- विकाश रौनियार, धादिङ
पृथ्वीराजमार्ग देशकै ‘लाइफलाइन’ मानिने ब्यस्त राजमार्ग हो । यही राजमार्ग हुँदै दैनिक हजारौँ यात्रुले यात्रा गर्दै आएका छन् । यात्रु तथा चालकको सुविधाका लागि राजमार्ग छेउछाउमा सयौं होटल, रेष्टुरेन्ट तथा खाजाघर सञ्चालनमा छन् । तर, यात्रुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खाना तथा खाजाको गुणस्तर र मूल्यबारे भने वर्षौंदेखि प्रश्न उठ्दै आएको छ । अहिले पनि गुणस्तरहीन खानाका कारण यात्रुहरुको स्वास्थ्य जोखिममा पर्ने अवस्था कायमै देखिन्छ ।
धादिङमा मात्रै दर्जनौँ होटल चौबिसै घण्टा सञ्चालनमा छन् । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्ने सयौं सवारीसाधन र यात्रु खाना तथा खाजा खानका लागि यहाँ रोकिन्छन् । तर अनुगमनका क्रममा धादिङस्थित ब्लू हेभन रेस्टुरेन्ट एन्ड बारको स्टोरमा सडेको तरकारी फेला परेको छ । विभिन्न सरकारी निकायको संयुक्त अनुगमनका क्रममा अखाद्य सामग्री भेटिएपछि उक्त रेस्टुरेन्टलाई २५ हजार रुपैयाँ जरिवाना गरिएको थियो । यो घटना प्रतिनिधि उदाहरण मात्र हो, जसले राजमार्ग क्षेत्रमा सञ्चालन हुने होटलहरुमा यात्रुको स्वास्थ्यसँग कसरी खेलबाड भइरहेको छ भन्ने देखाउँछ ।
धादिङ मात्रै होइन, देशका अन्य राजमार्ग आसपासका साना-ठूला होटल तथा रेस्टुरेन्टहरुको खाना तथा खाजाको गुणस्तरबारे पनि निरन्तर आशंका रहँदैआएको छ । व्यवसायीहरुले विगतको तुलनामा केही सुधार गरेको दाबी गरे पनि त्यो पर्याप्त हुन सकेको छैन । सरकारी निकायबाट हुने अनुगमन नियमित नहुँदा समस्या दोहोरिने गरेको छ । कतिपय अवस्थामा अनुगमन सरकारी निकायकै सक्रियतामा भर पर्ने गरेको यात्रु शैलेन्द्र कँडेलको गुनासो छ ।
यात्रु मनिका उप्रेतीले यात्रुहरुलाई ताजा, स्वच्छ र गुणस्तरीय खाना उपलब्ध गराउनुपर्ने बताउँदै नियमित अनुगमन आवश्यक रहेको बताइन् ।
सम्बन्धित निकाय मात्रै होइन, होटल व्यवसायीहरुको छाता संगठन जिल्ला होटल व्यवसायी संघ धादिङले समेत व्यवसायीलाई पटक-पटक सचेत गराउँदै आएको छ । तर कतिपय व्यवसायीले सुझाव र आग्रहलाई बेवास्ता गर्ने गरेको पाइएको छ । जिल्ला होटल व्यवसायी संघ धादिङका अध्यक्ष रामशरण सिलवालले परम्परागत ढंगले होटल व्यवसाय सञ्चालन गरेर अब नचल्ने भन्दै सुधारको विकल्प नरहेको बताए ।
धादिङका मात्रै होइन, अन्य जिल्लाका होटल व्यवसायीहरुले पनि राजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुको खानाको गुणस्तरमाथि प्रश्न उठाउँदै आएका छन् ।
पोखराका होटल व्यवसायी मानप्रसाद धितालका अनुसार देशभरका धेरै होटलमा खाना तथा खाजाको गुणस्तर र परिमाणमा ध्यान नदिँदा यात्रुहरुले समस्या भोग्नुपरेको छ ।
धादिङ उद्योग वाणिज्य संघले व्यवसायी, सरकारी निकाय र सञ्चारकर्मीको सहभागितामा सचेतनामूलक अभियान सञ्चालन गरिएको जनाएको छ । संघका अध्यक्ष रामकुमार डल्लाकोटीका अनुसार आवश्यक परे जरिवाना समेत गरिएको छ । सामान्य कारबाहीपछि पनि सुधार नभए होटल बन्द गरेर भए पनि सुधार गराइछाड्ने प्रतिबद्धता उनले जनाए ।
नियमित अनुगमन हुन नसकेको विषयमा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय अभाव तथा दक्ष जनशक्तिको कमी मुख्य कारण रहेको बताए ।
उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरीले पनि कर्मचारी अभाव र कार्यव्यस्तताका कारण नियमित अनुगमनमा समस्या भएको स्वीकार गर्दै प्रयास जारी रहेको बताए ।
उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर सञ्चालनमा रहेका १४७ वटा व्यवसायको अनुगमन गरिएको छ । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायबाट कुल १ लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको तथ्यांक छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ, उद्योग वाणिज्य कार्यालय धादिङ, जिल्ला होटल व्यवसायी संघ धादिङ, धादिङ उद्योग वाणिज्य संघ लगायत निकायको सहभागितामा पछिल्लो समय संयुक्त अनुगमन गरिएको हो । यसबीच होटल तथा खाजाघरमा मूल्यवृद्धि बढ्दै जाँदा यात्रुहरु थप मर्कामा परेका छन् । नियमित अनुगमन अभावमा यात्रुहरु चर्को मूल्य तिर्न बाध्य छन् भने महँगो मूल्यमा खरिद गरिएको खानाको गुणस्तर र त्यसले स्वास्थ्यमा पार्न सक्ने असरबारे सरकारी निकाय, सरोकारवाला र स्वयं व्यवसायी सबै जिम्मेवार बन्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया