✍ प्रकाशचन्द्र खतिवडा
म जीवनको हिसाब कताब खोज्दैछु
अस्मिता लुट्ने लुटाहासंग
उ क्षम्य छैन
बाँधेर पाता फर्काउ
छेदन गरिदेउ लिङ्ग
ता कि पीडाले मरोस् तड्पिँदै उ ।
वाटिका शान्त छैन
जसरी म अशान्त छु
पोखरीमा छालहरु उठ्छन्
मेरो विद्रोह संग एकाकार हुनलाई
म आक्रोश पोख्छु
पक्षपातीय कानुनको दफा उपदफा च्यात्दै ।
मलाई पातकीको आरोप लगाएर
पानीमाथिको ओभानो बन्छ ऊ
नारीमुक्तिको बहस गर्छ
अनि लुट्छ नारीकै इज्जत
म पातकी हैन
हो उ पातकी
पुरुष साम्राज्यको हुंकार बोकी
डुक्रन्छ साँढे गोरु जस्तो ।
पन्यूँ तताइ डाम्नु पर्ने
चार पाटा मुडेर डाँडो कटाउनु पर्ने
सभ्य समाजको कलङ्क हो उ
उसलाई सामाजिक बहिष्कार गर्नु पर्ने
तिर्खा लागी पानी माग्दा
तुरुक्क पिसाब दिनु पर्ने ।
म क्रुर बनेको छु
मेरो क्रुरताको सीमा छैन
जल्लाद हार्न सक्छ
म हार्ने छैन
मेरो अस्मिता
जिजीविषासंग गाँसिएको छ
म खोजिरहेकी छु
मेरो जीवनको आजादी
मैले उन्मुक्तिको गीत गाउनै छ
खुला आकाशको विचरण गरेपछि ।
म घृणा गर्छु
उसको सर्वसत्तावादी सोचप्रति
म खेद प्रकट गर्छु
उसको व्यभिचारी सोचप्रति
मैले आकाशको तारा टिप्नु छ
जून संग लुकामारी खेल्दै
म प्रश्न गर्छु झुल्के घामलाई
आज ग्रहणले खान्छ खादैन तिमीलाई ?
दिउँसै रात पर्छ
धरतीमा सन्नाटा छाउँछ
म अन्धकार चिर्नैका लागि
कालो छायाको प्रतिकार गर्दै
औँशीको रातलाई थप्पड हानिरहेछु ।
प्रतिक्रिया