राजनीति, आमाको सपना र नेपालवाद !

राजनीति, आमाको सपना र नेपालवाद !


विद्वानहरूले राजनीतिलाई राज्य संचालनको प्रमुख नीति अर्थात् राजा नीति मानेका छन् । राजा नीति भएकै कारण यसले अन्य सबै नीतिहरू को नेतृत्वसमेत गर्ने गर्दछ । समाज, राष्ट्र एवं अन्तर्राष्ट्रिय जगतसँगको सम्बन्धसमेत यसले नै दिशानिर्देश गर्ने हुँदा समग्र मानवजाती मात्र नभइ प्राकृतिक स्रोत-साधनमा समेत यसैको हैकम चल्ने गरेको हुन्छ । यही राजनीतिलाई दिशानिर्देश गर्न समयक्रममा विभिन्न दार्शनिकहरूले विभिन्न प्रकारका दर्शनहरूको प्रतिपादन गर्नुभएको इतिहाससमेत पाइन्छ । यिनै दार्शनिकहरूले समयक्रमलाई संचालन गरिरहन्छन् भन्नुमा अत्युक्ति नहोला ।

नेपाल अधिराज्यकै सन्दर्भमा भन्नुपर्दा जननायक विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको प्रजातान्त्रिक समाजवाद, जननेता मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, राष्ट्रवादी चिन्तक मोहन चापागाईंले प्रतिपादन गर्नुभएको नेपालवाद, रुपचन्द्र बिष्टले प्रतिपादन गर्नुभएको ‘थाहा’ आन्दोलन, राजेश्वर देवकोटाले प्रतिपादन गर्नुभएको उदारवाद आदि ‘वाद’हरू नेपाली माटोमा उब्जिएका मौलिक ‘वाद’हरू हुन् । यी नेपाली माटोमा उम्रिएका वादहरूको प्रमुख लक्ष्य नेपाल आमाको मुहारमा उज्यालो ल्याउने नै हुनुपर्छ । नेपाली जनताको भाग्य र भविष्य निर्माणको अभियानमा यी नेपाली ‘वाद’हरूले महत्वपूर्ण भूमिका निर्वाह गरी नेपाल र नेपालीको गौरव र गाथा विश्वभर फैलनुपर्नेमा हामी कहाँनेर चुक्यौँ या झुक्यौँ भन्ने अहम् प्रश्न पनि हाम्रासामू उभिएको छ ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देखेको राजा र प्रजाका विचको एकताको शक्ति, बहादुर शाहले थामेको बाबुबाजे, पूर्खाको बिँडोदेखि बी.पी., महेन्द्र, मोहनसमशेर आदिले बुझेको राष्ट्रवाद इतिहासमा किन र कसरी, कसको बलमा खण्डित हुनपुग्यो र हामी आजको दिनहीन अवस्थामा आइपुग्यौँ भन्ने कुराको इतिहासमा निर्मम समीक्षा गर्दै आजको असल बाटो पहिल्याउनुपर्ने सन्दर्भमा प्रजातान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद, थाहा आन्दोलन, नेपालवाद, उदारवाद आदि दर्शनहरू को तादात्म्यताको खोजी गर्दै पाइला चाल्नुपर्ने अवस्थाको अध्ययन, खोज, अनुसन्धान गर्नुपर्ने जरुरी रहेको छ ।

यी सबै ‘वाद’हरूको शिरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पृथ्वीपथ वा भनौँ दिव्योपदेश नै प्रमुख मार्गदर्शक सिद्धान्त नै हुन आउँछ भने त्यसलाई गुरु-कापी मानेर प्रतिपादन गरी ‘वाद’हरूले मात्रै नेपाल राष्ट्रको राजनीति र नेपाली जनताको सपना पूरा गर्नसक्छन् भन्ने हाम्रो ठम्याइ छ । मुलुकमा विगतको प्रजातन्त्र प्राप्तिको आधा सताब्दीभन्दा बढीमा प्रजातन्त्रसँगै विदेशी ‘वाद’हरू पनि हाबी हुन पुगे । समयक्रममा नेपाल राज्यको शासन व्यवस्थासमेत कहिले प्रत्यक्ष, कहिले परोक्षरुपमा उनैका निर्देशनमा पनि सञ्चालित भएहोलान् । त्यसैको परिणामस्वरुप हामी नेपाली ‘चुच्चे ढुङ्गो उही टुङ्गो’को स्थितिमा रहिरह्यौँ ।

तसर्थ, नेपाली आफैंले नेपालको हित गर्ने शासन व्यवस्था वा संचालन गर्ने हो भन्ने नेपालवादी नीति अख्तियार गर्नुको विकल्प छैन । त्यसो गर्न सकेमा मात्र नेपालको राजनीति सप्रिन्छ । आमाको मुहारमा उज्यालो आउँछ । आमाको सपना पूरा हुन्छ । हामी विश्वजगतमा स्वाभिमानी, स्वावलम्बी, वीर पूर्खाका सन्तती, नेपाली भएर बाँच्न पाउँछौँ । जय नेपालवाद !

(लेखक वी.पी. चिन्तन प्रतिष्ठानका केन्द्रीय सदस्य हुन् ।)