विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइने
प्रधानमन्त्री बालेन्द्र साहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आज (१७ जेठ)को बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उनले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताए ।
प्रधानमन्त्रीले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको पनि बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेश हमालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा व्यापार, निर्यात गर्ने वस्तुमा लाग्ने कर छुटलगायत विषयमा पनि ध्यान दिनुपर्ने र नेपाल अब निर्यातमुखी हुनुपर्ने सोचसहित स्तरोन्नतिलाई केही वर्ष पछि सार्न भनिएको जानकारी दिए ।
‘देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्नका लागि दुई वर्षका लागि त्यसलाई पछि सारेका हौँ । हाल आत्मविश्वास बढाउनेभन्दा पनि देशलाई ठूलो रकम चाहिएको छ । हाम्रो ध्यान पैसा बढाउनेतिर गएको छ’, प्रधानमन्त्री साहले भने- ‘साम्यवाद, समाजवाद भाषणमा दिन सहज हुन्छ । साँच्चिकै समाजवाद र साम्यवादको कुरामा म काठमाडौं महानगरपालिकामा प्रमुख हुँदाको उदाहरण दिन चाहन्छु । हामीले विपन्नलाई निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्छ भनेर त्यसलाई परीक्षा लिएरै लागू गरेका थियौँ । त्यहाँ विपन्न नागरिकका सन्ततिले पनि महँगा कलेजमा पढ्न पाए । समाजवाद भनेको त्यो हो ।’
उनले शिक्षा र स्वास्थ्यमा विपन्नलाई १० प्रतिशत निःशुल्क सेवा दिनुपर्ने नीतिलाई आफूहरूले देशैभर लागू गर्न खोजीरहेको जिकीर गरे । प्रधानमन्त्री साहले संविधानमा निःशुल्क शिक्षा र स्वास्थ्य भनेर लेखिए पनि सरकारको बजेट सीमाबीच कम्तिमा विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी लागेको बताए ।
‘वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छ’
प्रधानमन्त्री साहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक सुकुमबासीलाई नेपाल सरकारले जग्गाको व्यवस्थापन गर्ने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राईको प्रश्नको जवाफ दिँदै उनले काठमाडौं उपत्यकामा रहेको खोलाकिनारामा जोखिमपूर्ण अवस्थामा बसिरहेका नागरिकलाई अर्को ठाउँमा सार्ने काम गरिएको र आफू स्थानीय सरकारमा हुँदादेखि नै सङ्घ सरकारलाई सुकुमबासीलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्न आग्रह गरिएको स्मरण गराए ।
उनले देशभर कतै पनि जमिन नभएका वास्तविक सुकुमबासीलाई जग्गाको व्यवस्थापन गर्नु आग्रह गरिए पनि सम्बोधन नभएको उल्लेख गर्दै हाल सोहीअनुसार काम गरिने बताए । ‘सुकुमबासीले जमिन पाउनुपर्छ भन्ने सरकार र हाम्रो पार्टीको मान्यता हो । त्यो उहाँहरूले पाउनै पर्छ । हाल काठमाडौं उपत्यकामा बसेकालाई किन प्राथमिकताका साथ हटायो भन्ने सन्दर्भमा विगतमा बाढी आउँदा उहाँहरूको घर डुबानमा पर्ने, स्वास्थ्य, सरसफाइलगायत क्षेत्रमा समस्या थियो, त्यसैलाई सम्बोधन गर्न उहाँहरूलाई व्यवस्थापन गरिएको हो’, प्रधानमन्त्री साहले भने ।
ज्ञातव्य छ, सदनमा माग भएबमोजिम प्रधानमन्त्री साह जवाफ दिन उपस्थित भएपछि सांसदले सकारात्मक रूपमा लिए पनि नियमावलीको प्रक्रियाअनुसार पूर्वतयारीको लिखित प्रश्नोत्तर हुन नसकेकोमा विपक्षी सांसदले ध्यानाकर्षण गराएका थिए ।
photo: rss
प्रतिक्रिया