शैलजा आचार्य नेपाली राजनीतिको एउटा यस्तो ऐतिहासिक ऐना हुन्, जसले सोध्छ- राजनीति कति नैतिक हुन सक्छ ? र, एक व्यक्ति कति एक्लो भएर पनि इतिहाससँग इमानदार रहन सक्छ ?
✍ जयप्रकाश आनन्द

नेपाली प्रजातान्त्रिक आन्दोलनको आकाशमा शैलजा आचार्य (वि.सं. २००१-२०६६) एउटा यस्तो देदीप्यमान नक्षत्र हुन्, जसको चमक राजनीतिक जोड-घटाउ र समयको अन्धकारले कहिल्यै धमिल्याउन सकेन । शैलजाको वैचारिक उचाइ, दार्शनिक चेतना र सम्झौताहीन निष्ठाका अगाडि तत्कालीन समयका दिग्गज पुरुष नेताहरू समेत पुड्को देखिन्थे। शैलजा केवल एउटा राजनीतिक नाम मात्र होइनन्; उनी चेतनाको प्रखर अभ्यास, सङ्घर्षको कठोर चयन र चरित्रको सुदृढ निष्ठाको एउटा अजम्बरी माला हुन् । यहाँ प्रस्तुत मेरा विचारहरू शैलजा आचार्यको त्यही सङ्घर्षमय जीवन, दार्शनिक अडान र उतारचढावयुक्त राजनीतिक नियतिको एउटा एकीकृत व्यक्ति-चित्र हो ।
चेतनाको प्रादुर्भाव, बनारस र वैचारिक निर्माण
मानव जीवनमा चेतना र सङ्घर्षको सम्बन्ध आगो र उज्यालो जस्तै हुन्छ । जहाँ चेतनाको आगो बल्छ, त्यहाँ सङ्घर्षको प्रकाश स्वाभाविकीकरण भएर निस्कन्छ । शैलजाको जीवनमा यो चेतना कुनै आकस्मिक घटना थिएन, बल्कि यो त पुस्तौँदेखि खारिएको पारिवारिक विरासतको नैसर्गिक निरन्तरता थियो । आमातर्फको माइती कोइराला परिवार नेपालको प्रजातान्त्रिक चेतनाको एक आदिकेन्द्र थियो । उनका माइती हजुरबा कृष्णप्रसाद कोइरालालाई ‘नेपालको गान्धी’ भनिनुले नै उनको बाल्यकाल कस्तो नैतिक धरातलमा हुर्कियो भन्ने प्रष्ट पार्छ । वि.सं. २००७ सालको क्रान्तिमा शैलजाकी आमासहित परिवारका नौ सदस्यहरू जेल परेका थिए। भाषणबाट होइन, त्याग र जोखिमबाट मात्र चेतनाको पुस्तान्तरण हुन्छ भन्ने सत्यलाई आत्मसात् गर्दै हुर्किएकी शैलजाका लागि राजनीति एउटा पवित्र कर्तव्य बन्न पुग्यो ।
युवावस्थामा भारतको प्रसिद्ध बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा अध्ययन गर्दा उनको यो चेतनाले सैद्धान्तिक र दार्शनिक रूप प्राप्त गऱ्यो । सन् १९५० को दशकको त्यो बौद्धिक परिवेश, जहाँ समानता, सामाजिक न्याय र नैतिक राजनीतिको तीव्र बहस हुन्थ्यो, त्यसले शैलजालाई वैचारिक रूपमा परिपक्व बनायो । भारत बसाइँका क्रममा उनले लोकनायक जयप्रकाश नारायण (जेपी) जस्ता निष्ठावान् नेताको सङ्गत पाइन्, जसले उनमा सम्झौताहीन राजनीतिको कहिल्यै नमेटिने छाप छोडिदियो । पछि भारतको प्रधानमन्त्री बनेका चन्द्रशेखरसँगको आत्मीय सम्बन्धले पनि उनको वैचारिक चेतनालाई झनै परिष्कृत बनायो । यी सङ्गतहरूले शैलजालाई राजनीति पद वा समझदारी मात्र होइन, बरु सत्य र आत्मसम्मानको पक्षपोषण हो भन्ने सिकाए ।
शैलजा साहस र सत्यनिष्ठाको प्रतीक हुनुहुन्थ्यो, तर उहाँ राजनीतिमा आफूलाई कहिल्यै ‘महिला’को साँघुरो घेरामा ‘फेमिनिष्ट’को रसहीन पहिचानमा सीमित राख्न चाहनुहुन्नथ्यो । उहाँको चेतनाले अधिकारलाई दान होइन, जन्मसिद्ध हक मान्थ्यो । यही कारणले उहाँले पार्टीको महिला नामधारी भातृसंस्था वा सङ्घमा सीमित भएर कहिल्यै काम गर्न रुचाउनुभएन र मूलधारकै राजनीतिमा पुरुषसरह प्रतिष्पर्धा गर्नुभयो ।
तानाशाही विरुद्ध विद्रोह र सशस्त्र सङ्घर्षको ‘दावानल’
शैलजा आचार्यको राजनीतिक यात्रा केवल बैठक र मञ्चहरूमा सीमित थिएन, त्यो त सडक र जेलको कठोर भुङ्ग्रोबाट सुरु भएको थियो । वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले निर्वाचित संसदीय व्यवस्था भङ्ग गरी पञ्चायती तानाशाही लागू गरेपछि कयौँ नेताहरूले सुरक्षित दूरी रोजे । तर, सत्र वर्षको चढ्दो जवानीको उमेरमा वि.सं. २०१७ साल फागुन ७ गते राजा महेन्द्रलाई कालो झण्डा प्रदर्शन र राजा महेन्द्रको आमन्त्रणमा आएकी बेलायतकी महारानीलाई नयाँ सडकमा कालो झण्डा देखाएर प्रजातन्त्र मास्ने शाही कदमको सशक्त विरोध गर्ने अग्रणी नेतृ शैलजा नै थिइन् । गौरी राणा, विजया बराल लगायत महिलाहरू समेत सम्मिलित सो विरोध प्रदर्शनले पञ्चायती शासनको जग नै हल्लाइदियो । तानाशाहीको त्यो अन्धकार युगमा केही सुकुमारीले देखाएको यो असाधारण साहस नेपाली राजनीतिकै एउटा उदाहरणीय मिथक बन्यो, जसका कारण उनले लामो र कठोर जेल जीवन समेत भोग्नुपऱ्यो ।
नेपाली काङ्ग्रेसको युवा सङ्गठन ‘प्रजातान्त्रिक समाजवादी युवा लिग’ (DSYL) को अध्यक्ष हुँदै बनारसबाट प्रकाशित हुने नेपाली काँग्रेसको ऐतिहासिक मुखपत्र ‘तरुण’ पत्रिकाको सम्पादकका रूपमा उहाँले पञ्चायती दमनका कारण छिन्नभिन्न र निराश बनेका युवाहरूमा वैचारिक ऊर्जा र स्पष्ट दिशानिर्देश भर्ने काम गर्नुभयो । वि.सं. २०३०-३१ तिर नेपालमा लोकतन्त्र पुनर्स्थापनाका लागि चालिएको सशस्त्र सङ्घर्षका क्रममा उनको भूमिका झनै जोखिमपूर्ण रह्यो। भारतको भूमिमा बसेर भूमिगत रूपमा हतियार सङ्कलन गर्नु फलामको च्युरा चपाउनु सरह थियो । एउटा सानो कुरामा पनि ३-४ वर्ष जेल बस्नुपर्ने त्रास र हतियार तस्करहरूको अविश्वसनीयताका बीच उनले राजस्थान-पाकिस्तान सीमादेखि भारतका विभिन्न भागमा कठीन परिस्थितिको सामना गरिन् ।

यसै क्रममा भारतको मैसूर शहरमा हतियार खरिद अभियानका बेला तस्करहरूको धोकाधडीका कारण उनीमाथि बलात्कार र यौनजन्य हिंसाको प्रयास भयो । एक महिलाका रूपमा भोग्नुपरेको यो अपमानले धेरैलाई तोड्न सक्थ्यो, तर शैलजाले आफ्नो व्यक्तिगत पीडालाई सामूहिक मुक्तिको इन्धन बनाइन् । तत्कालीन समयमा जननायक वीपी कोइरालाको सुझबुझ र भारतीय प्रशासनको सहयोगका कारण मात्र उनको जीवन रक्षा सम्भव भएको थियो ।
शैलजाको यही विद्रोही र सम्झौताहीन स्वभावलाई नजिकबाट नियालेर नै जननायक वीपी कोइरालाले आफ्नो ‘जेल जर्नल’ (पृ. १७८) मा लेख्नुभएको थियो- ‘तेजश्वी छ त्यो (शैलजा), र उपयुक्त अवसर पाइ भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाइ भने – त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव !’
