रुवाण्डाबाट सिक्नुपर्ने ठुलो पाठ विदेशीहरूले विभाजनको खेल खेल्न सक्छन्, त्यसमा कहिल्यै पनि लाग्नु हुँदैन, किनभने अन्ततः त्यसको मूल्य विदेशीले नभएर आफ्नै नागरिकले चुकाउनुपर्छ भन्ने हो । राजनीतिक इच्छाशक्ति भयो भने मुलुकमा सिस्टम अवश्य बस्छ, त्यति ठुलो नरसंहार भएको मुलुक रुवाण्डाले तीव्र आर्थिक विकास गर्न सक्छ भने नेपालले किन सक्दैन ? राजनीतिक स्थिरता त्यहाँ हुन्छ भने हामीकहाँ किन हुँदैन ?
✍ बबिता बस्नेत
सन् १९९४ मा भएको जातीय युद्धका क्रममा चार महिनामा करिब १० लाख मानिसको नरसंहार भएको देशमा जाँदा के होला, कसो होला जस्तो त लाग्ने नै भयो । जानुअघि नक्सा हेरेँ, पूर्वमा तान्जानिया, पश्चिममा कङ्गो, उत्तरमा युगाण्डा, दक्षिणमा बुरुण्डी । कङ्गो र बुरुण्डी हामीले विगतमा शान्तिसेना पठाउने मुलुकहरू, बुरुण्डीमा मिसन सकिएपनि कङ्गोमा अहिले पनि हाम्रा सुरक्षाकर्मीहरू शान्ति-मिसनमा छन् । रुवाण्डा जातीय युद्धमा फसेर कुनैबेला त्यतिका धेरै मानिस मारिएको देश । इतिहासतिर जाँदा रुवाण्डा सुरुमा जर्मनीको उपनिवेश थियो, पहिलो विश्वयुद्धपछि बेल्जियमको भयो । उपनिवेश हुँदा त्यहाँका सोझा मानिसहरूलाई हुतु र तुत्सी दुई जातिमा विभाजित गर्ने काम भयो । जाति पहिला नै थिए तर जातजातिमा वर्गिकरण गरेर विभाजित गर्ने काम भने उपनिवेशवालाले गरे । तिमी यो जाति हौ, तिमी यो हौ भनेर त्यतिबेला कार्ड नै वितरण गरिएको रहेछ । सन् १९६२ मा उपनिवेशबाट स्वतन्त्र भएपछि हुतुको नेतृत्वमा सरकार बन्यो । हजारौँ तुत्सीहरू देश छोडेर शरणार्थी बने । बाहिरै बसेर कतिले विद्रोह गरिरहेका थिए ।
त्यसैबीच सन् १९९४ को अप्रिल ६ तारिखका दिन तात्कालीन राष्ट्रपति जुभेनल चढेको विमान किगाली विमानस्थलमा अवतरण गर्नै लाग्दा मिसाइल प्रयोग गरेर खसालियो । विमानमा बुरुण्डीका तात्कालीन राष्ट्रपतिसहित १२ जना यात्रु थिए । उनीहरू केही वर्षअघिदेखि भइरहेको रुवाण्डाको गृहयुद्ध अन्त्य गर्न गरिएको शान्ति सम्झौताको कार्यान्वयनका विषयमा तान्जिानियामा भएको बैठकमा भाग लिएर फर्किरहेका थिए । जब विमान झारेको खबर बाहिर आयो, रुवाण्डाको आरटीएलएम नामको मिडियाहाउसले चलाएको रेडियोबाट ‘हाम्रा राष्ट्रपतिलाई तुत्सीहरूले प्लेनमै मिसाइल फालेर मारे, तुत्सीहरूलाई जसले जहाँ भेट्छौ त्यहीँ मार’ भन्ने सन्देश प्रवाह भयो । रेडियोबाट त्यसरी आह्वान गर्ने ब्यक्ति त्यही रेडियोका मालिक थिए । जुन