सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न

सेनाद्वारा रक्षा संवाददाता अभिमुखीकरण सम्पन्न


यही वैशाख २८ गतेदेखि नेपाली सेनाको भद्रकालीस्थित जङ्गी अड्डामा सञ्चालन भएको चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ आज (३१ वैशाख) सम्पन्न भएको छ ।

समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागिता जनाएका २९ सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सोही अवसरमा विगत लामो समयदेखि काठमाडौं तथा आसपासका जिल्लामा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्ने पाँच वटा एफएम रेडियो स्टेशनलाई सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको थियो ।

अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई नेपाली सेनाको विविध विषयमा जानकारी गराउनुका साथै विपद् प्रतिकार्य एवं समसामयिक विषयमा अन्तरक्रिया गराइएको थियो । सो अभिमुखीकरणबाट देशका विभिन्न स्थानमा कार्यरत सञ्चारकर्मीलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा सहजता एवं स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।