- विशेष प्रतिनिधि, जापान
जापानमा एक नेपाली युवकको दुःखद निधन भएको छ । बैतडीका रमेश बहादुर चन्दको हृदयघातका कारण निधन भएको जानकारी प्राप्त भएको छ ।
चन्द करिब १८ महिनाअघि पारिवारिक भिसामा जापान आएका थिए । उनी टोकियोको अदाची सिटी क्षेत्रमा श्रीमतीसँग बस्दै आएका थिए । अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा हृदयघातका कारण उनको निधन भएको जनाइएको छ । साथै उनलाई दिमागी नसासम्बन्धी समस्या पनि रहेको बुझिएको छ ।
यसबीच सुदूरपश्चिमेली नेपाली समाज जापानले टोकियोमा निधन भएका बैतडी घर भएका नेपाली नागरिक रमेश बहादुर चन्दको पार्थिव शरीर नेपाल पठाउन आर्थिक सहयोगको अपिल गरेको छ ।
घटनापछि परिवार शोकमा डुबेको भन्दै पार्थिव शरीर नेपाल पठाउने तथा अन्तिम संस्कार व्यवस्थापनका लागि आर्थिक कठिनाइ उत्पन्न भएको समाजले जनाएको छ । मृतकका परिवारजनको अनुरोधपछि सुदूरपश्चिमेली नेपाली समाज जापानले सहयोग संकलन अभियान सुरु गरेको बताइएको छ।
समाजले जापानमा रहेका नेपाली संघसंस्था, सुदूरपश्चिमेली दाजुभाइ तथा विश्वभर रहेका नेपाली समुदायलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ । सहयोग अभियान एक हप्तासम्म सञ्चालन गरिने जनाइएको छ ।
समाजका पदाधिकारीहरूले विदेशमा नेपालीले भोग्ने कठिन परिस्थितिमा एकअर्काको साथ र सहयोग अत्यन्त आवश्यक हुने भन्दै सक्दो सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।
प्रतिक्रिया