मन्त्रिमण्डलभित्रै छाया प्रधानमन्त्री !

मन्त्रिमण्डलभित्रै छाया प्रधानमन्त्री !


प्रधानमन्त्री जस्तो उच्च कार्यकारी पदीय जिम्मेवारीमा पुगेपछि पनि बालेन्द्र साहले आफूलाई बदल्न नसकेपछि उनको सर्वत्र आलोचना भइरहेका बेला मन्त्रिमण्डलभित्रै प्रधानमन्त्रीको जस्तो ब्यवहार गर्ने एक मन्त्री फेला परेका छन् । अन्य मन्त्रीझैँ एउटै मन्त्रालयको जिम्मेवारी पाएका भएपनि उनले अर्थ र गृहलगायत सबै मन्त्रालयका काममा हस्तक्षेप गर्ने, निर्देशन दिने र निगरानी गर्ने गर्दै आएका छन् ।

ती मन्त्रीका कारण हैरान बनेका स्वर्णिम वाग्लेले ‘यस्तै हो भने मन्त्रीको जिम्मेवारीमा रहेर काम गर्न नसकिने’ भन्दै घुर्की लगाउनुपरेको थियो । वाग्लेले घुर्की लगाएपछि बालेन्द्रले जरुरी काम पर्दा आफूसम्म आइपुग्न सक्ने ब्यवस्था गरिएको छ ।

यसरी अर्थ मन्त्रालयको दैनिक कार्यमा मात्र ती मन्त्रीले हस्तक्षेप गरेका होइनन्, उनले गृह मन्त्रालय र मातहतको निकायका पदाधिकारीहरूलाई समेत अवान्छित र गैरकानूनी निर्देशन दिएर हैरान पार्ने गरेका छन् । उनकै आदेशमा प्रहरीले ख्यातिप्राप्त ब्यवशायी रमेश शर्मालाई गिरफ्तार गरेर मन्त्रालयमा बुझाएको थियो । यसरी ब्यवशायीहरूलाई अनुचित किसिमले सताउन थालेपछि त्यसको असर सिधै प्रधानमन्त्रीमा परेको छ ।

प्रधानमन्त्री जस्तै बनेर सबै मन्त्रालयमा चासो राख्ने मन्त्री हुन् सुनिल लम्साल । बालेन्द्र साहसँग सङ्गै पढेका बताइने सुनिल लम्साल रुपन्देहीमा जन्मिएका हुन् । बालेन्द्रको हरेक क्रियाकलापमा साथ दिँदै आएका लम्सालको नाम पहिले गृहमन्त्रीका रूपमा चर्चामा आएको थियो । तर अदृष्य शक्तिको योजनामा पानी बाँड्ने केटोका रूपमा समेत चिनिने सुधन गुरुङ्गलाई नै गृहमन्त्री बनाउने दबाब भएपछि बालेन्द्र सुनिललाई भौतिक योजना मन्त्री बनाउन बाध्य भएका थिए । अनेकौँ काण्डहरूमा संलग्न रहेका बताइने सुधन गुरुङ पद त्याग गर्न बाध्य भएपछि भौतिक योजना मन्त्रालयबाट गृहमन्त्रालय सञ्चालनको प्रयास हुँदै आएको छ । सशस्त्र प्रहरी श्रोतका अनुसार लम्सालले सीमा नाकाहरूमा कडाइ गर्न, शय रूपैयाँ भन्दा बढीको सामान ल्याएर छल्न खोजेमा त्यस्ता ब्यक्तिलाई घुँडामुनि गोली चलाउन र अवैध सामाग्रीको तस्करीमा संलग्नहरूलाई भने छातीमै ताकेर गोली चलाउन ‘आदेश’ दिएको बुझिएको छ । लम्सालले पहिले साशन सत्तामा रहेका सबैलाई धमाधम पक्राउ गर्न पनि आदेश दिएका छन् ।

लम्सालले परराष्ट्र मामिलाको काममा समेत दखल दिन थालेकोले परराष्ट्रमन्त्री शिशिर खनाल क्षुब्ध हुन पुगेको बताइन्छ । अन्य मन्त्रीहरू भने बालेन्द्रको ‘खास साथी’ले दिएका आदेशलाई प्रधानमन्त्रीकै इच्छा अनुरुप भएको ठान्दै चुपचाप स्वीकार गरिरहेका छन । ज्ञातब्य छ, सुनिल लम्साल बालेन्द्रको ‘जिग्री’ रहेकोले उनी बालेन्द्रलाई घुमाउन सक्ने तीनमध्ये एकमा पर्दछन् । तर उनको कार्यशैलीले मन्त्रीहरू र राज्य संयन्त्रसम्वद्ध उच्चाधिकारीहरू भने हायलकायल भएका छन् ।