मासिँदै सनपाट

मासिँदै सनपाट


  • गोपालप्रसाद बराल, महोत्तरी

केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान सनपाटखेतीमा लाग्ने गरेका थिए । अचेल भने यहाँका फाँटमा न सनपाट देखिन्छ, न त यो खेती गर्नेमा युवा पुस्ताको आकर्षण छ । किसानका गोठमा पशुवस्तु घट्दै गएसँगै सनपाटको खेती पनि मासिँदै गएको जानकारहरू बताउँछन् । विगतमा पशुवस्तु बाँध्न, डुलाउनमात्र होइन, कैयौँ काममा प्रयोग हुने डोरीको प्रयोग हुने गरेको थियो । एकातिर पशुवस्तु पाल्न छोडिएको र अर्कोतिर प्लाष्टिकका बनिबनाउ डोरी सजिलै पाउने भएकाले सनपाटखेतीतर्फ किसानको सरकार घट्दै गएको हो ।

‘मेरै गोठमा जहिले पनि दुई हल गोरु, दुईवटा भैँसी र एउटा गाई हुन्थ्यो’, दुई दशक पहिलेको आफ्नो गुहाली (गोठ) सम्झँदै बर्दिबास-९ पशुपतिनगरका ७० वर्षीय किसान कारी महतो भन्नुहुन्छ, ‘यिनै वस्तुसँग जोडेर बर्सेनि केही जग्गामा सनपाट लगाइन्थ्यो, अब न गोठमा वस्तु छन्, न पाटखेती नै गरिन्छ ।’

उहाँ मात्रै होइन, यताका सबैजसो किसानका गोठमा जग्गाको अनुपातमा गोरु पालिन्थे, दूधका लागि घरघरै गाईभैँसी हुन्थे । किसानहरूले ती पशुवस्तु बाँध्न डोरी, दाम्ला बनाउन आफैँ सनपाटखेती गर्थे । पुरानो पुस्ताको अवसानसँगै त्यो प्रचलन हराएको छ । नयाँ पुस्ता पढाइ र कामका लागि विदेसिने क्रम बढेपछि वस्तुपालन र पाटखेती हराएको महतोकै छिमेकी सूर्यदेव सिंह बताउनुहुन्छ ।

यहाँको भङ्गाहा-६ हतिर्साको मजरा बस्तीका ६० वर्षीय सुरेश बाँतरका अनुसार पशुवस्तुका दाम्ला बनाउन मात्र नभइ घरायसी प्रयोजनका लागि विगतमा पनि डोरी र मोटो रस्सी बाट्न पनि सनपाटको सुत्री चाहिन्थ्यो । दाम्लो, डोरी र मोटो रस्सा बनाउनमात्र नभइ प्राङ्गारिक मलका लागि पनि सनपाटखेती गर्ने चलन रहेको उहाँको भनाइ छ ।

‘सनपाटका जरामा हुने साना गिर्खा (गाँठा)मा माटोलाई चाहिने उर्वर शक्ति नाइट्रोजन हुन्छ, अनि डाँठ र पातबाट कम्पोष्ट मल बन्छ’ नेपाल सरकारको कृषि सेवाको सहसचिबबाट अवकास प्राप्त भङ्गाहा-५ सीतापुरका ७५ वर्षीय कृषिविज्ञ रामबहादुर भुजेल भन्नुहुन्छ, ‘मधेसमा मलका लागि लगाइएको सनपाट खेतमा धान रोप्न, खेत हिल्याउँदा जोतेर केही दिन छाडिने चलन छ । हिलो पानीले सनपाट गलेपछि फेरि दाँदे लगाएर धान रोपिन्छ ।’

सनपाटको यस्तो मल धानखेतीका लागि निकै उर्वर हुँदा विगतमा किसानको रोजाइमा पर्ने गरेको भुजेलको भनाइ छ । उहाँले कृषि कार्यालयहरूले किसानलाई मलका लागि यो खेती गर्न कार्यक्रम नै बनाएर अभिप्रेरित गर्ने गरेको पनि स्मरण गर्नुभयो ।

सनपाट दाम्ला, डोरी र रस्साका लागि खेती गरिँदा यो छिप्पिएपछि काटेर मुठा बनाइ गहिरो पानीमा डुबाउन पर्छ । त्यसरी केही दिन पानीमा डुबाइएको सनपाटको डाँठबाट रेसा अलग्गिन थालेपछि त्यसलाई धोइपखाली घर ल्याएर सुकाएपछि पाट तयार हुन्छ । यसरी तयार भएको पाट सुत्री कातेर दाम्ला, डोरी र रस्सा बनाउनसँगै उब्रेको पाट बजारमा बेचेर किसान घरखर्चको जोहोसमेत मिलाउने गरेका गौशाला-१० लक्ष्मीनियाँका ७५ वर्षीय किसान लक्ष्मी महतोको सम्झना ताजै छ ।

‘पहिले पो जोत्न गोरु चाहिन्थ्यो र घरघरै जसको जति खेत छ, त्यसअनुसार गोरु पाल्थे, अब सबै ट्रेक्टरबाटै जोत्छन्’, उहाँ भन्नुहुन्छ- ‘गोरुसँगै घरघरैजसो भैँसी र कमसेकम एउटा गाई पालिन्थ्यो, अब न गोठमा वस्तु नै छन्, न यिनलाई बाँध्न चाहिने दाम्ला/डोरीका लागिको सनपाटखेती ।’ व्यावसायिक रूपमा आधुनिक तवरले पशुपालन गर्ने किसान निकै कम भएका र अब बजारमा प्लाष्टिकका दाम्ला, डोरी सजिलै पाइन थालेपछि सनपाटको सम्झना नै हुन छाडेको उहाँको भनाइ छ ।

विराटनगरको जुटमिल बन्द हुनु, पशुपालन घट्दै जानु, नयाँ पुस्ताले यसबारे रुचि नदेखाउनु, पोखरी/दहमा पानी सुक्नु र खेतीमा रासायनिक मलमा निर्भरता बढ्नुले सनपाटखेती हराएको औरही-७ भोइलका पाका किसान ७० वर्षीय मोहन महतोको बुझाइ छ ।

‘करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा आमकिसानले धेरथोर सनपाटखेती लगाउँथे । यहाँ कुत्रुङ, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कातेर अरु बेचेर घरखर्चका लागि नगदको जोहो गर्थे’, एकडारा गाउँपालिकाको अजमरपट्टी बस्तीका ६० वर्षीय हरिदेव मण्डलले भन्नुभयो, ‘यो सबै हिजोझैँ लाग्दैछ । अहिलेका किशोर उमेरका नातिनातिनालाई सनपाट भनेको नै थाहै नपाउने अवस्था बनिसक्यो ।’

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्सा एवं प्राङ्गारिक मलका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले समेत किन्ने गरेकाले विगतमा राम्रो आम्दानीको स्रोतको रूपमा थियो । यहाँबाट तयार गरिएको पाट विराटनगर जुट मिलमा जाने गरेकाले आम्दानी गर्न सहज भएको भङ्गाहा–५ धतीयाटोलका ६५ वर्षीय किसान सुपतलाल यादवको सम्झनामा छ । उहाँ भन्नुहुन्छ, ‘मल र घरायसी प्रयोजका लागि सनपाट प्रयोग गथ्र्यौं । बढी भएपछि उद्योगलाई बेचेर कमाउथ्यौँ ।’

सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउनरजगाउन बचाएर राख्ने पुरानो चलनसमेत रहेको थियो । खासगरी सन्ठी दीपावलीमा ‘हुक्कालोलि’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । ‘हुक्कालोलि’ मिथिला संस्कृतिकै अङ्ग मानिन्छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको विगत यहाँका पाका किसानले बताउने गरेका छन् ।

सनपाटखेती गर्मी हावापानीमा हुने गर्छ । छरेको करिब ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् । पानीका दह घट्दै गएपछि पाटका लागि यो खेती असजिलो हुँदै गए पनि खेतबारीको मलका लागि भने किसानलाई अझै यसतर्फ उत्प्रेरित गर्न आवश्यक रहको कृषिविज्ञ राजकिशोर यादवको भनाइ छ ।