पुराना दलहरूको आस गर्दा पैंतीस वर्ष बित्यो । नेताको फलिफाप भो । जनता/मुलुकको उँधो फाल भो । पुराना जति आफ्नै कुकामले पत्तासाफ भए । नयाँले थिति बसाल्न के खोज्याथ्यो; आकाश नै खस्न लागे झैं गरी विपक्षी दलहरूले विरोधको लागि विरोध गऱ्याछन्, लोकतन्त्र/गणतन्त्र मासिन लाग्यो भनेर रोइलो गर्दा छन् ।
✍ बलराम उपाध्याय सिलवाल
श्री गणेशाय नमः । श्री सरस्वतै नमो नमः । अन्तर्य बुझ्न कठिन भो । प्वाल पऱ्या बेलुन जति हावा भरे’नि उस्ताको उस्तै ! चेत खोई ? राष्ट्रिय झण्डाको दुरुपयोग भएको देख्दा मन कटक्क काटिया छ । सबैको सुविचार हुँदो हो त जगत रामराज्य हुन्थ्यो होला नि । कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भएर पो माऱ्यो । विदेशमा पानी पर्दा नेपालमा छाता ओढ्ने धेरै । बाबुसाहेबको जरोकिलो त नेपाली कनिङघमलाई थाहा थियो । यिनको हित्तचित्त सांस्कृतायन/देवकोटा सित औधी थियो; पागल कविताले अर्घेल्याइँ गर्द्यो र मात्र ।
बाहिर लोकाचारभित्र पापाचार । रुस/अम्रिकाले जापान/इटालीलाई ऐंचाउन नसक्दा दोस्रो महायुद्ध भो । अब अम्रिकालाई ऐंचाउन नसक्दा तेस्रो महायुद्ध पो हुने हो कि । अमेरिका डुक्रेको डुक्र्यै छ – राष्ट्र संघले केही लछारपाटो लाउन सक्या होओइन । भगवानले विवेकशील मनुवा बनाएकै हुन् नि, कलिले निर्विवेकी बनाईदिएर पो माऱ्यो । आधुनिकताले लैस अपटुडेट मनुष्यलाई चैलेन्ज गर्न कसको पिताम ? हठको विषयमा वीरसिक्काले बोलेकै छ नि , क्यान द्वादस गर्नुपरो र ? अर्ती दिने हैन , लिने हो । Students take exams हो वा Students give exams ले विद्यार्थीको दिमाग रिङाउँदो । तब न यो Crazy Language ।
क्या उटटापी छन् कइयाँहरू ?! दोकानको ठेलो कट्न नभ्याउँदै बापका कमाइ कि आपका कमाइ पो भन्छ बा ! यिनीहरूले लाक पाए त हाम्लाई ठाडै सिध्याउने परन्तु अहिले (घण्टी पार्टीको) सरकारको भन्सार नीतिले रक्सौलका (सीमानाका पारिका शहरहरू) कइयाँहरू मुर्मुरिएका छन् । धान कुम्भ्याउन त हुन्छ तर कुरा कुम्भ्याउन चैं हुन्न है । नपत्याए गायक बस्नेतलाई एकपल्ट सोध्नु ।
नारी मातृशक्ति । सबैले श्रद्धा गर्नुपर्ने । लभ मैरिज भन्या हुन्छ – तीन मैनामै खेल खतम ! कति त ‘त्यो फर्केला कि’.. को आसमा कुर्दा छन् । कति सस्तो भाको हो मायापिरिम त ? सच्चा पिरिम भन्या त सावित्री-सत्यवान, नल-दमयन्ती र कच-देवयानीको । नारीका बैरी नारी नै । बित्थैमा पुरुषलाई मात्र किन दोष दिने हो र ? संश्लेषण/विश्लेषण आफै गर्नु, अर्कोलाई किन पछ्याउनु छ र ? सत्य कुरा ओकलेसि मान्छे टेढिन्छ । पछुवाहरूको नियति भन्या बर्मा गए कर्मसँगै नेपाल गए कपालसितै – नवप्रवर्तन त छँदै छैन नि ।
