलाउने, यस्ता राजनीति गर्नेहरूलाई भोट, जातलाई भोट, नातालाई भोट, पैसालाई भोट केही भनेर यिनका भोट जब पर्छन् वास्तवमा यिनीहरूभित्र भोट पनि छैन । धाँधली भोट हाले, धाँधली भोट भन्दा बढी केही दिन पनि सक्दैन यो सविधानले यिनीहरूलाई ! आमचुनाव भनेको देशलाई कानून कस्तो चाहियो भन्ने चुनाव हो । कानून बनाउने निकाय हो संसद् भनेको । यहाँका जनतामा कानून किन बनाउने र कस्तो बनाउने भन्ने कुराको ज्ञान हुनै सकेन । जसले जे खोजेकै छैन त्यसलाई त्यो चिज दियो भने लिँदैन, लिएजस्तो गऱ्योे भने पनि त्योसङ्ग रहँदैन । अहिलेसम्म यहाँ हिन्दुस्तानको प्रजातान्त्रिक क्रान्ति र चीनको जनवादी क्रान्तिको नाममा भोट लिने र भोट दिने गरिएको छ । यहाँका मानिस सार्बभौम हुन् र सत्ता जनतामा छ भन्ने फटाहा कुरा हो । रक्षामन्त्रीको हातमा सैनिक, परराष्ट्रमन्त्रीको हातमा परराष्ट्र सम्बन्ध र अर्थमन्त्रीको हातमा बजेट हुने भए पो सत्ता जनताको हातमा भन्न मिल्छ । यहाँ अहिले जनतामा ता छैन, जनतामा ता नभएपछि कार्यकर्तामा ता हुनै मिल्दैन, जनताको ता मूल ता, कार्यकर्ताको ता तस्बिर ता, त्यो दुईवटा ता भएपछि मात्रै नेतामा ता हुने हो । त्यो दुइवटै ता नेतामा झन् ता नभएपछि हुने कुरै भएन । ता नभएका जनता नेता, कार्यकर्तामा मेरो कामै नहुने !
० यसको मतलब तपाईं अब राजनीतिक गतिविधिमा पटक्कै नलाग्ने पक्षमा हुनुहुन्छ हो ?
– यहाँ राजनीति सुरु गर्न सकिएन । राजनीतिको नाममा जनता झुक्क्याउने नीति, ठगठाग नीति, बजेट-ठेक्कापट्टा हत्याउने नीति नै राजनीति भनेर हिँडेका छन् । त्यो राजनीति होइन । जुन नीतिले धेरैको हित हुन्छ त्यो राजनीति हो । लुच्चा, फटाहा, बदमास, बेइमानहरू नै यहाँका जनसाधारणले खोजेका छन्, पाएका छन् । ती सुहाउँदा जनसाधारण छन, जनसाधारण सुहाउँदा ती छन् । एकलौटी मण्डले निर्धो भएको र बहुमण्डले बलियो नभैसकेको म केके न हुँ भन्ने रूपमा देखापरेको थिएँ । त्यो छोटो समय सदुपयोग गरेँ, त्यस्तो समय एकपटक आएको थियो, गयो !
० त्यसोभए अहिलेको प्रजातान्त्रिक बहुदलीय ब्यवस्था भन्दा पञ्चायती ब्यवस्था नै ठीक थियो त तपाईंका लागि ?
– होइन । तिमीलाई चोरले दुःख दिएको बेस कि डाँकुले, भिरबाट लडेको ठीक कि बाघले खाएको बेस भनेजस्तो कुरा नगर न ! प्रश्नै ठीक भएन । यी दुबै बेठीकहरूका नाम हुन् । ती एकलौटी मण्डले हुन्, यी बहुमण्डले हुन् । एकलौटी मण्डले भन्दा बहुमण्डले जनतन्त्र पट्टी एक पाइलासम्म अगाडि हुन् । जनतन्त्र भनेको जनसाधारण हरेकले जम्मै जनसाधारणको हितका भाव, विचार, ब्यवहारै नगरिकन चाहिँ हुनेवाला छैन !
० यो मशाल, जनमोर्चा आदि भन्नेले पनि जनतन्त्र ल्याउने कुरा गरेको सुनिन्छ, तपाईंले भनेको र उनीहरूले भनेको जनतन्त्र एउटै हो कि के हो ?
– होइन । ती जाली फटाहा मध्येमा पर्छन् ।
० तपाईं आफूबाहेक ठीक राजनीति गर्ने मानिस अरु कोही यो नेपालमा छैनन् भन्ने ठान्नुहुन्छ, हो ?
