राजनीतिमा एक्लो व्यक्ति ‘शैलजा’ले सोध्छ- ‘राजनीति कति नैतिक हुन सक्छ ?’

राजनीतिमा एक्लो व्यक्ति ‘शैलजा’ले सोध्छ- ‘राजनीति कति नैतिक हुन सक्छ ?’


नेपाली प्रजातान्त्रिक आन्दोलनको आकाशमा शैलजा आचार्य (वि.सं. २००१-२०६६) एउटा यस्तो देदीप्यमान नक्षत्र हुन्, जसको चमक राजनीतिक जोड-घटाउ र समयको अन्धकारले कहिल्यै धमिल्याउन सकेन । शैलजाको वैचारिक उचाइ, दार्शनिक चेतना र सम्झौताहीन निष्ठाका अगाडि तत्कालीन समयका दिग्गज पुरुष नेताहरू समेत पुड्को देखिन्थे। शैलजा केवल एउटा राजनीतिक नाम मात्र होइनन्; उनी चेतनाको प्रखर अभ्यास, सङ्घर्षको कठोर चयन र चरित्रको सुदृढ निष्ठाको एउटा अजम्बरी माला हुन् । यहाँ प्रस्तुत मेरा विचारहरू शैलजा आचार्यको त्यही सङ्घर्षमय जीवन, दार्शनिक अडान र उतारचढावयुक्त राजनीतिक नियतिको एउटा एकीकृत व्यक्ति-चित्र हो ।

चेतनाको प्रादुर्भाव, बनारस र वैचारिक निर्माण

मानव जीवनमा चेतना र सङ्घर्षको सम्बन्ध आगो र उज्यालो जस्तै हुन्छ । जहाँ चेतनाको आगो बल्छ, त्यहाँ सङ्घर्षको प्रकाश स्वाभाविकीकरण भएर निस्कन्छ । शैलजाको जीवनमा यो चेतना कुनै आकस्मिक घटना थिएन, बल्कि यो त पुस्तौँदेखि खारिएको पारिवारिक विरासतको नैसर्गिक निरन्तरता थियो । आमातर्फको माइती कोइराला परिवार नेपालको प्रजातान्त्रिक चेतनाको एक आदिकेन्द्र थियो । उनका माइती हजुरबा कृष्णप्रसाद कोइरालालाई ‘नेपालको गान्धी’ भनिनुले नै उनको बाल्यकाल कस्तो नैतिक धरातलमा हुर्कियो भन्ने प्रष्ट पार्छ । वि.सं. २००७ सालको क्रान्तिमा शैलजाकी आमासहित परिवारका नौ सदस्यहरू जेल परेका थिए। भाषणबाट होइन, त्याग र जोखिमबाट मात्र चेतनाको पुस्तान्तरण हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्दै हुर्किएकी शैलजाका लागि राजनीति एउटा पवित्र कर्तव्य बन्न पुग्यो ।

युवावस्थामा भारतको प्रसिद्ध बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा अध्ययन गर्दा उनको यो चेतनाले सैद्धान्तिक र दार्शनिक रूप प्राप्त गऱ्यो । सन् १९५० को दशकको त्यो बौद्धिक परिवेश, जहाँ समानता, सामाजिक न्याय र नैतिक राजनीतिको तीव्र बहस हुन्थ्यो, त्यसले शैलजालाई वैचारिक रूपमा परिपक्व बनायो । भारत बसाइँका क्रममा उनले लोकनायक जयप्रकाश नारायण (जेपी) जस्ता निष्ठावान् नेताको सङ्गत पाइन्, जसले उनमा सम्झौताहीन राजनीतिको कहिल्यै नमेटिने छाप छोडिदियो । पछि भारतको प्रधानमन्त्री बनेका चन्द्रशेखरसँगको आत्मीय सम्बन्धले पनि उनको वैचारिक चेतनालाई झनै परिष्कृत बनायो । यी सङ्गतहरूले शैलजालाई राजनीति पद वा समझदारी मात्र होइन, बरु सत्य र आत्मसम्मानको पक्षपोषण हो भन्ने सिकाए ।

शैलजा साहस र सत्यनिष्ठाको प्रतीक हुनुहुन्थ्यो, तर उहाँ राजनीतिमा आफूलाई कहिल्यै ‘महिला’को साँघुरो घेरामा ‘फेमिनिष्ट’को रसहीन पहिचानमा सीमित राख्न चाहनुहुन्नथ्यो । उहाँको चेतनाले अधिकारलाई दान होइन, जन्मसिद्ध हक मान्थ्यो । यही कारणले उहाँले पार्टीको महिला नामधारी भातृसंस्था वा सङ्घमा सीमित भएर कहिल्यै काम गर्न रुचाउनुभएन र मूलधारकै राजनीतिमा पुरुषसरह प्रतिष्पर्धा गर्नुभयो ।