रेडियोलाई पछि घृणास्पद अभिब्यक्ति दिने ‘हेट रेडियो’ भनियो र, जसले मान्छे मार्न उक्साए तिनलाई युद्ध अपराधीको ठहऱ्याइयो । तुत्सीलक्षित युद्धमा यसो नगरौँ भनेर विरोध गर्ने हुतुहरू पनि मारिए । पति, पत्नी, नातेदार, छिमेकी, विज्ञ केही भनिएन, जसले जसलाई भेट्यो उसलाई मार्ने काम भयो । हजारौँ महिला बलात्कृत भए । एउटा सुमुदायका महिलालाई अर्को समुदायको पुरुषले बलात्कार गरे । एचआइभी भएका कति पुरुषले जानी-जानी एचआइभी सारे । यसरी रुवाण्डा नरसंहार मानव इतिहासको दर्दनाक घटनामध्ये एक हुन पुग्यो ।
नरसंहारपछि रुवाण्डन प्याट्रियोटिक फ्रन्ट (आरपीएफ) ले देशको नेतृत्व लियो, राष्ट्रपति बने पाष्टेयुर । सङ्क्रमणकाल त्यहाँ पनि लामै समय रह्यो, सन् १९९४ देखि सन् २००० सम्म, करिब ६ वर्ष । सन् २००० मा पाष्टेयुरले राष्ट्रपति पदबाट राजिनामा दिएपछि अन्तरिम संसदमार्फत पाउल कागामे राष्ट्रपति भए । सन् २००३ मा भएको पहिलो प्रत्यक्ष निर्वाचनमा कागामे ९५ प्रतिशत मत ल्याएर विजयी भए । त्यसपछि उनले अहिलेसम्म लगातार चुनाव लड्दै र जित्दै आएका छन् । पछिल्लो पटक सन् २०२४ मा भएको निर्वाचनमा उनले ९९ प्रतिशत मत ल्याए । त्यो मत जनताले उनलाई मुलुकको विकास गरेवापत दिएका हुन् ।
राष्ट्रपति कागामेले के गरे त्यस्तो ?
सबैभन्दा पहिला उनले राजधानी किगालीमा कानूनी शासन स्थापनामा जोड दिएछन् । त्यसका लागि शहरको सरसफाई र ट्राफिक ब्यवस्थापनबाट काम सुरु भयो । अहिले राजधानी किगाली यति सफा छ कि आफूले लगाएको जुत्ताले फोहोर बनाउला कि भनेर सोच्नुपर्छ । प्रत्येक दिनको सफाई त छँदैछ, हप्तामा एक पटक सर्वसाधारण जनताले सरसफाइमा श्रमदान गर्ने रहेछन् । प्लाष्टिक बन्देज गरिएको छ । यदि प्लाष्टिकको झोला या यस्तै केही देखियो भने एयरपोर्टमै राखिन्छ, बाहिर लैजान दिइँदैन । विदेशी लगानीलाई एयरपोर्टमा ठुलो अक्षरमा लेखेरै स्वागत गरिएको छ । लगानी विदेशी हुन्छ, कामदार आफ्नो देशका नागरिक, जसका कारणले रोजगारीका बाटाहरू खुल्ने नै भए । यद्यपि पूर्ण रोजगार मुलुक भने बन्न सकेको छैन ।
हाम्रो जस्तै त्यहाँ पनि मोटरसाइकल राइडरहरू छ्याप्छ्याप्ती हुने रहेछन् । पर्यटन आम्दानीको मुख्य श्रोत बनेको छ । सम्मेलन पर्यटन पनि निकै हुने रहेछ, अफ्रिकन मुलुकमा अन्तराष्ट्रिय सम्मेलन गर्नु पऱ्यो भने रुवाण्डा पहिलो प्राथमिकतामा पर्न थालेको छ । मिलेको पहाड भन्न मिल्ने किगाली पूरै हरियाली शहर रहेछ, फूल फुलेको मौसममा बाटोमा हिँड्दा बगैंचामा हिँडेको महसूस हुने । प्रत्येक वर्ष आर्थिक स्तर बढ्दो । भिजन ५० भनेर सन् २०५० सम्ममा मुलुकलाई उच्च आय मुलुकमा पुऱ्याउने लक्ष्य रहेछ । कफी, चिया पनि आम्दानीको श्रोतभित्र पर्ने रहेछन् ।
जुन जातका नाममा त्यति ठुलो युद्ध भयो, (भयो भन्दा पनि गराइयो) त्यो विषयमा अहिले खुलेर कुरा गर्न नपाइने रहेछ । हुतु, तुत्सी भनेर सार्वजनिक रूपमा उच्चारण गर्न कानूनले बन्देज लगाएको रहेछ । पारिवारिक, ऐतिहासिक रूपमा जे-जे भएपनि कानूनी रुपमा रुवाण्डामा ती जातहरू अहिले छैनन् ।
अफ्रिकाका शहरमध्ये किगाली सबैभन्दा सुरक्षित शहर मानिदोरहेछ । मानिसहरू सभ्य र शान्त, मिठो बोल्ने, नम्र ब्यवहार, केही कुरा दिँदा-लिँदा दुई हातले दिने, हाम्रो पुरानो संस्कृति जस्तो । हावापानी मौसम पनि राम्रो, जाडो पनि होइन गर्मी पनि होइन, ठिक्क, सधैं उस्तै । किगालीलाई अफ्रिकाको टेक हब बनाउने प्रयास पनि भइरहेको रहेछ । बजारमा क्यासको कारोबार अत्यन्त न्युन हुने । हामीले एउटा रेष्टुरेण्टमा खाना खाएर क्यास पैसा दिँदा फिर्ता दिने पैसा खोज्न उनीहरूलाई निकै समय लाग्यो । सरकारी सेवा प्रायः सबै नै अनलाइनमार्फत हुने रहेछ । रुवाण्डाको प्रगतिको एउटा कारण समय ब्यवस्थापन पनि रहेछ । मानिसहरू कहीँ जानु छ भने समयमा पुग्ने, समयमा कार्यक्रमहरू सुरु हुने, समयमा सरकारी र अन्य कामहरू हुने ।
किगाली पुगेपछि त्यहाँ रहेको जेनोसाइड मेमोरियल नजाने कमै मानिस होलान् । यो यस्तो स्मृति म्युजियम हो जहाँ सन् १९९४ मा भएको नरसंहारका फोटोहरू राखिएका छन् । चिहानहरू छन्, त्यतिबेलाको नरसंहारमा मृत्यु भएका आफन्तका सम्झनाहरू कैद गरेर देखाइने दृष्यहरू छन् । यो जम्मा ३२ वर्षअघिको कुरा भएकाले आमा-बाबु गुमाउने बच्चाहरू, बच्चा गुमाउने आमाबाबुहरू अझै जीवित छन् । उनीहरूको स्मृतिका भिडियोहरू, मृत्यु भएकाहरूका हेर्नै नसकिने तस्बिरहरू, खप्पर र नलीहाडहरू, कपडाहरू, चिहानहरू, चिहानमा देखिने गरेर राखिएका र गाडिएका लाशहरू… एउटा दर्दनाक घटना सम्झाउने दृष्यहरू । उनीहरूले इतिहासलाई एकै ठाउँ कैद गरेर राखेका छन् । हामीले हाम्रो द्वन्द्वको इतिहासलाई त्यसरी कैद गरेर राख्न सकेका छैनौं । नरसंहार स्मृति म्युजियममा विगतका दर्दानक दृष्य मात्र छैनन्, त्यस्तो परिस्थितिबाट मुलुक कसरी माथि उठ्न सफल भयो भन्ने तस्बिरहरू पनि छन् ।
हुतु, तुत्सी कहाँ गए ?
