कालो रंगमा बालेन्द्रको कस्तो मोह !

कालो रंगमा बालेन्द्रको कस्तो मोह !


प्रधानमन्त्री बालेन्द्र साहको कालो रंगमा मोह रहेको सबैले महसूस गर्दै आएको कुरा हो । उनले हरदम जसो पहिरिने कपडाको रंग र चस्मासमेत कालै रहने गर्दछ । उनी काठमाडौं महानगरपालिकाको मेयरहुँदै प्रधानमन्त्रीको ओहदासम्म आइपुग्दा नेपाली जनताले उनलाई कालो कपडा र कालो चस्मामै देख्दै आएका छन् । तत्कालिन गठबन्धनको सरकार जसको नेतृत्व एमालेका केपी ओलीले गरेका थिए, उक्त सरकारको विरुद्ध जेन्जी पुस्ताले आन्दोलन गरेको थियो भने सो आन्दोलनकै बलमा प्रधानमन्त्री बनेका बालेन्द्रले कालो कपडा र कालो चस्माको मोह बढाएको प्रतीत हुन्छ । तर, सरकारको विरोध गर्नुपर्दा विरोधिहरुले कालो झन्डा देखाउने गरेका छन् । गणतन्त्रिक संविधान घोषणा हुँदैगर्दा त्यही दिनलाई कालो दिन भनेर भन्ने केही समुह पनि छन् ।

कालो रंगलाई विरोधको प्रतीकका रुपमा लिने गरिन्छ । उज्यालोको विरोधि हो कालो रंग । २०१७ साल पौष १ गतेलाई पनि कालो दिन भनिन्छ । दरबार हत्याकण्डको दिनलाई पनि कालो दिन भनेर सम्झिने गरिएको छ भने २०७२ सालको भूकम्पलाई पनि कालो दिनको रुपमा लिने गरिन्छ । अर्थात्, नकरात्मक शक्ति बोध कालै रंगमा छ र हुन्छ भनिन्छ । प्रकाशको पुर्ण अनुपस्थितिमा नै अन्धकार (कालो) हुन्छ । सामान्यतया कालो रंगले हिंसा, द्वेष, विद्रोह, रहस्य र दुःखलाई संकेत गर्छ । पश्चिमी र विशेषगरी अमेरिकीहरुले काला जातिलाई राम्रो मान्दैनन्, विभेद गरेको देखिन्छ । कैयन सार्वजनिक विज्ञापनहरु त ‘तपाईंको कालो छालालाई गोरो बनाउने मलम’ भनेर पनि आएको देखिन्छ । ज्योतिषीय दृष्टिमा सपनामा देखिने कालो रंगलाई शुभ मानिदैन । कालो काग, कालो भैंसी लगायत काला बस्तुहरु सपनामा देख्नु शुभ मानिदैन । यसरी कालोलाई नराम्रै मानिन्छ ।

तर, काली (देवी)को साधना गर्ने र शनी साधना गर्नेहरु कालै पोषाकमा हुन्छ्न् । धेरै तन्त्र-साधनामा कालो कपडा नै प्रयोग गर्ने गरिन्छ र, यसै रंगलाई शुभ वा सिध्दिकारक मान्छन् । आध्यात्मिक तन्त्र-साधकहरु कालो रंगकै पोशाक प्रयोग गर्छन् । अदृष्य शक्ति साधनामाको तन्त्रमा कालो कपडाको पोषाक भएपनि राजनीतिक तन्त्रमा कालो रंग अत्यन्त न्युन प्रयोग हुने गरेको छ । यसकारण राजनीतिमा कालो रंगलाई नकरात्मक रुपमा लिइन्छ । विधिको विपरीत हुने प्रक्रिया नै कालो रंगमा हुन्छ । लोकतन्त्र र स्वतन्त्रताको सुरक्षाको लागि यो रंगलाई राम्रो मानिदैन ।

प्रधानमन्त्री बालेन्द्र साहले आफ्नो शपथ ग्रहण समारोहमा हिन्दु सनातन धर्मका केही बटुक र बौध्द धर्मावलम्बीहरुबाट स्वस्तिवाचन गर्दै शपथ ग्रहण गर्दा समेत राष्ट्रिय पोषाकमा उपस्थित नभएर कालो रंगकै पोषाक र कालो चस्मामा देखिएका थिए । यो शुभ कार्यमा समेत उनको कालो रंगको मोह अझ बढी देखिएको थियो । प्रधानमन्त्रीको कालो रंगप्रतिको यो मोहले भय पैदा गराउँछ । अहिले वर्गीय संगठनहरु खारेज गर्ने, ट्रेड युनियन खारेज गर्ने, संचारक्षेत्रलाई उपलब्ध गराउँदै आएको विज्ञापनमा रोक लगाउने, संवैधानिक परिषदको नियमावली आफ्नो अनुकुल हुने गरी संशोधन गर्ने, नीति तथा कार्यक्रम राष्ट्रपतिवाट वाचन हुदै गर्दा उठेर हिँड्ने, यो पनि कालो रंगको मोहको प्रभावले नै देखिएको हो कि भन्ने लाग्छ ।

अझ आफ्नै क्याविनेटबाट निर्णय गरी अधिवेशन आव्हान गर्न राष्ट्रपतिकहाँ पठाएको निर्णयको प्रतिकुल हुनेगरी तत्काल पुनः अधिवेशन स्थगनको निर्णय गरेर राष्ट्रपतिसमक्ष पठाउनु र धमाधम अध्यादेश जारी गर्नु संसदको सर्वोच्चताको अवहेलना मात्र नभइ संसदप्रति नै बालेन्द्रले विश्वास नगरेका आभास ह्न्छ ।

मौजुदा राजनीतिक व्यवस्थाविरुध्द बालेन्द्र साह गए भने पनि उनको शैली र कालो रंगको मोह विचार गर्ने हो भने वर्तमान राजनीतिक व्यवस्थाविरुध्द त छैनन् भन्ने आशंका पैदा हुन्छ । यदि यस्तो भयो भने कुनै आश्चर्य मान्नु पर्दैन । कालो रंग भनेकै विद्रोह हो । अहिले सुकुम्बासी बस्तीमा डोजर आतंक पैदा गरिनु यसैको परिणाम हो भन्दा अत्युक्ति ठहरिने छैन ।

यतिबेला प्रधानमन्त्री बालेन्द्र साहको कालो रंगको कालो छाया रास्वपा र त्यस पार्टीका अध्यक्ष रवि लामिछानेमाथि समेत परेको छ । छायामा परेको कुनै पनि विरुवा फस्टाउँदैन भनेझैँ रास्वपा र अध्यक्ष लामिछानेमा प्रधानमन्त्री साहको छाया परेको छ । केही महिनाभित्र हुने भनिएको रास्वपाको अधिवेशनबाट प्रधानमन्त्री बालेन्द्र नै अध्यक्ष भए भने पनि त्यही कालो रंगको परिणाम हो भनेर बुझ्दा हुन्छ । अस्तु !