तानाशाही विरुद्ध विद्रोह र सशस्त्र सङ्घर्षको ‘दावानल’

शैलजा आचार्यको राजनीतिक यात्रा केवल बैठक र मञ्चहरूमा सीमित थिएन, त्यो त सडक र जेलको कठोर भुङ्ग्रोबाट सुरु भएको थियो । वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले निर्वाचित संसदीय व्यवस्था भङ्ग गरी पञ्चायती तानाशाही लागू गरेपछि कयौँ नेताहरूले सुरक्षित दूरी रोजे । तर, सत्र वर्षको चढ्दो जवानीको उमेरमा वि.सं. २०१७ साल फागुन ७ गते राजा महेन्द्रलाई कालो झण्डा प्रदर्शन र राजा महेन्द्रको आमन्त्रणमा आएकी बेलायतकी महारानीलाई नयाँ सडकमा कालो झण्डा देखाएर प्रजातन्त्र मास्ने शाही कदमको सशक्त विरोध गर्ने अग्रणी नेतृ शैलजा नै थिइन् । गौरी राणा, विजया बराल लगायत महिलाहरू समेत सम्मिलित सो विरोध प्रदर्शनले पञ्चायती शासनको जग नै हल्लाइदियो । तानाशाहीको त्यो अन्धकार युगमा केही सुकुमारीले देखाएको यो असाधारण साहस नेपाली राजनीतिकै एउटा उदाहरणीय मिथक बन्यो, जसका कारण उनले लामो र कठोर जेल जीवन समेत भोग्नुपऱ्यो ।

नेपाली काङ्ग्रेसको युवा सङ्गठन ‘प्रजातान्त्रिक समाजवादी युवा लिग’ (DSYL) को अध्यक्ष हुँदै बनारसबाट प्रकाशित हुने नेपाली काँग्रेसको ऐतिहासिक मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकका रूपमा उहाँले पञ्चायती दमनका कारण छिन्नभिन्न र निराश बनेका युवाहरूमा वैचारिक ऊर्जा र स्पष्ट दिशानिर्देश भर्ने काम गर्नुभयो । वि.सं. २०३०-३१ तिर नेपालमा लोकतन्त्र पुनर्स्थापनाका लागि चालिएको सशस्त्र सङ्घर्षका क्रममा उनको भूमिका झनै जोखिमपूर्ण रह्यो। भारतको भूमिमा बसेर भूमिगत रूपमा हतियार सङ्कलन गर्नु फलामको च्युरा चपाउनु सरह थियो । एउटा सानो कुरामा पनि ३-४ वर्ष जेल बस्नुपर्ने त्रास र हतियार तस्करहरूको अविश्वसनीयताका बीच उनले राजस्थान-पाकिस्तान सीमादेखि भारतका विभिन्न भागमा कठीन परिस्थितिको सामना गरिन् ।

(प्रस्तुत तस्बिर शैलजा आचार्य अल्जाइमर्स समस्याबाट थलिएर बैंककको अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको बेला लेखक उहाँलाई भेट्न बैंकक गएको बेलाको हो ।)

यसै क्रममा भारतको मैसूर शहरमा हतियार खरिद अभियानका बेला तस्करहरूको धोकाधडीका कारण उनीमाथि बलात्कार र यौनजन्य हिंसाको प्रयास भयो । एक महिलाका रूपमा भोग्नुपरेको यो अपमानले धेरैलाई तोड्न सक्थ्यो, तर शैलजाले आफ्नो व्यक्तिगत पीडालाई सामूहिक मुक्तिको इन्धन बनाइन् । तत्कालीन समयमा जननायक वीपी कोइरालाको सुझबुझ र भारतीय प्रशासनको सहयोगका कारण मात्र उनको जीवन रक्षा सम्भव भएको थियो ।

शैलजाको यही विद्रोही र सम्झौताहीन स्वभावलाई नजिकबाट नियालेर नै जननायक वीपी कोइरालाले आफ्नो ‘जेल जर्नल’ (पृ. १७८) मा लेख्नुभएको थियो- ‘तेजश्वी छ त्यो (शैलजा), र उपयुक्त अवसर पाइ भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाइ भने – त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव !’

