कोलम्बियाको अमेजनमा विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट गुटहरूबीचको झडपमा ४८ जनाको मृत्यु भएको बताइएको छ । क्षेत्रीय राजधानी सान जोसे डेल ग्वाभियारका नगरप्रमुख विली रोड्रिगेजलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार विघटित फार्क छापामार आन्दोलनका दुई असन्तुष्ट समूहबीचको झडपमा ४८ जनाको मृत्यु भएको हो ।
सरकारसँग आधा शताब्दीको युद्धपछि सन् २०१६ मा फार्कले हतियार बिसाएपछि भएको कोलम्बिया दशकको सबैभन्दा खराब हिंसाको कारण स्तब्ध भएको छ ।
कुनै समय विद्रोही सेनाको नियन्त्रणमा रहेको जङ्गल क्षेत्र नियन्त्रणका साथै लागूऔषध ओसारपसार र अवैध उत्खननबाट प्राप्त हुने आम्दानीका लागि विभिन्न साना छापामार समूहहरू अझैपनि प्रतिस्पर्धा गरिरहेका छन् ।
यो रक्तपातले निवर्तमान वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोको असफल ‘पूर्ण शान्ति’ रणनीतिमा नयाँ झट्का सिर्जना गरेको छ ।
पेट्रोको उत्तराधिकारीको दौडमा अग्रसर वामपन्थी सिनेटर इभान सेपेडाले सशस्त्र समूहहरूसँग वार्ता जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रशंसक कट्टर वकिल अबेलार्डो डे ला एस्प्रिलाको नेतृत्वमा उनका दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूले विद्रोहीहरूलाई सैन्य रूपमा दबाउन आवश्यक रहेको तर्क गर्दै आएका छन् ।
गुभियार छापामार समूहहरूको ऐतिहासिक गढहरू मध्ये एक हो भने पेट्रोको सरकारले हालैका महिनाहरूमा छापामारविरुद्ध आक्रमण बढाएको छ।
प्रतिक्रिया