नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइराला नियुक्त गरिएका छन् ।
कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम काठमाडौंका कोइरालालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । गत वैशाख २१ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णयअनुसार सभापति थापाले कोइरालालाई अध्यक्षमा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
म्याद समाप्त भई कार्यसमिति स्वतः विघटन भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो ।
नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी दिइएको छ । यसका लागि पार्टीले ९बुँदे स्पष्ट कार्यादेश र कार्यविवरण समेत उपलब्ध गराएको छ ।
लामो समयदेखि तदर्थ समितिको भरमा चल्दै आएको तरुण दलले नयाँ नेतृत्व पाएसँगै अब महाधिवेशनको प्रक्रिया अघि बढ्ने अपेक्षा कांग्रेसले गरेको छ ।
प्रतिक्रिया