अग्निपीडितलाई युवा समाजसेवी चौधरीको सहयोग

अग्निपीडितलाई युवा समाजसेवी चौधरीको सहयोग


  • रविन्द्र यादव, पश्चिम नवलपरासी

​विपदले मानिसको ओत मात्रै खोस्दैन, जीवनभरको कमाइ र सपना पनि खरानी बनाइदिन सक्छ । गत वैशाख ८ गते भएको भीषण आगलागीको घटनाले एउटा सिङ्गो बस्तीलाई नै शोकमा डुबायो । टाटीले छाएका १२ वटा कच्ची घरहरू हेर्दाहेर्दै खरानी भए, जहाँ करिब ५० लाख बराबरको धनमाल नष्ट भयो ।

​अहिले बर्खाको समय सुरु भइसकेको छ । घर जलेर खरानी भएपछि बर्षातको बेलामा पनि खुल्ला आकाशमुनि सुत्न बाध्य पीडित परिवारहरूको कारुणिक अवस्था देख्दा जो-कोहीको मन रुन्छ । चिसो भुइँ र झरीको बाछिटा सहेर रात काट्नुपर्ने उनीहरूको बाध्यतालाई मध्यनजर गर्दै युवा समाजसेवी राजेश प्रसाद चौधरीले उदाहरणीय सहयोग गरेका छन् ।

​पीडितहरू पालको सहारामा कष्टकर जीवन बिताइरहेको दृश्य देखेपछि चौधरीले तत्कालै सहयोगको हात अगाडि बढाए । उनले आफ्नो व्यक्तिगत खर्चमा प्रति घरधुरी ८ वटाका दरले जस्तापाता उपलब्ध गराएका छन् । जसमा, आगलागीबाट पीडित १२ परिवार र थप एक स्थानीय विपन्न परिवार गरी कुल १३ घरधुरी लाभान्वित भएका छन् ।

‘विभिन्न संघ/संस्थाहरूले सहयोग गरे पनि स्थलगत निरीक्षणका क्रममा पीडितहरू अझै खुल्ला आकाशमुनि सुत्न बाध्य भएको देखेँ, उनीहरूको अस्थायी आवास निर्माणमा केही सहज होस् भनेर मैले यो व्यक्तिगत प्रयास गरेको हुँ’, समाजसेवी चौधरीले भने ।

​बाध्यता हटाउने सारथी : चौरको पढाइदेखि घरको ओतसम्म

​समाजसेवा र राजनीतिमा सक्रिय युवा नेता चौधरी प्रतापपुर र सुस्ता क्षेत्रमा ‘समस्या समाधान गर्ने नेता’का रूपमा लोकप्रिय छन् । उनको यो सेवाभाव आजको मात्र होइन, यसअघि पनि यस क्षेत्रका विभिन्न विद्यालयहरूमा कोठा अभावका कारण विद्यार्थीहरू खुल्ला चौरमा बसेर पढ्न बाध्य हुन्थे । विद्यार्थीको त्यो कष्ट र बाध्यतालाई अन्त्य गर्न चौधरीले विभिन्न संघ/संस्थाहरूसँग पहल र समन्वय गरेर विद्यालयका भवन तथा कक्षा कोठाहरू निर्माण गरिदिएका थिए ।

​विद्यालयमा चौरको पढाइ अन्त्य गरेझैँ अहिले अग्निपीडितको खुल्ला आकाशमुनिको बसाइ अन्त्य गर्न उनी अहोरात्र खटिएका छन् । यसअघि पनि उनले विपन्न समुदायका लागि घर निर्माण गरिदिने जस्ता प्रशंसनीय कार्यहरू गरिसकेका छन् ।

​विपदमा सबैको साथ आवश्यक

​राहत सामग्री हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष रमेश बानिया, समाजसेवी विनोद ठाकुर, राजेश्वर सिंह चौधरी, नेवास हजाम, आदित्य पाल लगायत स्थानीयहरूको उपस्थिति थियो । राहत वितरण गर्दै चौधरीले भने, ‘विपदको यो घडीमा हामी सबैले पीडितको साथ दिनुपर्छ । उहाँहरूको पूर्ण पुनःस्थापनाका लागि अझै थप सहयोगको आवश्यकता छ ।’

​आफ्नो सर्वस्व गुमाएर निराश बनेका पीडित परिवारहरूले कठिन परिस्थितिमा जस्तापाता प्राप्त गरेपछि अब बर्खाको पानीबाट बच्न पाइने आशमा ठूलो राहत महसुस गरेका छन् ।