– ठीक राजनीति जसलाई चाहिनुपर्ने हो, तिनीहरू नै मान्छे शुरु भएका छैनन । जीविका गर्ने, जन्माउने प्राणी काम, सत्य र ठीक फैलाउने मान्छे काम । जसलाई मान्छे काम चाहिएको हो, ती प्राणी काम मात्रै गरेर बसिरहेका छन् । तिनलाई म कसरी ठीक भनौँ ?
० तपाईं आफू बाहेक अन्य सबैकाप्रति नकारात्मक दृष्टिकोण मात्र राख्नुहुन्छ ?
– किन सबैका प्रति नकारात्मक सकारात्मक दृष्टिकोण राख्नु ? कसैकाप्रति नकारात्मक या सकारात्मक दृष्टिकोण राख्ने त जागिरे या भाडाका मान्छेको काम हो । चिज जस्तो देखियो, उस्तै भन्ने हो । मोटरमा हेर्न गयो भने ड्राइभर कम्युनिष्ट नहुने, त्यो मोटरमालिक चाहि कम्युनिष्ट हुने, खेतमा हेर्न गयो भने कुत खानेचाहिँ कम्युनिष्ट हुने, जोताहा कम्युनिष्ट होइन । रिक्साचालक कम्युनिष्ट होइन, रिक्सा चढ्नेचाहिँ कम्युनिष्ट ! सानो कर्मचारी कम्युनिष्ट होइन हाकिम कम्युनिष्ट ! साहुको नोकर कम्युनिष्ट होइन साहुचाहिँ कम्युनिष्ट ! यो कुन जाली फटाहा तरिका परेको छ कम्युनिष्टलाई ! यिनै जाली फटाहा कम्युनिष्टमध्येमा सामेल हुन खोजिएन । मसङ्ग राजनीतिक सिद्धान्त नमिलेपनि टंकप्रसाद आचार्य, खड्गमान सिंह यो देशका होनहार तपश्वीहरू हुन् । यहाँका प्रभावशाली मान्छे र जनसाधारणबाट तिरष्कृत भइ बाँचेर उनीहरू मरे । डिल्लीरमण रेग्मी अर्का तपश्वी हुन् जो त्यसैगरी जाँदैछन् ! यहाँका प्रभावशाली मान्छे र जनसाधारणलाई चाहिएको कुनै न कुनै प्रकारको जोगे नै जोगे मात्र रहेछ !
० अनि तपाईंले बीपी, गणेशमान, मदन भण्डारी आदिहरूको त नामै लिनुभएन नि !?
– बीपी विदेशीहरूले उठाएर बीपी भएका हुन् । गणेशमान सिंह राजनीतिक सैद्धान्तिक मानिस होइनन्, कुन कारणले उनी राजनीतिमा पुगेछन् ! तर विरोधी एवम् षड्यन्त्रकारीहरूको जालमा पर्न र घुमिरहन मन नपराउने विद्रोही भने गणेशमान अवश्य हुन् । चोट्टा र ठगहरूको शृङ्गारपटारको साधन बन्न नमान्ने मान्छे गणेशमान हुन् । अर्का मनमोहनजी पनि छन्, उनलाई एकप्रकारले गणेशमानजीको तहमा लिने गरेपनि र लिने नगरेपनि मनमोहनजी आफूलाई मननपरेका विरोधीहरूको श्रृङ्गारपटारको साधन नै भैदिने, यसरी पनि जीवनको सदुपयोग बढी हुन्छ कि भन्ने प्रकारमा मनमोहनजी लाग्नुभयो । मदन भण्डारीलाई पनि म राजनीतिक सैद्धान्तिक मानिसका रूपमा म बुझ्दिनँ । उनका नामबाट आएका दुईवटै चिज मात्र पाउँछु म । एउटा, राजाले श्रीपेच फुकालेर मदन भण्डारीसङ्ग चुनाव लड्न आए हार्नेछन् भनेको कुरा र अर्को, बहुदलीय जनवाद । उनको परिचयको नाममा धेरै मान्छेले जपिरहेको कुरा यही दुई वटा देख्छु । यी दुवै दोषग्रस्त रूपमा पाउँछु । राजाले श्रीपेच फुकालेर मसङ्ग चुनाव लड्न आउनु भनेर भण्डारीले भनेपछि राजा दङ्गदास ! श्रीपेचको सम्मान गरिस् भनेर उनले स्याबासी पाए । श्रीपेच नभएपछि वीरेन्द्र मात्र भनेको त एक ब्यक्ति हुन् । त्यसैले श्रीपेचको सम्मान गरेकोमा राजाले स्याबासी दिए । कार्यकर्ताले के–के न गरे भनेर जपे । उसङ्ग प्रतिष्पर्धा गर्न खोजिरहेका राप्रपा, काङ्ग्रेस भन्नेहरूले भण्डारीलाई जितेर अरु केही भन्न पनि सकेनन्, अक्क न बक्क भएर बसे । यो बकम्फुसे कुरा हो । कम्युनिष्ट कुरा त राजा तिम्रो पछाडि भोट कति छन् हेर्ने ? श्रीपेच लगाएर चुनावमा आउ तिम्रो र मेरो भोट कति भनेको भए कम्युनिष्ट हुन्थ्यो । यस्तो फट्याइँपूर्बक आएको कुरालाई के महत्व दिनु ? अर्को बहुदलीय जनवाद भनेर के भनेको हो ! यो कम्युनिष्ट सिद्धान्तबाट नितान्त बाहिरको कुरा हो ।
० प्रजातन्त्र स्थापनापछिको नेपालमा तपाईंले राजा, काङ्ग्रेस, कम्युनिष्ट र राप्रपामध्ये अपेक्षाकृत कसको भूमिका राम्रो पाउनुभएको छ ?