जुन जातका नाममा त्यति ठुलो युद्ध भयो, (भयो भन्दा पनि गराइयो) त्यो विषयमा अहिले खुलेर कुरा गर्न नपाइने रहेछ । हुतु, तुत्सी भनेर सार्वजनिक रूपमा उच्चारण गर्न कानूनले बन्देज लगाएको रहेछ । पारिवारिक, ऐतिहासिक रूपमा जे–जे भएपनि कानूनी रुपमा रुवाण्डामा ती जातहरू अहिले छैनन् । कसैलाई इतिहास बताउँदा, इतिहास पढाउँदा र म्युजियममा कुरा गर्न मिल्छ, अरु ठाउँमा कुरा पनि नगरिँदोरहेछ । सकेसम्म नसोध्नु भन्ने रहेछ, सोधि नै हाले पनि मानिसहरू सानो, अत्यन्त दबेको स्वरमा बताउने रहेछन् । उक्त विषयमा कुरा गर्ने चलन नै रहेनछ । त्यसो भए रुवाण्डामा सबै नै ठिकठाक छ त ? मानवअधिकारवादीहरूले चाहिँ सरकारको आलोचना गर्ने रहेछन् । अभिब्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको उपभोग गर्ने अवसरबाट भने जनता वञ्चित नै छन् । राजधानीमा जति विकास भएको छ, निश्चित ठाउँहरू बाहेक गाउँसम्म त्यो पुग्न सकेको छैन ।
रुवाण्डाबाट सिक्नुपर्ने ठुलो पाठ विदेशीहरूले विभाजनको खेल खेल्न सक्छन्, त्यसमा कहिल्यै पनि लाग्नु हुँदैन, किनभने अन्ततः त्यसको मूल्य विदेशीले नभएर आफ्नै नागरिकले चुकाउनुपर्छ भन्ने हो । जातीय विभाजनले ल्याउने द्वन्द्व कति डरलाग्दो कुरा हो भन्ने त प्रमुख भइ नै हाल्यो । साथै मिडियाको भूमिकाको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । रेडियोले फुकेको भरमा हल्ला फैलिएर लाखौँ मानिसको ज्यान गयो । मिडियाको गलत प्रयोग कति खतर्नाक कुरा हो भन्ने पाठ पनि हामीले सिक्न सक्छौँ ।
हामीले मुलुकसँग जोडिएका विविध विषयमा कुराकानी गऱ्यौं । प्रायः सबैको समान प्रश्न थियो, अब नेपालमा राजनीतिक स्थिरता हुन्छ त ? विकास हुन्छ त ? मुलकमा सिस्टम बस्छ त ? आफ्नै देशमा रोजगारीको सम्भावना बढ्ला त ?
नेपाली मन, जहाँ भएपनि आफ्नै
मिडिया निर्देशिकासम्बन्धी अफ्रिकी मुलुककेन्द्रित एउटा कार्यक्रममा आफ्नो अनुभव राख्न र अरुको सुन्न रुवाण्डाको राजधानी किगाली जाँदै गर्दा मनमा अनेक प्रश्नहरू थिए । तीमध्ये एउटा थियो- के त्यहाँ नेपालीहरू होलान् ? भएपनि कसरी भेटिएला र ? यात्रामा सँगै रहेका अनलाइन खबरसम्बद्ध पत्रकार भाइ कौशल काफ्लेसँग काठमाडौं एयरपोर्टमै यो विषयमा कुरा भएको थियो । काठमाडौंबाट कतारको दोहा, दोहाबाट युगाण्डाको इन्टब्बे हुँदै केन्याको नैरोबी एयरपोर्टमा प्लेनमा बसिरहेको बेला एक महिला नेपालीमा केही बोल्दै प्लेन चढेको देखेँ । युगाण्डामा ट्रान्जिटमा बसेपनि नैरोबीमा भने एयरपोर्टमा हामीलाई प्लेनभित्रै राखेर केही यात्रु