✍ डिल्ली अम्माई
शून्यको गर्भगृहबाट सुरु भएको यो महायात्रा,
साढे चार अर्ब वर्षको धर्तीको पसिना बोकेर,
न्युरोन्सको माइक्रोट्युबुल्स भित्र,
प्रत्येक सेकेन्डमा लाखौँ पटक गहिरिने,
चैतन्यको एउटा अजस्र र उज्यालो राँको हो !
म, मन र षडायतनको यन्त्रवत पासो तोडेर,
जब हल्लिन्छ अवचेतनको त्यो कालो लाभा,
त्यहाँ कुनै कृत्रिम सिमुलेसनको म्याट्रिक्स चल्दैन,
त्यहाँ त केवल बाल-हृदय जस्तै सफा,
वात्स्यायनको काम-दर्शन र चार्वाकको मिथकमुक्त सत्य,
पवित्र तलाउमा फुलेको कमलको फूल झैँ,
जैविक इमानदारिताको ‘करुण रसायन’ बनेर बग्न थाल्छ ।
यो वर्तमान सूचना-मनोरोगको बजार होइन,
न त यो नार्सिसिस्टहरूको डर्टी क्याम्पेन हो,
यो त युद्ध पिपासुहरुको विभीषिकाविरुद्ध उभिएको,
समयको विनाशकारी एन्ट्रोपीलाई रोक्ने,
एउटा अभेद्य र जीवन्त ‘नेगेन्ट्रोपीको इन्जिन’ हो !
जसले लादिएको आदेशलाई खारेज गर्दै,
स्थानीय स्वायत्त ‘श्रम-गुरुकुल’को मैदानमा,
‘सचेत श्रम सौन्दर्य’को नयाँ भाष्य लेख्छ ।
यहाँ कोही मसिहा छैन, कोही कमाण्डर छैन,
यो एक स्वचालित र स्वशासित व्यवस्थामा,
जहाँ प्रकृतिको लय नै हाम्रो अभेद्य ढाल बन्नेछ,
र आवश्यक परे, यो मोज्याक प्रयोगशालाले,
आफ्नो अस्तित्व रक्षाका लागि,
ुसशस्त्र आत्मरक्षाको ढोका पनि खुल्ला राख्छ ।
अक्षर नै ईश्वर हो, अक्षर नै अन्तिम सम्प्रभुता हो,
जसले निराशाको धमिलो नदीलाई शुद्ध र सङ्लो पार्छ,
र ऋग्वेदको त्यो आदिम महामन्त्र बिउँझाउँदै भन्छ-
संगच्छध्वं संवदध्वं सं वो मनांसि जानताम् !
हामी एक्लै कतै पुग्दैनौँ, हामी सँगै हिँड्नेछौँ,
हिँड्न नसक्नेहरूको हात समातेर डोर्याउनेछौँ ।
मेरो सम्झनाको यो उज्यालो, मेरो अन्तरको उज्यालो,
र त्यो परको परम दिव्य उज्यालो,
आज मनोबादमार्फत पूर्ण रूपमा एकाकार भएको छ !
पाँचौँ मार्ग विचारको हाँगा पलाउने बन्द कोठा होइन,
यो त भविष्यका नयाँ प्रश्नहरूका लागि खाली राखिदिने,
‘पूर्णबाट सम्पूर्ण’तिरको खुला राजमार्ग हो,
जहाँ दृष्टा र दृश्यको विभेद समाप्त भई,
सिंगो ब्रह्माण्ड ‘अकिलं मधुरम’को महासङ्गीत बनेर गुञ्जिरहन्छ,
निरन्तर… निरन्तर…अनन्तसम्म !
प्रतिक्रिया