यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ । आयुर्वेदका अनुसार मखानाको सधैंजसो खाने गर्दा वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ । कामेच्छा बढाउँछ । महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ ।
- द्रोण अधिकारी, भद्रपुर (झापा)
धानको राजधानी भनेर चिनिने पूर्वी दक्षिणी झापाको कचनकवलमा नेपालमै पहिलो पटक मखना खेतीको थालनी गरिएको छ । हिलोमा फल्ने कमल प्रजातिको पोषक खाद्य तत्व भएको मखनाको खेती स्थानीय कृषक चन्द्र राजवंशीले शुरु गरेका हुन् । छिमेकी देश भारतको बिहारबाट सिकेर पहिलो पटक कचनकवल ४ केचनामा २० बिगाह क्षेत्रफलमा उनले मखना खेती थालेका छन् ।
१० वर्षका लागि प्रतिविगाह ३० मन धानको मूल्य अग्रिम तिरेर भाडाको जमीनमा राजवंशीले धान, मकैको ठाउँमा मखना रोपेका हुन् । फराकिला पातको माथिल्लो भाग पूरै काँडाले ढाकिएको मखना बैशाख अन्तिम साताबाट फुल्न शुरु गरी साउन अन्तिम साताबाट पाक्न थाल्ने लामो चक्र भएको खाद्य पदार्थ रहेको राजवंशीले जानकारी दिए ।
३९ वर्षीय राजवंशी २० वर्षयता कृषि व्यावसायमा जीवन चलाइरहेका भए पनि धान, मकै खेती तथा माछा पालनमा मात्र सीमित थिए । उनले नजिकै सिमाना जोडिएको भारतीय जमिनमा महँगो उत्पादन लिन सकिने मखनाको खेती नजिकबाट नियालेपछि राम्रो लाभ हुने आशमा पहिलो पटक नेपालमा मखना खेती भित्र्याएका हुन् ।
कसरी हुन्छ खेती ?
पौषबाट खनजोत गर्दै शुरू हुने मखनाले उत्पादन दिन भदौसम्म ८ महिना कुर्नुपर्ने हुन्छ । सुरूवातमा दर्जन बढी पटक खनजोत गरी मिहीन माटो मनाएर खेतका गह्रा सम्याउने, पानी राम्ररी जम्ने गरी बलिया आली लगाउने काम सकेपछि बिऊ वा विरूवा रोपेर पोखरी जस्तै अटुट पानी जमाउने गरिन्छ ।
मखनाको बिरूवा ठूला काँडेदार पातले भरिएका हुन्छन् । एउटा बोटमा सरदर ४ वटासम्म पात रहने गर्दछ । तिनै पातको बीचबाट फलका लागि फुल टुसाएर फक्रने गर्दछ । वैशाखको अन्तिम साताबाट टुसाएको फूलले असारभित्र पूर्ण फल लगाउँछ भने त्यसको दुई महिनाभित्र फल पाक्ने समय रहने कृषक राजवंशी बताउँछन् ।
राजवंशीले बिऊदेखि रोप्ने प्रविधिसम्म भारतबाट आयात गरेर खेती लगाउँदा करिब १४ लाख खर्च भइसकेको बताए । उनले उत्पादित मखना बिनाअवरोध भारततिर निकासी गर्न पाए प्रतिबिगाह ३ लाख हाराहारीमा नाफा कमाउन सकिने आँकलन गरेका छन् ।
बजार कहाँ छ ?
भारतीय सिमावर्ती क्षेत्रमा गरिएको मखनाखेतीको उपज बिक्री गर्ने बजार समेत भारतलाई आधार मानिएको छ । सरकारी स्तरबाट यो खेतीको कुनै पहिचान र सहयोग पनि नरहेका कारण सहज रूपमा भारतमा लगेर बेच्न पाइने हो कि होइन भन्नेमा कृषक भने चिन्तित छन् ।
अहिलेसम्म नेपाली भूमिमा यसखाले खेती नगरिएका कारण हेर्नकै लागि पनि धेरै मान्छेहरू चन्द्रको मखना खेतमा पुग्ने गरेका छन् । यो खेतीका कारण कचनकवलमा आन्तरिक पर्यटक समेत बढिरहेको सो क्षेत्रकी स्थानीय खुसी राजवंशीको भनाइ छ । प्रतिबिगाह ३० मन धानको मूल्य तिर्ने गरी दश वर्षका लागि भाडामा लिइएको धानखेतमा पानी जमाएर गरिएको मखना खेती सबैका लागि अनौठो व्यवसाय मानिएको छ ।
यसको महत्व के छ ?
पूजापाठमा पवित्र अन्नका रूपमा चढाइने प्रसादी मानिँदै आएको र भारतबाट आयात गरिने गरिएको मखनाको फल मानव स्वास्थ्यका लागि महत्वपूर्ण पौष्टिक तत्वका रूपमा लिइने गरिन्छ । भारतमा बालकालिका तथा वृद्धवृद्धाका लागि पनि मखनाका विभिन्न परिकार बनाएर खुवाइने गरिन्छ । यस कारण पनि यसको माग हरेक वर्ष बढ्दै जाँदा महँगो मूल्यमा बिक्री हुने गरेको छ ।
नेपाली बजारमा मखाना छ्यापछ्याप्ती भेटिन्छ । ठूला मार्टदेखि किराना पसलसम्म मखाना उपलब्ध छन् । खासगरी स्वास्थ्यप्रति सचेत व्यक्तिले यसलाई बढी रूचाइएको पाइन्छ । खानालाई फक्स नट, लोटस सीड र केही अन्य नामले पनि चिनिन्छ । यो कमलको प्रजातिमा पर्ने महत्वपूर्ण पोषक तत्व भएको फल हो । भारतको बिहारमा मखाना सबैभन्दा बढी उत्पादन गरिन्छ । लगभग ९० प्रतिशत मखानाको उत्पादन बिहारमा हुन्छ । मखाना संकलन गर्ने सुकाउने र भण्डारण गर्ने प्रक्रिया निकै लामो र झञ्झटिलो हुन्छ । मखानालाई ‘अर्गानिक खाद्य’ भनिन्छ किनभने यसलाई रासायनिक मल वा कीटनाशक विषादीको उपयोगविनै उमारिन्छ । यसलाई आफ्नो आहारामा नियमित रूपमा सामेल गर्न सके स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा पाउन सकिने स्वास्थ्यकर्मी बताउने गर्छन् ।
पानीमा फल्ने मखाना पोषक तत्वले भरिपूर्ण हुन्छ । यसमा पाइने पोषक तत्वका कारण यसलाई सुपर फुड पनि भनिन्छ । मखानामा सोडियम र फ्याट कम हुन्छ । साथै यसमा प्रोटिन र फाइबरको मात्रा अत्यधिक हुन्छ । मखानामा भिटामिन सी, क्याल्सियम, आइरन, जिंक, म्याग्नेसियम, पोटासियम र फस्फोरस प्रशस्त मात्रामा पाइने पोषणविद बताउने गछन् ।
धर्मशास्त्रमा समेत महत्व दिएको फल
यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ । आयुर्वेदका अनुसार मखानाको सधैंजसो खाने गर्दा वीर्यको गुणस्तर र मात्रा बढ्दै जान्छ, शीघ्रपतनलाई रोक्छ । कामेच्छा बढाउँछ । महिलाको बाँझोपन हटाउन पनि यो सहयोगी मानिन्छ । मखानामा क्याल्सियम प्रशस्त मात्रामा हुन्छ । यसैले यो खाने गरे जोर्नीको दुखाइ, गठियाजस्ता बिमारले त्यति पिरोल्न पाउँदैन ।
सरकारी सहयोग र सदभावविनै आकाशे पानीमा खेती भइरहेको कचनकवलमा आफ्नै लगानीले बोरिङ गरेर मखनाका लागि पानी जमाइरहेका नेपाली किशानको लाखौं लगानीमा फल्दै गरेको केचनाको मखनाले बजार पाउन सके आगामी वर्ष यो खेती निकै विस्तार हुने संकेत देखिन्छ ।
प्रतिक्रिया