बन्दीको रासनमा कमिशनको खेल

बन्दीको रासनमा कमिशनको खेल


-यदुनाथ बञ्जारा
सरकारले सेवामूलक ऐनअन्तर्गत सञ्चालनमा ल्याएको खाद्य संस्थानले कैदी–बन्दीहरूलाई खुवाउने रासनमा अनियमितता गरेको रहस्योद्घाटन भएको छ । कैदी–बन्दीहरूलाई चामल आपूर्ति गर्ने जिम्मा लिएको नेपाल खाद्य संस्थानले उनीहरूलाई आपूर्ति गरेको अरुवा सोना मन्सुली चामल बजार मूल्यभन्दा आठ रुपैयाँ प्रतिकिलो महँगोमा कारागार कार्यालयलाई बिक्री गर्ने गरेको पाइएको छ ।
बजारमा ३४ रुपैयाँ प्रतिकिलोमा पाइने अरुवा सोना मन्सुली चामलको संस्थानको बिक्री मूल्य प्रतिकिलो ३५ रुपैयाँ पचास पैसा रहेको छ । आफ्नै कार्यालयबाट खुद्रा बिक्री गरिने मूल्यभन्दा कैदीबन्दीहरूलाई बिक्री गरिने मूल्यमा ६ रुपैयाँ पचास पैसा बढी अर्थात् ४२ रुपैयाँ प्रतिकिलो लिने गरेका छन् । कास्की कारागारमा हाल करिब तीन सय २५ जना कैदी बन्दी रहेका छन् । उनीहरूलाई मात्र वार्षिक ८१९०० केजी चामल खरिद गर्नुपर्दा वार्षिक पाँच लाख ३२ हजार ३५० रुपैयाँ बढी तिर्नु परिरहेको छ भन्ने खुला बजारको तुलनामा वार्षिक ६ लाख ६५ हजार दुई सय रुपैयाँ बढी रकम व्यहोर्नुपर्छ ।
नेपालमा हाल १३ हजार कैदी बन्दी रहेका छन् । यी सबैलाई रासन (रसद) आपूर्ति गर्ने संस्थानले कारागार व्यवस्थापन विभाग काठमाडौंमा देशभरका सम्पूर्ण कारागारको चामल आपूर्तिका ठेक्का सम्झौता गर्दा न्यूनतम दररेटमा ठेक्का सम्झौता गर्नुपर्नेमा संस्थानकै खुद्रा मूल्यभन्दा प्रतिकिलो सरदर ६ रुपैयाँ बढीमा सम्झौता भएको छ । कारागार व्यवस्थापन विभाग र नेपाल खाद्य संस्थानबीच भएको चामल आपूर्ति ठेक्का सम्झौतामा आर्थिक अनियमिमताको आशङ्का उत्पन्न भएको छ । हाल नेपालमा करिब १३ हजार कैदी बन्दी छन् । उनीहरूलाई वार्षिक ३२ लाख ७६ हजार किलोग्राम चामल खपत हुन्छ । संस्थानकै खुद्रा मूल्यभन्दा बढी लिएको प्रतिकिलो ६ रुपैयाँ ५० पैसाले रु. दुई करोड १२ लाख ९४ हजार रुपैयाँ कारागार व्यवस्थापन विभागले बढी तिर्नुपर्ने देखिन्छ तर त्यो रकम कहाँसम्म पुग्छ त्यो छानबिन गरी सत्यतथ्य अगाडि ल्याउन जरुरी रहेको छ । बजार मूल्यभन्दा सरदर आठ रुपैयाँ प्रतिकिलोमा बढी र खुद संस्थानकै खुद्रा मूल्य ३५ रुपैयाँ ५० पैसा रहेको अवस्थामा देशभरका कारागारलाई थोक आपूर्ति गर्ने मूल्यमा ६ रुपैयाँ ५० पैसा बढी हुनु गम्भीर कुरा हो । सरकारी संस्थानले सरकारी निकायलाई आपूर्ति गर्ने मूल्य तुलनात्मक रूपमा बजार मूल्यभन्दा कम हुनुपर्ने हो तर माथिल्लो दुई निकायको मिलेमतोका कारण करोडौं रुपैयाँको फरक पर्ने गरी आपूर्ति सम्झौता हुनुलाई सामान्य मान्न नसकिने एक विश्लेषकले टिप्पणी गरे ।
