नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको कोशी प्रदेशस्तरीय खुला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाशचन्द्र नेपाल प्रथम भएका छन् ।
प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा आयोजित प्रतियोगितामा आठ जिल्लाका ६१ सहभागीलाई पराजित गर्दै नेपाल प्रथम भएका हुन् ।
प्रतियोगितामा प्रथम उपाधि प्राप्त गरेका नेपाललाई रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदानसहित पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।
उपाधिविजेता नेपाललाई जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र बुद्धिचाल सङ्घ कोशी प्रदेशका अध्यक्ष सुरेन्द्रकुमार राईले पुरस्कार वितरण गरे ।
कोशी प्रदेश बुद्धिचाल सङ्घ सहआयोजक तथा जिल्ला बुद्धिचाल सङ्घको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ द्वितीय र सुनसरीका ललितबहादुर राई तृतीय भएका आयोजकले जनाएको छ । उनीहरुलाई क्रमशः रु १५ हजार, रु १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
दशौँ स्थानसम्म हासिल गर्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इम्बुङ पाँचौँ र इलामका सुरेन्द्रकुमार राई छैटौँ भएका थिए । त्यस्तै, खोटाङका धिरेन राई सातौँ तथा खिलाराज राई आठौँ, सुनसरीका किशोरदेव राई नवौँ र हलेसीका मेजर राई दशौँ स्थानमा रहे ।
सात समूहमा विभाजन गरेर फरक–फरक विद्यामा पुरस्कृत गर्नेगरी आयोजना गरिएको प्रतियोगिता अन्तरगत महिलातर्फ कुसुम घिसिङ प्रथम, लिरा सेनेहाङ द्वितीय र तपस्या कार्की तृतीय भएका छन् ।
विद्यार्थीतर्फ राकेश आचार्य प्रथम, कमल राजभण्डारी द्वितीय र सुशासन राई तृतीय भएका थिए । खोटाङ जिल्लातर्फ मनकुमार राई प्रथम हुँदै रु चार हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकातर्फ आयुष राई प्रथम हुँदै रु तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् । उमेर समूहतर्फ १६ वर्षमुनिका अभिषेक आचार्यलाई रु चार हजार तथा १२ वर्षमुनिका क्रिशल प्रधानलाई नगद रु तीन हजार प्रदान गरियो ।
स्विस लिग फरम्याट (स्विजरल्याण्डमा प्रचलित नियम) अन्तर्गत आयोजना गरिएको प्रतियोगितामा प्रदेशभरका खेलाडीमध्ये हिल च्याम्पियन (उच्च पहाडी क्षेत्रका उत्कृष्ट) हुने निङ्मा शेर्पालाई नगद रु चार हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया