नेपालको मधेसको मेरो गाउँ… जहाँ कोशीको पानी बग्थ्यो, धानका खेतहरू हावासँगै लहरिन्थे, र साँझ पर्नासाथ गाउँमाथि एउटा अनौठो उदासी र मिठास मिसिएको शान्ति ओर्लिन्थ्यो । त्यो बेला न मोबाइल थियो, न टेलिभिजन हरेक घरमा पुगेको थियो । तर, कथा थिए । यस्ता कथा, जसको जन्म हामीबाट हजारौँ माइल टाढा भएको थियो, तर जो हाम्रो आफ्नै जीवनजस्तो लाग्थे ।
✍ जयप्रकाश आनन्द
अभिव्यक्तिको प्रभावकारी सम्प्रेषणले मानव समाजको सामूहिक चेतना निर्माण गर्ने कार्य प्रागऐतिहासिक कालदेखि गर्दै आएको छ । आज हामी इन्टरनेट, सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्म, एल्गोरिद्म र कृत्रिम बुद्धिमत्ताको युगमा छौं । तर, विचारको प्रसार, जनधारणाको निर्माण र सामूहिक मनोविज्ञानको गठन भने आज मात्र सुरु भएको होइन । माध्यम फेरिएका हुन्, मूल प्रकृति फेरिएको छैन ।
मानिसले कथा सुनाएर समाज निर्माण गरेको इतिहास, सभ्यता जत्तिकै पुरानो छ । पहिले आगोको वरिपरि बसेर कथा सुनाइन्थ्यो, पछि लोकगाथा बन्यो, त्यसपछि महाकाव्य बन्यो, धर्मग्रन्थ बन्यो, इतिहास बन्यो, र अहिले त्यो नै ‘न्यारेशन’ बनेर सामाजिक सञ्जालमा प्रवाहित भइरहेको छ । पौराणिक आख्यान, लोककथा, वीरगाथा, धार्मिक प्रसस्ती, राजकीय इतिहास, वंशावली, यात्रावृत्तान्त – यी सबै मूलतः सामूहिक मन निर्माण गर्ने औजार नै थिए ।
कसलाई महान् बनाउने ? कसलाई विद्रोही देखाउने ? कसलाई धर्मात्मा र कसलाई अधर्मी ठहर गर्ने ? कसको स्मृति पुस्तौंसम्म जोगाउने ? यी सबै कुराको निर्णय केवल सत्यले मात्र होइन, सम्प्रेषणको शक्तिले पनि गर्दै आएको छ ।
लामो नलेखौं, एउटा पुरानो प्रसंग सम्झौं ! सन्त कबीरदासको जन्म प्रचलित मान्यताअनुसार सन् १४४० तिर भएको मानिन्छ । नेपाली पात्रोअनुसार यो विक्रम संवत् १४९७ सालतिर पर्छ । रामचरितमानसका रचनाकार तुलसीदासको जन्म सन् १५३२ मा भएको मानिन्छ, अर्थात् विक्रम संवत् १५८९ सालतिर । यसरी हेर्दा, कबीरभन्दा करिब एक शताब्दीपछि तुलसीदासको जन्म भएको देखिन्छ । भक्तिमार्गका अर्का महान सन्त सूरदासको जन्म पनि यही हाराहारीकै समयको हो ।
कबीरदास मूलतः विद्रोही चेतनाका कवि थिए । उनले धार्मिक आडम्बर, जातीय विभाजन, कर्मकाण्ड र पाखण्डको विरोध गरे । उनको भाषा दरबारी थिएन, लोकजीवनको भाषा थियो । उनको प्रश्न केवल धर्ममाथि थिएन, समाजको संरचनामाथि थियो ।
हिन्दू र मुस्लिम दुवै समुदायभित्रको अन्धविश्वासमाथि उनले प्रहार गरे । स्वाभाविक रूपमा, त्यस्तो स्वर तत्कालीन सत्तासंरचनाका लागि असहज थियो । तर तुलसीदास र सूरदासका वरिपरि विशाल भक्तिमण्डल निर्माण भयो । राजा, दरबार, मठ, पुजारी, धर्मसंस्था र परम्परागत समाज तिनकै पक्षमा उभियो । त्यसैले उनीहरूको विचार केवल साहित्य बनेन, संस्थागत प्रचारको विषय पनि बन्यो ।
यही सन्दर्भमा एकजना दोहाकारले एउटा दोहा रचे, जुन लिखितभन्दा बढी मौखिक परम्पराबाट फैलियो । त्यो दोहा बृहद् भारतका शहर, गाउँबस्ती हुँदै नेपालका कोशी किनारमा रहेको सप्तरीका मेरो गाउँघरमा समेत पुग्यो । साधुसन्तहरूले गाउँदै हिँड्थे-
‘कि सार सार सूरा कही, तुलसी कही अनमोल,
अनु बजा खुचा कविरा कहा, और कह सब झुठ ।’
यसको सार यस्तो बुझिन्छ-
‘जति सारगर्भित कुरा छन्, ती सूरदासले भने । तुलसीदासका वचन अनुपम छन् । बाँकी बचेखुचेका कुरा मात्र कबीरले भनेका हुन्, अरू सबै झूठ हुन् ।’
अब विचार गरौं- कबीरका विचार तुलसी र सूरदासभन्दा एक शताब्दीअघि आएका थिए । तर सय वर्षपछि बनेको सामाजिक न्यारेशनले तुलसी र सूरलाई ‘पूर्ण सत्य’ बनायो, अनि कबीरलाई ‘बचेखुचेको’ विचारमा सीमित गरिदियो । यहीँ सम्प्रेषणको वास्तविक शक्ति देखिन्छ ।
इतिहास केवल घटनाले बन्दैन, घटनाको व्याख्याले बन्छ । समाज केवल सत्यले चल्दैन, सत्यको प्रस्तुतीकरणले चल्छ । पूर्वीय एशियामा पनि यस्तै अनेक उदाहरण भेटिन्छन् ।
चीनमा कन्फ्युसियसका विचार हजारौं वर्ष राज्यद्वारा संरक्षित भए । किनभने उनका शिक्षाले अनुशासन, पदानुक्रम र राज्यप्रति निष्ठालाई वैधता दिन्थे । तर, त्यही कालखण्डका दार्शनिक लाओत्से, जसले सत्ता, नियन्त्रण र कृत्रिम नैतिकताको आलोचना गरेका थिए, उनी धेरै समयसम्म सीमित दार्शनिक वृत्तमै सीमित रहे । आज संसारले दुवैलाई पढ्छ, तर इतिहासको लामो कालखण्डमा राज्यसत्ताले कुन विचारलाई बढी सम्प्रेषित गर्यो भन्ने प्रश्न महत्वपूर्ण छ ।
जापानमा समुराई संस्कृति केवल युद्धकला थिएन, एउटा आख्यान थियो । ‘बुशिदो’ अर्थात् योद्धाको नैतिकता – त्यो साहित्य, नाटक, लोककथा र दरबारी संस्कृतिमार्फत राष्ट्रिय चेतनाको हिस्सा बनाइयो ।
समुराईहरू वास्तविकतामा जति थिए, सामाजिक कल्पनामा त्योभन्दा धेरै ठूलो बनाइए ।
कोरियामा पनि राजवंशहरूले आफ्ना इतिहासकारमार्फत आफूअनुकूल इतिहास लेखाए । राजाहरूका कमजोरी दबाइए, वीरता विस्तार गरियो ।
आज डिजिटल युगमा जसरी ‘ट्रेन्डिङ’ बनाइन्छ, त्यो बेला दरबारका इतिहास र कथावाचनले त्यही काम गर्थे ।
हाम्रो आफ्नै पूर्वीय सभ्यतामा महाभारत र रामायण पनि केवल धार्मिक ग्रन्थ मात्र होइनन्, सभ्यताको दीर्घकालीन न्यारेशन हुन् । यी कथाले हजारौं वर्षदेखि समाजको नैतिक संरचना, पारिवारिक सम्बन्ध, राज्यबोध, धर्मबोध र नायकको परिभाषा निर्माण गरेका छन् ।
अझ रोचक कुरा के छ भने – जुन समाजमा लेखन सीमित थियो, त्यहाँ पनि विचारको प्रसार अत्यन्त शक्तिशाली थियो । लोकगायक, कथावाचक, सन्त, यात्रु, व्यापारी, बौद्ध भिक्षु, सूफी फकिर – यिनै त्यस समयका ‘चलायमान सामाजिक सञ्जाल’ थिए ।
राति खाना खाइसकेपछि, गाउँका बुढापाका चौतारोमा वा आँगनको डिलमा बस्नुहुन्थ्यो । कसैले सुर्ती माड्दै, कसैले हुक्का तान्दै कथा सुरु गर्नुहुन्थ्यो । हामी साना नानीहरू गोलबद्ध भएर बस्ने गर्थ्यौं – आँखा ठूला पारेर, सास रोक्दै । ती कथाहरू हावा भएर आएका थिए । कुनै व्यापारीको झोलाबाट आएका थिए । कुनै भट्केका साधुको कण्ठबाट आएका थिए । र धेरैजसो, श्रुति परम्पराको अद्भुत जादूबाट हाम्रो अँगनासम्म आइपुगेका थिए ।‘
आज माध्यम फेरिएको मात्र हो । पहिले लोकगीत भाइरल हुन्थे, अहिले रील्स भाइरल हुन्छन् । पहिले सन्तका दोहा गाउँगाउँ पुग्थे, अहिले ह्यासट्याग ट्रेन्ड हुन्छ । पहिले दरबारले आख्यान निर्माण गर्थ्यो, अहिले डिजिटल प्लेटफर्म र एल्गोरिद्मले गर्छन् ।अहिलेको युग मूलतः ‘न्यारेशन’को युग हो । राजनीतिमा केवल संगठन भएर पुग्दैन, विचारलाई प्रभावकारी रूपमा सम्प्रेषण गर्न सक्नुपर्छ । जो समूह, दल वा नेतृत्वले जनताको भावनासँग जोडिने कथा निर्माण गर्न सक्छ, उसैले समाजको मनोविज्ञान प्रभावित गर्छ ।
यसकारण अहिले विश्वभर राजनीति केवल घोषणापत्रमा सीमित छैन । छवि निर्माण, प्रतीक निर्माण, डिजिटल प्रभाव, भावनात्मक प्रस्तुति, दृश्यात्मक भाषा, संक्षिप्त सन्देश र निरन्तर पुनरावृत्ति – यी सबै आधुनिक राजनीतिक शक्तिका केन्द्र बनेका छन् । आजको राजनीतिक यथार्थमा प्रधानमन्त्री, राष्ट्रपति वा दलका सभापति केवल प्रशासक भएर पुग्दैनन्; उनीहरू प्रभावकारी ‘न्यारेटर’ पनि हुनुपर्छ । जो आफ्नो कथा समाजसम्म पुर्याउन सक्दैन, ऊ सत्य बोकेर पनि पराजित हुन सक्छ। र जसले प्रभावकारी आख्यान निर्माण गर्न सक्छ, ऊ सीमित सत्यलाई पनि विशाल जनधारणामा रूपान्तरण गर्न सक्षम हुन्छ।त्यसैले, अहिलेको समय केवल सूचनाको युद्ध होइन, व्याख्याको युद्ध हो । के भनियोभन्दा बढी महत्वपूर्ण – कसरी भनियो, कसले भन्यो, र कति व्यापक रूपमा फैलाइयो भन्ने भएको छ ।
यसमा पछि परियो भने, इतिहासले मात्र होइन, वर्तमानले पनि बिर्सिन्छ । नेपालको मधेसको मेरो गाउँ… जहाँ कोशीको पानी बग्थ्यो, धानका खेतहरू हावासँगै लहरिन्थे, र साँझ पर्नासाथ गाउँमाथि एउटा अनौठो उदासी र मिठास मिसिएको शान्ति ओर्लिन्थ्यो । त्यो बेला न मोबाइल थियो, न टेलिभिजन हरेक घरमा पुगेको थियो । तर, कथा थिए । यस्ता कथा, जसको जन्म हामीबाट हजारौँ माइल टाढा भएको थियो, तर जो हाम्रो आफ्नै जीवनजस्तो लाग्थे ।
