सर्जक शेखरको नयाँ कृति सार्वजनिक

सर्जक शेखरको नयाँ कृति सार्वजनिक


स्वदेशप्रेमी लेखक एवम् साहित्यकारको परिचय बनाउनुभएका शेखर ढुङ्गेलले नयाँ कृति प्रस्तुत गर्नुभएको छ । यसपटक उहाँको कलम कवितामा चलेको छ र ‘मृत्यु उत्सव’ नाममा उहाँले सार्वजनिक गर्नुभएको कविता सङ्ग्रहमा विभिन्न त्रियासी कविताहरू समेटिएका छन् ।

ढुङ्गेलका कतिपय कविता ब्यङ्ग्यात्मक छन्, बेथिति र अनियमितताविरूद्ध उहाँका ब्यङ्ग्य कविता बेजोड छन् । केही कविता सामाजिक परिवेशकेन्द्रीत छन् भने केही अध्यात्म, जीवन र मानवीय ब्यवहारसङ्ग सम्बन्धित छन् । ‘मृत्यु उत्सव’ कविता सङ्ग्रह वास्तवमै पठनीय र स्मरणीय रहेको छ ।

‘मृत्यु उत्सव’को विमोचन यसैसाता काठमाडौंमा एक समारोहका बीच गरिएको छ । साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित कार्यक्रममा मदनदाश श्रेष्ठ, राधेश्याम लेकाली, बुलु मुकारुङ आदि लगायत प्रतिष्ठित लेखक एवम् सर्जकहरूले पुस्तकको सार्वजनिकीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा कविहरू मणि लोहनी र गीता कार्कीले चुनिएका केही कविताहरू प्रस्तुत गर्नुभएको थियो । नरहरि प्रेमीले निकै रोमान्चक ढङ्गले सन्चालन गर्नुभएको उक्त समारोहमा केही सर्जकहरूले शेखरका कृतिमा केन्द्रीत रहेर आ-आफ्नो मन्तब्य राख्नुभएको थियो ।

सर्जक शेखर ढुङ्गेलका यसअघि शेखरका शय कविता, कहाँ छ मेरो देश, क्षितिज पारीका सपनाहरू, माटोको सुगन्ध, सय रूपैयाँको नोट र भैरव रिसाल, जात, यात्रा सस्मरण, परिवर्तनका लागि विवेकशिलता, आकाङ्क्षा, सम्झना र कुनैदिन लगायत अनेकौँ फुटकर कृतिहरू प्रकाशित भैसकेका छन् ।