रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ । सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।
छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुऱ्याउनका लागि एउटा देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउने प्रावधान छैन । बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बाढीको बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनौँ नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केशरीले बताउनुभयो ।
भारतले आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केशरीले बताउनुभयो । भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको तीनवटा ढोका सुलीसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानमा पर्दै आइरहेको उहाँले बताउनुभयो ।
गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुलीसगेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित २४सै घण्टा बाँधमा बस्दै आइरहेका केशरीले जानकारी दिनुभयो ।
बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले निकास नपाउने र पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिनुभयो ।
बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताउनुभयो । गौरमा बाढीको पानी निकास नहुँदा ठूलो धनजनको क्षति हुँदै आइरहेको छ ।
केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी)ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो । नेपाल–भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताउनुभयो । तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाँध मर्मतको बाहनामा माटो थपेको र चौडाइ पनि बढाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो ।
भारतले एकतर्फी रूपमा पूर्वमा वाग्मती नदीदेखि र पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्मको पाँच किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पार्दै आएको उहाँले बताउनुभयो ।
विसं २०७७ मा आफू नगरप्रमुख हुँदा गौर नगरपालिका-२ महादेवपट्टि गाउँस्थित रहेको बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको तर अहिले भारतले मनपरी ढङ्गले बाँध मर्मतका नाममा अग्लो तथा बलियो बनाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलीसगेट (पानी निकास हुने ढोका) बन्द गरेपछि गौरवासी झन् समस्यामा पर्दै आइरहेको उहाँले बताउनुभयो । बाँध र सुलीसगेट नखोलेका कारण गौर हरेक वर्ष डुबानमा परिरहेको उहाँको भनाइ छ ।
यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डिएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकार्षण गराएको बताउनुभयो । डिएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको प्रजिअ भुसालले बताउनुभयो ।
दुई देशको सीमा र अन्तरराष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
भारतले एकपक्षीय रूपमा बाँध बाधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकम गौरका नौवटै वडा र इशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ । सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौँको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको छ ।
- रासस
प्रतिक्रिया