बीपीको यो भनाइ व्यक्तिगत भन्दा पनि दार्शनिक थियो । ‘अग्निको स्वभाव’ विचारको त्यो तीव्रता थियो, जसले कुनै पनि बन्धन वा सम्झौता स्वीकार्दैनथ्यो । विवाहले आफ्नो क्रान्तिकारी सङ्घर्ष र वैचारिक स्वतन्त्रतालाई सीमित गर्ने खतरा देखेपछि उनले एकान्त रोजिन् तर उद्देश्य त्यागिनन् । उनको अविवाहित जीवन अभावको प्रतीक नभएर पूर्णता र आत्मनिर्णयको चयन थियो । राजनीतिमा नाता-सम्बन्ध प्रायः ढाल बन्ने गर्छ, तर शैलजा यसको पनि अपवाद थिइन् । बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच वि.सं. २००७ सालपछि वैचारिक मतभेद गहिरिँदा शैलजाले रगत सम्बन्धका मामा मातृका बाबु भन्दा विचार र सिद्धान्तलाई माथि राख्दै बीपीको पक्ष रोजिन् ।

सुशासनको संघर्ष, पुनः गिरफ्तारी र राष्ट्रिय मेलमिलाप

वि.सं. २०३३ सालमा जब वीपी कोइराला, गणेशमान सिंह, खुमबहादुर खडकाहरू ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किए, शैलजा पनि उनीहरूसँगै काठमाडौँको त्रिभुवन विमानस्थलमा उत्रिएकी थिइन् । विमानस्थलबाटै बीपी र गणेशमान पक्राउ परेर सुन्दरीजल जेल पुर्याइए भने शैलजालाई त्रिपुरेश्वरस्थित महिला कारागार पठाइयो । जेलबाट मुक्त भएपछि उनी नेपालमा मेलमिलाप नीतिको प्रखर विश्लेषक र व्याख्याताका रूपमा देखा परिन् । पञ्चायत कालको प्रतिकूल समयमा कयौँ नेताहरू आफ्नो निष्ठाबाट विचलित भइरहँदा शैलजा भने आफ्नो सिद्धान्त र आदर्शमा हिमाल जस्तै अडिग रहिन् ।

प्रजातन्त्रको पुनर्स्थापनापछि देशको पहिलो महिला उपप्रधानमन्त्री बन्नुभएकी शैलजा पदमा बसेर जनताको हितमा निर्णय गर्न र सत्य बोल्न कहिल्यै हच्किनुभएन । वि.सं. २०४९ सालमा कृषिमन्त्री हुँदा आफ्नै मन्त्रालय र सरकारभित्र व्याप्त भ्रष्टाचारको डटेर विरोध गर्दै उहाँले संसद्मा दिएको अभिव्यक्तिले कम्युनिष्टहरूको उक्साहटबाट राजनीतिक वृत्तमा हलचल ल्याइदियो । तत्कालीन प्रधानमन्त्री गिरिजा कोइरालाले आफ्नो भनाइ फिर्ता लिन वा राजीनामा दिन दबाब दिँदा समेत उहाँले आफ्नो अडान छोड्नुभएन, बरु मन्त्री पदबाटै राजीनामा दिन तयार हुनुभयो ।

त्यसैगरी, उपप्रधानमन्त्री एवं जलस्रोत मन्त्री रहँदा जल माफियाहरू विरुद्ध उहाँ डटेर उभिनुभयो । नेपालको जलस्रोत बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा जानुहुँदैन र साना, मध्यम एवं स्वदेशी लगानीका जलविद्युत योजनाहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको नीति थियो, जसको बलियो आधार उहाँले स्थापना गरेरै छोड्नुभयो । उहाँका ती अडान र भ्रष्टाचारविरोधी कदमहरूको सान्दर्भिकता आजको विकृत राजनीतिमा झन् प्रबल भएर देखा परिरहेको छ ।

पारिवारिक चक्रव्यूह, घेराबन्दी र दुःखद अवसान

गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालापछिको विरासत सम्हाल्न सक्ने र नेपाली काङ्ग्रेसको सर्वोच्च नेतृत्व लिन सक्ने एकमात्र सक्षम नेतृका रूपमा पार्टी पङ्क्तिमा शैलजाको नाम स्थापित भइसकेको थियो । तर, वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनपछि उनको राजनीतिक जीवनमा एउटा अप्रत्याशित र दुखद् मोड आयो । सो निर्वाचनमा काङ्ग्रेसले बहुमत मात्र गुमाएन, संसदमा दोस्रो दलमा खुम्चिन पुग्यो । पराजयको नैतिक जिम्मेवारी लिँदै गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता नलड्ने घोषणा गरे ।

त्यस समय संसदीय दलभित्र कोइराला पक्षकै बहुमत थियो र सुशील कोइराला चुनाव हारिसकेकाले स्वाभाविक रूपमा शैलजा आचार्य नै संसदीय दलको नेता बन्ने निश्चित थियो। कोइराला परिवार र सिङ्गो पार्टीमा उनको जतिको उचाइ र योग्यता भएको अर्को कोही थिएन । तर, राजनीतिले अनपेक्षित मोड लियो । गिरिजाप्रसाद कोइरालाले आफ्नै परिवारकी सक्षम सदस्य शैलजालाई छोडेर शेरबहादुर देउवालाई समर्थन गरिदिए । यो निर्णय नै शेरबहादुर देउवाको राजनीतिक भाग्योदय र शैलजा आचार्यको राजनीतिक असफलताको कारक बन्न पुग्यो ।