बीपीको यो भनाइ व्यक्तिगत भन्दा पनि दार्शनिक थियो । ‘अग्निको स्वभाव’ विचारको त्यो तीव्रता थियो, जसले कुनै पनि बन्धन वा सम्झौता स्वीकार्दैनथ्यो । विवाहले आफ्नो क्रान्तिकारी सङ्घर्ष र वैचारिक स्वतन्त्रतालाई सीमित गर्ने खतरा देखेपछि उनले एकान्त रोजिन् तर उद्देश्य त्यागिनन् । उनको अविवाहित जीवन अभावको प्रतीक नभएर पूर्णता र आत्मनिर्णयको चयन थियो । राजनीतिमा नाता-सम्बन्ध प्रायः ढाल बन्ने गर्छ, तर शैलजा यसको पनि अपवाद थिइन् । बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीच वि.सं. २००७ सालपछि वैचारिक मतभेद गहिरिँदा शैलजाले रगत सम्बन्धका मामा मातृका बाबु भन्दा विचार र सिद्धान्तलाई माथि राख्दै बीपीको पक्ष रोजिन् ।
सुशासनको संघर्ष, पुनः गिरफ्तारी र राष्ट्रिय मेलमिलाप
वि.सं. २०३३ सालमा जब वीपी कोइराला, गणेशमान सिंह, खुमबहादुर खडकाहरू ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीति लिएर स्वदेश फर्किए, शैलजा पनि उनीहरूसँगै काठमाडौँको त्रिभुवन विमानस्थलमा उत्रिएकी थिइन् । विमानस्थलबाटै बीपी र गणेशमान पक्राउ परेर सुन्दरीजल जेल पुर्याइए भने शैलजालाई त्रिपुरेश्वरस्थित महिला कारागार पठाइयो । जेलबाट मुक्त भएपछि उनी नेपालमा मेलमिलाप नीतिको प्रखर विश्लेषक र व्याख्याताका रूपमा देखा परिन् । पञ्चायत कालको प्रतिकूल समयमा कयौँ नेताहरू आफ्नो निष्ठाबाट विचलित भइरहँदा शैलजा भने आफ्नो सिद्धान्त र आदर्शमा हिमाल जस्तै अडिग रहिन् ।
शैलजाको विद्रोही र सम्झौताहीन स्वभावलाई नजिकबाट नियालेर जननायक वीपी कोइरालाले आफ्नो ‘जेल जर्नल’ (पृ. १७८) मा लेख्नुभएको थियो- ‘तेजश्वी छ त्यो (शैलजा), र उपयुक्त अवसर पाइ भने उपयुक्त पुरुषको प्रेम सम्बन्धमा बाँधिन पाइ भने – त्यसको तेजश्वीता हितकर हुनेछ, नत्र त्यसले विपद ल्याउन बेर मान्नेछैन । अग्निको स्वभाव !’
