न्यायाधीश श्रेष्ठको उपचार दिल्लीमा हुँदै

न्यायाधीश श्रेष्ठको उपचार दिल्लीमा हुँदै


सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको छ ।

‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनादेखि सो अस्पतालमा उनको उपचार भइरहेको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार न्यायाधीश श्रेष्ठलाई ‘बोनम्यारो क्यान्सर’ देखिएपछि एक महिनाअघि देखि त्यहाँ उपचार गराइरहेका छन् । पछिल्लो समय न्यायाधीश श्रेष्ठको स्वास्थ्यमा सुधार भइरहेको छ ।

ज्ञातव्य छ, बिरामी भएपछि गत वैशाख ११ गतेदेखि न्यायाधीश श्रेष्ठ इजलासमा उपस्थित हुन सकेका थिएनन् ।

यसैबीच, न्यायाधीश श्रेष्ठले आफ्नो उपचारका लागि आर्थिक सङ्कलन नगर्न आग्रह गरेका छन् । श्रेष्ठले आज (१३ जेठ) जारी गरेको प्रेस विज्ञप्तिमा आफ्नो उपचारका लागि सहयोग सङ्कलन गर्न लागेको खबर पाएको उल्लेख गर्दै आर्थिक सङ्कलनको काम तत्काल स्थगित गर्न आग्रह गरिएको छ ।

‘न्याय सेवा अधिकृत समाजले न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रुपमा यथाशक्य आर्थिक सहयोग गर्न आह्वान गरेको पनि थाहा पाएँ’, विज्ञप्तिमा भनिएको छ, ‘यो आर्थिक सङ्कलनको कार्य स्थगित गरिदिनुहुन सबैमा मेरो विनम्र अनुरोध छ, आशा छ, तपाईंहरुले मेरो अनुरोधलाई स्वीकार गरी रकम सङ्कलनको कार्य स्थगित गर्नुहुनेछ ।’

बोनम्यारो समस्याबाट पीडित न्यायाधीश श्रेष्ठको भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च अस्पतालमा उपचार भइरहेको छ ।