ब्राजिलस्थित नेपाली राजदूतावास : दक्षिण अमेरिकामा नेपालीहरूको भरोसा, पर्यटन कूटनीति र राष्ट्रिय उपस्थितिको महत्वपूर्ण आधार

ब्राजिलस्थित नेपाली राजदूतावास : दक्षिण अमेरिकामा नेपालीहरूको भरोसा, पर्यटन कूटनीति र राष्ट्रिय उपस्थितिको महत्वपूर्ण आधार


  • सरोज अर्याल, सान्टियागो (चिली)

दक्षिण अमेरिकाभरि छरिएर बसेका नेपालीहरूको संख्या धेरै ठूलो नभए पनि उनीहरूको उपस्थिति दिनप्रतिदिन विस्तार भइरहेको छ । विशेषगरी ब्राजिल, चिली, अजेन्टिना, पेरु, बोलोबिया, कोलम्बिया कोस्टारिका लगायतका देशहरूमा अध्ययन, व्यवसाय, पर्यटन, पर्वतारोहण, सांस्कृतिक आदानप्रदान तथा रोजगारीका माध्यमबाट नेपाली समुदाय विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा ब्राजिलस्थित नेपाली राजदूतावास केवल एउटा कूटनीतिक कार्यालय मात्र होइन, सम्पूर्ण ल्याटिन अमेरिकामा रहेका नेपालीहरूको भरोसाको केन्द्र बनेको छ ।

ल्याटिन अमेरिकाभरि नेपालका अन्य राजदूतावास वा वाणिज्य दूतावासहरू अत्यन्त सीमित अवस्थामा रहेका बेला ब्राजिलस्थित नेपाली राजदूतावासले बहुआयामिक भूमिका निर्वाह गरिरहेको छ । पासपोर्ट नवीकरण, आपत्कालीन कागजात, कानुनी सहायता, नेपाली नागरिकको उद्धार, विद्यार्थी तथा पर्यटकलाई सहजीकरण, व्यवसायिक सम्पर्क विस्तारदेखि लिएर नेपालको सांस्कृतिक पहिचान प्रवर्द्धनसम्मका कार्यहरू यसै राजदूतावासमार्फत भइरहेको छ । त्यसैले ब्राजिलबाट नेपाली राजदूतावास हटाउने वा कमजोर बनाउने कुनै पनि कदम दक्षिण अमेरिकामा रहेका नेपालीहरूको भावनामा गम्भीर चोट पुग्ने विषय बन्न सक्छ ।

विशेषगरी चिलीमा पछिल्ला वर्षहरूमा हिमाल, ट्रेकिङ र साहसिक पर्यटनप्रति आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ । हरेक वर्ष चिलीबाट मात्रै चार–पाँचभन्दा बढी पर्वतारोहण समूह नेपाल पुगेर माउण्ट एभरेष्टलगायतका हिमाल आरोहणमा सहभागी भइरहेको तथ्यले नेपालप्रति ल्याटिन अमेरिकी नागरिकहरूको आकर्षण स्पष्ट देखाउँछ । केवल सगरमाथा मात्र होइन, अन्नपूर्ण क्षेत्र, लाङटाङ, सांस्कृतिक सम्पदा, बौद्ध तीर्थस्थल र आध्यात्मिक पर्यटनप्रति समेत उनीहरूको चासो बढ्दै गएको छ ।

यस्तो अवस्थामा ब्राजिलस्थित नेपाली राजदूतावासले पर्यटन कूटनीतिमा अत्यन्त ठूलो भूमिका खेल्न सक्छ । दक्षिण अमेरिकाका विभिन्न देशहरूमा नेपालको पर्यटन सम्भावना प्रचार गर्ने, ट्राभल एजेन्सीहरूसँग सहकार्य गर्ने, पर्वतारोहण सम्बन्धी जानकारी उपलब्ध गराउने, नेपाली संस्कृति र खानाको प्रवर्द्धन गर्ने तथा बुद्ध जन्मभूमि नेपालको अन्तर्राष्ट्रिय छवि विस्तार गर्ने कार्य राजदूतावासमार्फत प्रभावकारी रूपमा गर्न सकिन्छ ।

नेपाललाई केवल हिमालको देश मात्र नभई शान्ति, अध्यात्म, संस्कृति र प्रकृतिको अनुपम संगमका रूपमा चिनाउन ल्याटिन अमेरिका ठूलो सम्भावना बोकेको क्षेत्र हो । यहाँका नागरिकहरू नयाँ संस्कृति, आध्यात्मिक अनुभव र साहसिक यात्राप्रति निकै आकर्षित हुने भएकाले नेपालले दीर्घकालीन पर्यटन रणनीतिमा ल्याटिन अमेरिकालाई प्राथमिकतामा राख्न आवश्यक देखिन्छ । त्यसका लागि ब्राजिलस्थित नेपाली राजदूतावास एउटा प्रमुख ढोका हो ।

राजदूतावासको उपस्थितिले केवल सरकारी सम्बन्ध मात्र मजबुत बनाउँदैन, यसले नेपाली समुदायलाई आत्मबल पनि दिन्छ। विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि आफ्नो देशको झण्डा फहरिएको कार्यालय हुनु नै भावनात्मक सुरक्षा हो । संकटका बेला साथ दिने संस्था, आफ्नो भाषा बोल्ने ठाउँ, आफ्नो संस्कृतिलाई प्रतिनिधित्व गर्ने आधिकारिक निकाय — यही नै राजदूतावासको वास्तविक महत्व हो ।

विशेषज्ञहरूका अनुसार नेपालले अब परम्परागत कूटनीतिभन्दा बाहिर निस्केर “पर्यटन कूटनीति”, “सांस्कृतिक कूटनीति” र “जनसम्पर्क कूटनीति”लाई प्राथमिकता दिनुपर्ने समय आएको छ । दक्षिण अमेरिकामा नेपालको उपस्थिति बलियो बनाउन सके भविष्यमा पर्यटन, व्यापार, शिक्षा र अन्तर्राष्ट्रिय सहकार्यका नयाँ ढोकाहरू खुल्न सक्छन् ।

यसकारण ब्राजिलस्थित नेपाली राजदूतावासलाई कमजोर बनाउने होइन, अझ सशक्त र स्रोतसाधन सम्पन्न बनाउने आवश्यकता रहेको दक्षिण अमेरिकामा रहेका नेपाली समुदायको धारणा छ । नेपालीहरूको उपस्थिति सानो भए पनि उनीहरूको सपना, संघर्ष र मातृभूमिप्रतिको प्रेम ठूलो छ । उनीहरूको आवाज सुन्नु र उनीहरूको सुरक्षाका लागि कूटनीतिक उपस्थितिलाई मजबुत बनाउनु राज्यको दायित्व हो ।