प्रजातन्त्रको पुनर्स्थापनापछि देशको पहिलो महिला उपप्रधानमन्त्री बन्नुभएकी शैलजा पदमा बसेर जनताको हितमा निर्णय गर्न र सत्य बोल्न कहिल्यै हच्किनुभएन । वि.सं. २०४९ सालमा कृषिमन्त्री हुँदा आफ्नै मन्त्रालय र सरकारभित्र व्याप्त भ्रष्टाचारको डटेर विरोध गर्दै उहाँले संसद्मा दिएको अभिव्यक्तिले कम्युनिष्टहरूको उक्साहटबाट राजनीतिक वृत्तमा हलचल ल्याइदियो । तत्कालीन प्रधानमन्त्री गिरिजा कोइरालाले आफ्नो भनाइ फिर्ता लिन वा राजीनामा दिन दबाब दिँदा समेत उहाँले आफ्नो अडान छोड्नुभएन, बरु मन्त्री पदबाटै राजीनामा दिन तयार हुनुभयो ।
त्यसैगरी, उपप्रधानमन्त्री एवं जलस्रोत मन्त्री रहँदा जल माफियाहरू विरुद्ध उहाँ डटेर उभिनुभयो । नेपालको जलस्रोत बहुराष्ट्रिय कम्पनीहरूको कब्जामा जानुहुँदैन र साना, मध्यम एवं स्वदेशी लगानीका जलविद्युत योजनाहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने उहाँको नीति थियो, जसको बलियो आधार उहाँले स्थापना गरेरै छोड्नुभयो । उहाँका ती अडान र भ्रष्टाचारविरोधी कदमहरूको सान्दर्भिकता आजको विकृत राजनीतिमा झन् प्रबल भएर देखा परिरहेको छ ।
पारिवारिक चक्रव्यूह, घेराबन्दी र दुःखद अवसान
गणेशमान सिंह, किसुनजी र गिरिजाप्रसाद कोइरालापछिको विरासत सम्हाल्न सक्ने र नेपाली काङ्ग्रेसको सर्वोच्च नेतृत्व लिन सक्ने एकमात्र सक्षम नेतृका रूपमा पार्टी पङ्क्तिमा शैलजाको नाम स्थापित भइसकेको थियो । तर, वि.सं. २०५१ सालको मध्यावधि निर्वाचनपछि उनको राजनीतिक जीवनमा एउटा अप्रत्याशित र दुखद् मोड आयो । सो निर्वाचनमा काङ्ग्रेसले बहुमत मात्र गुमाएन, संसदमा दोस्रो दलमा खुम्चिन पुग्यो । पराजयको नैतिक जिम्मेवारी लिँदै गिरिजाप्रसाद कोइरालाले संसदीय दलको नेता नलड्ने घोषणा गरे ।
त्यस समय संसदीय दलभित्र कोइराला पक्षकै बहुमत थियो र सुशील कोइराला चुनाव हारिसकेकाले स्वाभाविक रूपमा शैलजा आचार्य नै संसदीय दलको नेता बन्ने निश्चित थियो। कोइराला परिवार र सिङ्गो पार्टीमा उनको जतिको उचाइ र योग्यता भएको अर्को कोही थिएन । तर, राजनीतिले अनपेक्षित मोड लियो । गिरिजाप्रसाद कोइरालाले आफ्नै परिवारकी सक्षम सदस्य शैलजालाई छोडेर शेरबहादुर देउवालाई समर्थन गरिदिए । यो निर्णय नै शेरबहादुर देउवाको राजनीतिक भाग्योदय र शैलजा आचार्यको राजनीतिक असफलताको कारक बन्न पुग्यो ।
यो निर्णयभित्र पार्टीभित्र नैतिकता अनुपालनको सवालमा मतभिन्नता, पारिवारिक ईर्ष्या र गुटगत स्वार्थको ठूलो खेल थियो । सुशील कोइराला स्वयम् शैलजाको नेतृत्व स्वीकार्नुभन्दा बरु खुमबहादुर खड्का दलको नेता बनून् भन्ने चाहन्थे । पछि यही आन्तरिक द्वन्द्वका कारण गिरिजाप्रसादले देउवालाई अघि सार्ने निर्णय गरे । शैलजा रोकिँदा सुशील कोइरालाले राहत त महसुस गरे, तर यसले काङ्ग्रेसभित्रको एउटा ठूलो र न्यायपूर्ण सम्भावनाको भ्रूणहत्या गरिदियो ।
आफ्नै कान्छा मामा गिरिजाप्रसाद कोइरालाको नजिक रहेर पनि उहाँले पार्टीमा लिएका गलत नीतिहरूको सधैँ विरोध गर्नुभयो । पार्टीबाट गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी नेताहरूलाई किनारा लगाउने नीतिको उहाँले कडा प्रतिवाद गर्नुभयो । तर, अन्ततः उहाँ आफ्नै परिवार र गुटभित्र एक्लिँदै जानुभयो । वि.सं. २०५६ सालको आमनिर्वाचनमा उहाँकै नजिकका सहयोगीहरू उनीविरुद्ध उभिए र उनले पराजय भोग्नुपऱ्यो । १०औँ महाधिवेशनसम्म पुग्दा यो अन्तद्वन्द्व यति चर्कियो कि सुजाता कोइरालाको केन्द्रीय सदस्यको उम्मेदवारीविरुद्ध शैलजा आफैँले योग्यताको प्रश्न उठाउँदै विरोध गर्नुपरकेो थियो ।
शत्रुबाट भन्दा पनि आफ्नाहरूबाटै निरन्तर प्रताडित, उपेक्षित र घेराबन्दीमा परेपछि उनी चरम निराशामा पुगिन् । यही मानसिक चोटका कारण प्रतिगमनविरुद्धका आन्दोलनहरूमा उनको सक्रियता घट्दै गयो र उनी बिस्तारै ‘अल्जाइमर्स्’ (स्मृतिभ्रंश) रोगको सिकार भइन् । जीवनको उत्तरार्धमा भारतका लागि नेपालको राजदूत भएर दिल्लीमा बस्ने र उपचार गराउने उहाँको इच्छा थियो, तर त्यो पनि पूरा हुन दिइएन ।
बिमार बढ्दै गएपछि पहिले नयाँ दिल्लीमा उपचार गरियो, तर त्यहाँ कुनै सुधार नभएपछि बैंकक लैजाँदा थाई डाक्टरहरूले इन्डियन डाक्टरहरूले चलाएको गलत र घातक औषधि देखेर स्तब्ध र रुष्ट समेत भएका थिए। आखिर त्यहाँ पनि सुधार आएन । अन्त्यमा त्रिवि शिक्षण अस्पतालमा यही रोगमाथि निमोनिया समेत थपिएपछि उहाँलाई भर्ना गरियो र वि.सं. २०६६ जेठ २९ गते यो तेजस्वी अग्निको भौतिक अवसान भयो ।
शैलजा आचार्य नेपाली राजनीतिको एउटा यस्तो ऐतिहासिक ऐना हुन्, जसले सोध्छ- राजनीति कति नैतिक हुन सक्छ ? र, एक व्यक्ति कति एक्लो भएर पनि इतिहाससँग इमानदार रहन सक्छ ?
नेपाली काङ्ग्रेसलाई एउटा सबल र निर्विकल्प नेतृत्व दिन सक्ने क्षमता भएकी शैलजा जस्ती अग्ली नेतृलाई पार्टीभित्रैबाट घेराबन्दी गरेर राजनीतिक अवसानतर्फ धकेलियो । शैलजाको यो दुःखद नियति केवल एउटा व्यक्तिविशेषको कथा होइन, बरु नेपाली राजनीति र विशेषगरी काङ्ग्रेसभित्र निष्ठावान्, त्यागी र प्रतिभावान् योद्धाहरूलाई पाखा लगाई पाशविक र अवसरवादी प्रवृत्तिको उदय गराउने एउटा डरलाग्दो र ऐतिहासिक दस्तावेज हो । शब्दभन्दा गहन र पदभन्दा ठूलो उनको यो विरासत इतिहासको पानामा सधैँ जीवन्त रहनेछ ।
प्रतिक्रिया