साँवाको मूल्यमा सोनाको भात
कैदी बन्दीहरूलाई खुवाउने सोना मन्सुली चामलको संस्थान मूल्य ३५ रुपैयाँ ५० पैसा प्रतिकिलो । साँवा मन्सुली (राम्रो) को संस्थान मूल्य प्रतिकिलो ४२ रुपैयाँ । तर, विडम्बना साँवा चामलको मूल्य तिरेर अरुवा सोना चामलको भात खान विवश छन् कैदी बन्दीहरू । सरकारले कैदी बन्दीहरूमाथि गरिएको यो व्यवहार अन्यायपूर्ण र जालझेलपूर्ण रहेको बुझ्न सकिन्छ । ३५ रुपैयाँ ५० पैसाको चामललाई ४२ रुपैयाँ तिर्नुपर्ने बाध्यताले गाँजेको छ । कैदी बन्दीहरूलाई राज्यले ४२ रुपैयाँ प्रतिकिलो दरको चामल खान बजेट दिएपछि ४२ रुपैयाँमै संस्थानले उपलब्ध गराउने साँवा मन्सुली चामल खुवाउँदा के अपराध हुन्छ ? हाम्रो यो जिज्ञासामा नेपाल खाद्य संस्थान गण्डकी अञ्चल कार्यालयका प्रमुख भगवान् पन्त संस्थान केन्द्रीय कार्यालय र कारागार व्यवस्थापन विभागबीच भएको आपूर्ति सम्झौताअनुसार आफूले काम गर्ने बताउँछन् । रासन ठेक्का सम्झौता के कसरी भयो भन्ने बारेमा आफूलाई जानकारी नहुने भन्दै माथितिर औलो तेर्साएर उनी पन्छिए । पन्तले चामल ढुवानी (जेलसम्म) गर्ने बताए पनि कास्की कारागारमा बुझ्दा ढुवानी भाडा कारागारबाटै तिर्ने गरेको बताए ।
यता बन्दीहरू आफूलाई राज्यले गरेको विभेदप्रति अनभिज्ञ छन् । साँवाको मूल्य तिरेर पनि सोनाको भात खानु बाध्यता भए पनि विभेदबारे राज्यका जिम्मेवार निकायले विवेक पुर्‍याउनुपर्नेमा उल्टै माथिल्लो निकाय कमाउ धन्दामा लिप्त रहेको आशङ्का उब्जिएको छ । सार्वजनिक खरिद नियमावलीअनुसार राज्यले खरिद गर्नुपर्ने वस्तु वा सेवा प्रतिस्पर्धात्मक ढङ्गले घटाघट मूल्यमा खरिद गर्नुपर्नेमा ठीक उल्टो ढङ्गले खरिद नियमावलीविपरीत कैदीबन्दीको रासन आपूर्ति ठेक्का सम्झौता गर्दा कम गुणस्तरको सोना चामललाई साँवा मन्सुलीको दरमा सम्झौता गरिएको छ । यो सम्झौताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनु जरुरी देखिएको छ । सीमित घेरामा जीवन बिताउन बाध्य कैदीबन्दीहरूमाथि भएको चामल (रासन) आपूर्ति सम्झौताको यथार्थता बाहिर आउनु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।

सोना मन्सुली, कहाँको जेलमा कति दर ?
मुस्ताङ प्रतिकिलो रु.५१
मनाङ प्रतिकिलो रु.६५
गोरखा प्रतिकिलो रु.४१
बाग्लुङ प्रतिकिलो रु.४२
स्याङ्जा प्रतिकिलो रु.४२
पर्वत प्रतिकिलो रु.४२
म्याग्दी प्रतिकिलो रु.४२
तनहुँ प्रतिकिलो रु.४१
लमजुङ प्रतिकिलो रु.४१