त्यहाँ ओर्लिने र केही चढ्ने गरेका थिए । किगाली एयरपोर्ट युगाण्डाको इन्टेब्बे एयरपोर्ट भन्दा धेरै फरक थियो । भुइँ सफा थियो, इमिग्रेसनको ढोकाभित्र छिर्नुअघि हात सेनिटाइज गर्नुपर्ने, ठाउँ-ठाउँमा सेनिटाइजर राखिएका । इमिग्रेसनका कर्मचारीको अत्यन्त नम्र ब्यवहार । इमिग्रेशनमा लाइन लागिरहेको बेला नैरोबीमा प्लेन चेढेकी महिलालाई सोधेँ– कताबाट आउनुभो ? कहाँ जान लाग्नुभएको ? उहाँले आफ्ना छोरा-बुहारी किगालीमा रहेकाले भेट्न आएको बताउनुभयो । उहाँसँगै रहेका अर्का यात्री पनि केही कामले किगाली जाँदै रहेछन्, जोसँग उहाँ नेपालीमा बोलिरहनुभएको थियो ।
एयरपोर्टबाट बाहिर निस्किँदा बच्चासहित उहाँका छोरा र बुहारी आमालाई पर्खिरहेका थिए, साश्वत कार्की र सुमित्रा पहारी, आमाको नाम गया कार्की रहेछ । एउटा नसोचेको संयोग थियो त्यो । चार्टर्ड एकाउन्टेन्ट साश्वतले किगालीमा रहेका नेपालीहरूसँग भेटघाटको अवसर जुराइदिए, विकास डंगोल, जेबी बन्जरा, रमेश शर्मा, सरोज राई, सरिता राई, प्रकाशचन्द्र घिमिरे, निरज इटनी । कोही चार्टर्ड एकाउन्टेन्ट, कोही इन्जिनियर, विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रमुखदेखि ड्राइपोटसम्ममा काम गर्ने । किगाली पुगेकै दिन हामी बसेकै होटलमा भेटिनुभयो योगेशबम मल्ल । पहिला विश्व बैंकमा काम गर्ने योगेश अहिले चीनको राजधानी बेइजिङ्गमा एशियन इन्फास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकमा काम गर्नुहुँदोरहेछ । किगालीमा सरकारलाई सहयोग गर्ने कार्यक्रमको बैठकका लागि बैंकको प्रतिनिधिका रूपमा त्यहाँ पुग्नुभएको रहेछ । विश्वका बिभिन्न स्थानमा नेपालीहरूको गौरबमय उपस्थिति देखेर खुशी लाग्नु स्वभाविक नै हो । उहाँसहित किगालीमा बसोबास गरिरहनुभएका नेपालीहरूसँगको भेटघाट अविष्मरणीय रह्यो ।
किगालीमा २० देखि २५ जनाजति नेपाली रहेछन् । कतिले त त्यहीँ घर, जग्गा किनेर बसेका, दामसँगै आफ्नो क्षेत्रमा नाम कमाएका । हामीले मुलुकसँग जोडिएका विविध विषयमा कुराकानी गऱ्यौं । प्रायः सबैको समान प्रश्न थियो, अब नेपालमा राजनीतिक स्थिरता हुन्छ त ? विकास हुन्छ त ? मुलकमा सिस्टम बस्छ त ? आफ्नै देशमा रोजगारीको सम्भावना बढ्ला त ? कुरा गर्दै जाँदा सबैको निष्कर्ष पनि करिब-करिब उस्तै निस्कियो । राजनीतिक इच्छाशक्ति भयो भने मुलुकमा सिस्टम अवश्य बस्छ, त्यति ठुलो नरसंहार भएको मुलुक रुवाण्डाले तीव्र आर्थिक विकास गर्न सक्छ भने नेपालले किन सक्दैन ? राजनीतिक स्थिरता त्यहाँ हुन्छ भने हामीकहाँ किन हुँदैन ?
प्रतिक्रिया