राति खाना खाइसकेपछि, गाउँका बुढापाका चौतारोमा वा आँगनको डिलमा बस्नुहुन्थ्यो । कसैले सुर्ती माड्दै, कसैले हुक्का तान्दै कथा सुरु गर्नुहुन्थ्यो । हामी साना नानीहरू गोलबद्ध भएर बस्ने गर्थ्यौं – आँखा ठूला पारेर, सास रोक्दै । ती कथाहरू हावा भएर आएका थिए । कुनै व्यापारीको झोलाबाट आएका थिए । कुनै भट्केका साधुको कण्ठबाट आएका थिए । र धेरैजसो, श्रुति परम्पराको अद्भुत जादूबाट हाम्रो अँगनासम्म आइपुगेका थिए । ‘अल्हा-उदल’ को वीर रक्तिम गाथा मध्य प्रदेशको बुन्देलखण्डबाट आयो । तर हाम्रो गाउँमा सुनिँदा लाग्थ्यो – मानौँ ती तलवारहरू यतै कतै ठोक्किरहेका छन् । गवैया बूढाले जब भारी स्वरमा भन्नुहुन्थ्यो- ‘अल्हा घोडा चढेर युद्धभूमिमा उत्रियो…’
त्यतिबेला हाम्रो बालमनमा साँच्चिकै धूलो उड्न थाल्थ्यो । हामीलाई लाग्थ्यो- अल्हा र उदल कुनै किताबका पात्र होइनन्, जीवित वीर हुन् । उनीहरूको भाइचारा, युद्धको डंकार, रगत, बदला र बहादुरीका कथाहरू सुनेर हामी रातभर सपना देख्थ्यौं । कहिले आफूलाई अल्हा सम्झिन्थ्यौं, कहिले उदल । मधेसमा यो गाथा यति लोकप्रिय थियो कि कुनै गवैया बूढाले ‘अल्हा’ को नाम मात्रै लिँदा पनि नानीहरूको मुटु ढुकढुक गर्न थाल्थ्यो । त्यसपछि आउँथ्यो- ‘लैला-मजनूँ’ । पाकिस्तान-भारतको सीमावर्ती बालुवा मरुभूमिबाट उठेको प्रेमको त्यो आँधी हाम्रो ओद्राहाको मेग्जिन चौरीया कोशी मेलासम्म आइपुग्थ्यो ।
आ फेर कोशी मेलाक ओ दिन ! हे भगवान !
ओकर रौनक तऽ आब सपना जेकाँ लगैत अछि।
कोशी मेलाको रात… पेट्रोम्याक्सको उज्यालो…. धूलाम्मे मैदान… र बाँसको मञ्चमा सुरु हुने ‘लैला-मजनूँ’ । मजनूँको पागलपन देखेर सारा गाउँ चुप लागेर बस्थ्यो । उसले ‘लैला… ओ लैला…’ भनेर चिच्याउँदा कतिपय महिलाहरूले आँचलले आँखा पुछ्थे । हामीलाई न मरुभूमिको भूगोल थाहा थियो, न त्यो संस्कृतिको गहिराइ । तर प्रेमको पीडा भने त्यहीँ बुझ्यौँ । लैलाको आँखाभित्रको विरह, मजनूँको उन्माद, र प्रेमका लागि समाजसँग हारेर पनि प्रेमसँग नहार्ने जिद – यी सब हाम्रो बालमनमा गहिरो गरी बस्दै गयो।त्यसैगरी, ‘सुल्ताना डाकु’ को कथा पञ्जाबबाट आयो।ब्रिटिस भारतको त्यो डाकु, जसले अंग्रेजहरूलाई चुनौती दिन्थ्यो, हाम्रो गाउँका हजुरबाहरूको कथामा कुनै चलचित्रको नायकझैँ जीवित थियो ।
कोनो कोना सँ ढोलकक थाप उठैत – ‘ढुम ढुम ढुम’
आ बस, बुझू पूरा गाम कथा सुनै लेल उमड़ि पड़ैत ।
अँध्यारो कोठामा टुकी बलेको हुन्थ्यो । धुवाँ माथि उडिरहेको हुन्थ्यो । र मेरा हजुरबा विस्तारै भन्नुहुन्थ्यो- ‘सुल्ताना रातको अँध्यारोमा घोडा चढेर आउँथ्यो… ‘बस, त्यति सुन्नासाथ हाम्रो शरीर सिरिङ्ग हुन्थ्यो । हामी डराउँथ्यौं पनि, रमाउँथ्यौं पनि । लाग्थ्यो- कतै आज राति ऊ हाम्रो गाउँमै नआइपुगोस् ! तर बूढापाकाले सधैँ एउटा कुरा थप्नुहुन्थ्यो – ‘सुल्ताना गरीबलाई दुःख दिंदैनथ्यो ।’ त्यो सुन्नासाथ डाकु पनि हाम्रो बालमनमा आधा नायक बनिहाल्थ्यो । अझै कति कथा थिए !