आस गर्नु भर नपर्नु भन्थे बुढापाकाहरू । साँच्चै हो रहेछ । पुराना दलहरूको आस गर्दा पैंतीस वर्ष बित्यो । नेताको फलिफाप भो । जनता/मुलुकको उँधो फाल भो । पुराना जति आफ्नै कुकामले पत्तासाफ भए । नयाँले थिति बसाल्न के खोज्याथ्यो; आकाश नै खस्न लागे झैं गरी विपक्षी दलहरूले विरोधको लागि विरोध गऱ्याछन्, लोकतन्त्र/गणतन्त्र मासिन लाग्यो भनेर रोइलो गर्दा छन् । कोही-कोही त रङसाइलो मच्चाउन सुर कस्या छन् । आन्दोलन गर्ने ध्वाँस दिने कोही-कोही । आन्दोलन आफैमा बेठिक होइन तर भ्रष्टहरूले यसको ओज घटाइदिएर पो माऱ्यो बा । अघि राँड जानिन पछि राँड मानिन, बाघ लाग्यो घिच्याउन, राँड लागी चिच्याउन भन्या यही हो ।
पृथकीकृत हुन खोजे’नि सामाजिकता र आर्थिकताले छोड्ने होइन । भ्रमको पर्दा च्यात्न गाह्रो; च्यातेसि त जीवन संगीतमय भइहाल्यो नि । प्रेममय प्रभुको इच्छा – निकृष्ट त कोचर्केकै बेस ! भौतिकताको पासोमा जेलिएको अधमलाई परमानन्दभूतिको के मतलब ? बबुरो वर्गयुद्धको दुहाई दिंदो । आफूलाई आपत पर्दा असहज र अर्कोलाई विपद पर्दा सहज ठान्ने कस्तो डरलाग्दो मानसिकता ? नित्सेको अस्तित्ववादले के बखाऱ्या हो र ? वादैवादमा गुजुल्टिनुको सार्थकता रहेन । हुँदो कामको सह्रनी नहुँदो कामको अह्रनी गरे भैहाल्यो नि । किन विरोधको लागि विरोध गर्नुपऱ्या छ र ? स्तुतिगान आजैबाट त्यागे बेस । देवत्वकरण राम्रो कुरा हैन है । मान्छेको स्वरुप लिंदो, गुहेकिरो झैं मर्दो । स्वत्व त चाहिन्छ नि । अध्यात्मले आत्म – सन्तोष दिंदो । नेपालीबाट अनेपाली बनेकाहरू त नेपाल सम्झेर नै मर्लान् है परदेशमा । मर्ने बेलाँ मान्छेले आफ्नो थातथलो खोज्छ भन्छन् पुरानियाँहरू ।पल्लो घरको झ्यालले मान्छेलाई अमान्छे बनाउँदो । रामायण पढुवाले राम/रावणको गुण लिंदो । अनि अकार्थमा लेखकलाई किन दोष दिनु र ? मनुष्यले कुकर्मबाट धन कमाउँछ; पाप आफू बोक्छ, स्वास्नी छोराछोरी छरिफुक्का । नपत्याए रत्नाकरको जीवनी पढ्नु । सरकारले आफ्नो/अर्काको गर्नुहुन्न । राज्यको दृष्टिमा सबै जनता समान ।
धेरै वर्षअघि युनानमा घटेको घटना – राजा फिलिपको दरबारमा भारदारी सभा चल्याथ्यो । सो सभामा एक जना सिपाहीको मुद्दा छिन्न राजा फिलिप स्वयम् उपस्थित थिए । सुनुवाई भईरहँदा राजा निदाए । सुनुवाई सकिएसि राजा ब्युँझे । उनले सिपाहीलाई मृत्युदण्डको सजाय सुनाए ।
सिपाहीले राजा समक्ष भन्यो, ‘फैसला गलत भो, म अपिल गर्छु ।’
राजाले चकित हुँदै भने, ‘को सित ?’
सिपाहीले निडरतापूर्वक जवाफ फर्कायो, ‘निदाएको राजाविरुद्ध जागेको राजासित ।’
यो जवाफ सुनेसि राजाले आफ्नो फैसला सच्याएर सिपाहीलाई सजायमुक्त गरे ।
मान्छेको सोच नकारात्मक हुनुमा खान्कीको अहम् भूमिका । तामसी भोजनले बुद्धि भ्रष्ट पार्छ । नसच्चिने मनुवालाई नसच्याउनु – जहाँ अन्भरिन्छ, अन्भरिन दिनु । न कहि सकिन्छ न लेखि सकिन्छ – मनुवाको स्वभाव । बाउसे सकियो । आजलाई मैजारो । अस्तु !
प्रतिक्रिया