✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४८ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ २० गते तद्अनुसार सन् २०२६ जुन ३ तारिख बुधबार अधिक ज्येष्ठ कृष्णपक्षको तृतीया तिथि पूर्वाषाढ़ा नक्षत्र शुभ योग वणि करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।
आजको राशिफल
मेष – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने प्रयास गर्दा आंशिक सफलता मिल्नेछ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसले गर्दा नियमित कार्यको जोश–जाँगरमा केही कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिने दिन छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिएला । कीर्तिमानी काम सम्पादन हुने र विभिन्न उपहार प्राप्तिको योग छ । महत्वपूर्ण योजनामा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । विरोधिहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । मान्यजनसँग असमझदारी बढ्न सक्छ, व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउला ।
मिथुन – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनसक्ने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आज सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । कृषिकर्ममा विशेष फाइदा होला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । जस्तोसुकै समस्याको समाधान मिल्नेछ ।
कर्कट – बोलीको प्रभाव बढ्ने तथा अभिव्यक्ति कलाको माध्यमबाट लाभ लिन सकिने समय छ । कर्मबल बढ्नाले आय वृद्धि होला । विशेष कार्यमा मित्रजनको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । मनोरञ्जनपूर्ण यात्राको योग छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट पनि धनलाभ हुने र सन्तान वा सहयोगीका माध्यमबाट विशेष काम बन्ने देखिन्छ ।
सिंह – आजको दिन श्रमअनुसारको मूल्य वा परिणाम नमिल्न सक्छ, सोचेभन्दा कमै फाइदा मिल्ने समय छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । तथापि, विगतका कमी–कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । विपरीतलिंगीप्रति आकर्षण बढ्नेछ । बौद्धिक तथा कलात्मक कार्यमा सफलता मिल्नेछ ।
कन्या – भौतिक साधन जुट्नुका साथै आम्दानी बढाउने काम सुरु गर्न सकिने समय छ । आयआर्जन राम्रै होला । नयाँ कामको प्रस्ताव आउने तथा धन आर्जनको योग छ भने सहयोगीहरू पनि भेटिनेछन् । तथापि, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने सम्भावना छ । परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ, ध्यान राख्नुहोला ।
तुला – प्रतिभाको कदर हुने र बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउनसक्ने समय छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने देखिन्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिक प्रतिस्पर्धामा अब्बल सावित हुने योग छ । साहसिक कार्यमा मन जानुका साथै सफलता पनि मिल्नेछ । सुखदयात्राको सम्भावना छ ।
वृश्चिक – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिएला । मित्रजनका साथ स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको कार्यबाट मिलेको सफलताले थप हौसला जगाउनेछ । ब्यापार–ब्यवसायमा राम्रै लाभ हुनेछ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ, ध्यान राख्नुहोला । दाम्पत्यसुख वृद्धिको योग छ । आरोग्यबल बढ्नेछ ।
धनु – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । नियमित काममा आलस्य जाग्ने भने ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । कसैसँग सामान्य मनमुटाव पनि पर्न सक्छ । आजको दिन खर्चको मात्रा केही बढ्ने देखिन्छ । आरोग्यता रहनेछ । बौद्धिक कार्य बन्नेछ । प्रतिकुलताकाक बाबजुद रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्नेछ ।
मकर – समय केही चुनौतीयुक्त रहने देखिन्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भवना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित होला । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । परिवारजनको सहयोग लिएर काम गर्ने प्रयास गर्दा आंशिक सफलता मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगति हुनेछ । विगतका कमी–कमजोरीलाई सुधार्ने मौका मिल्ला ।
कुम्भ – आजको दिन तपाईंबाट भएका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । नियमित कार्यमा फुर्सदिलो अनुभूति हुनुका साथै सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै अरुलाई प्रभावित तुल्याउन सकिने समय छ । रमाइलो जमघटको अवसर पनि प्राप्त हुने देखिन्छ । कतै अतिथिका रूपमा सत्कारसहित मिठो भोजन प्राप्त हुने योग छ ।
मीन – मेहनतले सम्मानित स्थान दिलाउने समय भएपनि आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । तर, नचिताएको ठाउँबाट धन आर्जन हुनाले मन हर्षित होला । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । आरोग्यबल बढ्नेछ । सुख–विलासको अवस्था रहला ।
प्रतिक्रिया