– राजालाई केही भनिरहनुपर्ने कुरा भएन, राजाको आफ्नो क्रियाकलाप त हुने नै भैगए ! तर देखावटी रूपमा संवैधानिक राजतन्त्र यहाँ छ, तिनलाई केही भनिहाल्नुपर्ने म ठान्दिनँ । काङ्ग्रेस, कम्युनिष्ट र राप्रपामध्ये कुन कम्ति खराब भन्न पनि सक्नुभएन तपाईंले, भन्न खोजेको त्यही नै हुनुपर्छ । यही बेठीक संविधानको मस्यौदाकार र हस्ताक्षरकारी यिनीहरू, यही संविधानअन्तर्गत यिनीहरू सरकार बनाउन चाहने, यिनिहरूलाई छुट्ट्याइरहनुपर्ने कुरा केही पनि छैन । राप्रपाले गर्ने क्रियाकलाप तीस वर्ष हेरियो, काङ्ग्रेसको पनि हेरियो, सत्तामा पुगेपछि काङ्ग्रेस भन्दा डेढ काङ्ग्रेस एमाले, राप्रपा भन्दा डेढ राप्रपा पनि एमाले भन्ने पारा पनि यसैले भ्याएको छ । होइन, काङ्ग्रेस र राप्रपाको विरोधी पनि एमाले नै हो, अरु कोही होइनन् भन्न पनि यसैले भ्याएको छ । एमाले जति झुठ र बेठीक गर्छ, नोट र भोट पनि त्यत्ति नै बढाउँदै लगिरहेको छ । यहाँका जनसाधारण पनि त्यस्तै, अहिलेसम्म यिनीहरूकै फलिफाप हुँदै गइरहेको छ ।
० आगामी चुनावपछि बन्ने संसदमा कसको बहुमत आइदिए हुनेथियो भन्ने पक्षमा तपाईं हुनुहुन्छ ?
– त्यस्ता कोही छैनन् । गासेगुसे सबै एकै नासे ! जो बहुमतमा आउनुपर्ने थियो त्यसको गर्भै रहन सकेन । तेरो टाउको फोड्ने फोड्ने, घनले फोड्ने कि ढुङ्गाले फोड्ने कि ईंटाले फोड्ने हो तैं रोज् भनेजस्तो प्रश्न के गर्नुहुन्छ ? रोजिछाडी गर्ने विषय छैन यहाँ !
० प्रजातन्त्र स्थापना भएको पाँच वर्ष नबित्दै तेस्रो आम निर्वाचन हुने स्थिति बनिसकेको छ, यसरी पटकपटक मध्यावधि निर्वाचन गराउने स्थिति बन्नुमा तपाईं केको या कसको दोष देख्नुहुन्छ ?
– दोष भनेर के भन्ने ! यो साधारण स्वभाविक कुरा हो । यो शत्रुदास मन्त्रिमण्डल एमालेले करिब ६ महिना चलायो ।
० शत्रुदास भनेको के हो नि ?
– राप्रपा यसको शत्रु, काङ्ग्रेस यसको शत्रु, यी दुबैको दास भएर एमालेले मन्त्रिमण्डल बनायो र ६ महिना चलायो पनि, उनीहरूले जति–जे गराउनुपर्ने गराइसकेपछि लात्ताले हानेर फाल्न खोजे, एमालेले पनि मध्यावधि हिर्काउने भनेर हिर्कायो, यो सामान्य खेल हो ।
प्रतिक्रिया