यो निर्णयभित्र पार्टीभित्र नैतिकता अनुपालनको सवालमा मतभिन्नता, पारिवारिक ईर्ष्या र गुटगत स्वार्थको ठूलो खेल थियो । सुशील कोइराला स्वयम् शैलजाको नेतृत्व स्वीकार्नुभन्दा बरु खुमबहादुर खड्का दलको नेता बनून् भन्ने चाहन्थे । पछि यही आन्तरिक द्वन्द्वका कारण गिरिजाप्रसादले देउवालाई अघि सार्ने निर्णय गरे । शैलजा रोकिँदा सुशील कोइरालाले राहत त महसुस गरे, तर यसले काङ्ग्रेसभित्रको एउटा ठूलो र न्यायपूर्ण सम्भावनाको भ्रूणहत्या गरिदियो ।

आफ्नै कान्छा मामा गिरिजाप्रसाद कोइरालाको नजिक रहेर पनि उहाँले पार्टीमा लिएका गलत नीतिहरूको सधैँ विरोध गर्नुभयो । पार्टीबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरूलाई किनारा लगाउने नीतिको उहाँले कडा प्रतिवाद गर्नुभयो । तर, अन्ततः उहाँ आफ्नै परिवार र गुटभित्र एक्लिँदै जानुभयो । वि.सं. २०५६ सालको आमनिर्वाचनमा उहाँकै नजिकका सहयोगीहरू उनीविरुद्ध उभिए र उनले पराजय भोग्नुपऱ्यो । १०औँ महाधिवेशनसम्म पुग्दा यो अन्तद्वन्द्व यति चर्कियो कि सुजाता कोइरालाको केन्द्रीय सदस्यको उम्मेदवारीविरुद्ध शैलजा आफैँले योग्यताको प्रश्न उठाउँदै विरोध गर्नुपरकेो थियो ।

शत्रुबाट भन्दा पनि आफ्नाहरूबाटै निरन्तर प्रताडित, उपेक्षित र घेराबन्दीमा परेपछि उनी चरम निराशामा पुगिन् । यही मानसिक चोटका कारण प्रतिगमनविरुद्धका आन्दोलनहरूमा उनको सक्रियता घट्दै गयो र उनी बिस्तारै ‘अल्जाइमर्स्’ (स्मृतिभ्रंश) रोगको सिकार भइन् । जीवनको उत्तरार्धमा भारतका लागि नेपालको राजदूत भएर दिल्लीमा बस्ने र उपचार गराउने उहाँको इच्छा थियो, तर त्यो पनि पूरा हुन दिइएन ।

बिमार बढ्दै गएपछि पहिले नयाँ दिल्लीमा उपचार गरियो, तर त्यहाँ कुनै सुधार नभएपछि बैंकक लैजाँदा थाई डाक्टरहरूले इन्डियन डाक्टरहरूले चलाएको गलत र घातक औषधि देखेर स्तब्ध र रुष्ट समेत भएका थिए। आखिर त्यहाँ पनि सुधार आएन । अन्त्यमा त्रिवि शिक्षण अस्पतालमा यही रोगमाथि निमोनिया समेत थपिएपछि उहाँलाई भर्ना गरियो र वि.सं. २०६६ जेठ २९ गते यो तेजस्वी अग्निको भौतिक अवसान भयो ।

शैलजा आचार्य नेपाली राजनीतिको एउटा यस्तो ऐतिहासिक ऐना हुन्, जसले सोध्छ- राजनीति कति नैतिक हुन सक्छ ? र, एक व्यक्ति कति एक्लो भएर पनि इतिहाससँग इमानदार रहन सक्छ ?

नेपाली काङ्ग्रेसलाई एउटा सबल र निर्विकल्प नेतृत्व दिन सक्ने क्षमता भएकी शैलजा जस्ती अग्ली नेतृलाई पार्टीभित्रैबाट घेराबन्दी गरेर राजनीतिक अवसानतर्फ धकेलियो । शैलजाको यो दुःखद नियति केवल एउटा व्यक्तिविशेषको कथा होइन, बरु नेपाली राजनीति र विशेषगरी काङ्ग्रेसभित्र निष्ठावान्, त्यागी र प्रतिभावान् योद्धाहरूलाई पाखा लगाई पाशविक र अवसरवादी प्रवृत्तिको उदय गराउने एउटा डरलाग्दो र ऐतिहासिक दस्तावेज हो । शब्दभन्दा गहन र पदभन्दा ठूलो उनको यो विरासत इतिहासको पानामा सधैँ जीवन्त रहनेछ ।