‘हीर-राँझा’को प्रेमकथा पनि पञ्जाबबाटै आयो । राँझाको बाँसुरी र हीरको विरहले मधेसका युवतीहरूको मन भिजाउँथ्यो । मेलामा, बिहेमा, चौतारोमा – कतै न कतै कसैले गाइरहेको हुन्थ्यो- ‘हीर रोइरहेकी छे… राँझा टाढा गइसक्यो…’ ‘सोहनी-महिवाल’को दर्दनाक प्रेमकथा सिन्धबाट आयो । चिनीको घैँटो समातेर नदी तर्ने सोहनी…र अन्ततः प्रेमकै लागि डुबेर मर्ने कथा… यो सुन्दा गाउँका बूढीआमाहरू गहिरो सास फेर्दै भन्नुहुन्थ्यो- ‘प्रेममा डुब्नु पनि बहादुरी हो बाबु…’ राजस्थानबाट ‘पाबूजी की फड़’ को लोकमहाकाव्य आयो । घोडा, ऊँट, मरुभूमि र वीरताको त्यो कथा कुनै भट्केको राजस्थानी कलाकारले चित्र देखाउँदै सुनाउँदा मेरो गाउँको मुख्य चौकमा रहेका उद्यमि गोलाका मालिक सुरजमल सिरोहियाले सुनाउने गरेका अनन्त लोककथाहरूको मन्त्र मुग्धताले गाउँको चौर रातभर जाग्थ्यो ।
रामायण र महाभारत त हाम्रो आफ्नै जीवनको हिस्सा भइसकेका थिए । तर तिनभित्रका साना उपकथाहरू – सावित्री-सत्यवान, नल-दमयन्ती, उषा-अनिरुद्ध – यी सब भारतका विभिन्न भूभागबाट यात्रा गर्दै हाम्रो लोकस्मृतिमा मिसिएका थिए । अरबी र फारसी प्रभावका ‘अलिफ लैला’ का कथाहरू पनि व्यापारीहरू हुँदै मधेससम्म पुगेका थिए । ‘अलादिनको चिराग’, “सिन्डबादको यात्रा” – यी कथा हामी नेपाली लवजमै सुन्ने गर्थ्यौं ।
हाम्रो गाउँतिर ‘राजा भरथरी’को कथा पनि निकै सुनिन्थ्यो । राजपाट त्यागेर वैराग्य लिएको राजाको कथा । लोकगायकहरूले त्यस्तो करुण स्वरमा गाउथे कि बालक मनमा पनि संसार क्षणभंगुर रहेछ भन्ने भावना जाग्थ्यो । ‘सोरठी-बृजभार’का लोकनाटकहरू मधेसका मेलाहरूमा अत्यन्त लोकप्रिय थिए । प्रेम, विछोड, संघर्ष र सामाजिक मर्यादाको मिश्रण भएका ती कथाहरूले गाउँका साधारण मानिसको जीवनलाई नै रंगमञ्चमा उतार्थे ।
नेपालकै पहाडतिर ‘भृकुटी’, ‘मुनामदन’, ‘काजी कालु पाँडे’ र ‘लाहुरे’ कथाहरूले पुस्तौंसम्म जनमानसमा गहिरो प्रभाव छोडे । तिब्बत जाने व्यापारी, युद्धमा जाने गोर्खाली, परदेशिएका पति, पर्खिरहेकी पत्नी – यी सबै केवल पात्र होइनन्, सामूहिक नेपाली स्मृतिका अंश हुन् । आज सम्झँदा लाग्छ- हामी एउटा सानो गाउँमा बस्थ्यौँ, तर हाम्रो कल्पना पूरै उपमहाद्वीपभरि फैलिएको थियो । दूरीले संस्कृतिलाई रोक्न सकेन । भाषाले भावनालाई छेक्न सकेन । मरुभूमिको प्रेम कोशी किनारमा रोयो । पञ्जाबको बाँसुरी मधेसमा बज्यो । बुन्देलखण्डको तलवार हाम्रो बालस्मृतिमा चम्कियो ।
सायद यही लोकगाथाको सबैभन्दा ठूलो शक्ति हो ।
यसले भूगोल मेटाइदिन्छ । मानिसलाई एउटै भावनामा बाँधिदिन्छ । आज न इन्टरनेट छ, सामाजिक सञ्जाल छ, संसार औँलामा अटेको छ । तर, सत्य कुरा के हो भने- त्यो बेला पनि संसार जोडिएको थियो । फरक यत्ति थियो- आज कथा स्क्रिनबाट आउँछ, त्यो बेला कथा मानिसको कण्ठबाट आउँथ्यो ।
प्रतिक्रिया