स्वास्नीमान्छेभित्रको आगो र पानीका कथा

स्वास्नीमान्छेभित्रको आगो र पानीका कथा


-दीपकमणि ‘दाजुभाइ’
स्वास्नीमान्छे शरीर मात्र या मन मात्र होइन दुवै हो ।
स्वास्नीमान्छेको मन पनि हुन्छ शरीर पनि र प्रत्येक स्वास्नीमान्छे मन र शरीरको मिश्रण हुन् । यो कुरा रत्नले राम्रोसँग बुझेको छ । उसले शरीरभित्रको स्वास्नीमान्छेलाई पनि बहुत सूक्ष्म तरिकाले बुझेको छ । त्यही भएर उसको लेखनमा सिङ्गो स्वास्नीमानिस प्रस्तुत हुन्छ । स्वास्नीमान्छेको साँचो तस्बिर हुन्छ । त्यसो त रत्न प्रजापति मानवीय संवेदनाको कथाकार हो । उसका प्रत्येक कथामा मानिसभित्रको अन्तरद्वन्द्व अझ त्यसमा पनि स्वास्नीमान्छेभित्रको आगो र पानी हुन्छ । त्यसो त स्वास्नीमान्छेभित्रको पानीभन्दा पनि रत्नको कथामा स्वास्नीमान्छेभित्रका आगोहरू नै ज्यादा छन् । त्यसो त रत्नलाई त्यही पोलिरहने आगोहरूका कथा लेख्न मन लाग्छ । बाहिर नदेखिने त्यो आगोले कुन स्वास्नीमान्छेलाई जलाएन – त्यही हरेक ठाउँ र स्ान्दर्भहरूमा जलिरहेका स्वास्नीमान्छे रत्नका मूल पात्र हुन् ।
रत्न प्रजापतिको पछिल्लो कथासङ्ग्रह सेतो बादल सुन्दर र शक्तिशाली कथाहरूको सङ्ग्रह हो । यसभित्र नेपाली कथाको पछिल्लो स्थितिलाई मापन गर्न सक्ने सामर्थ्य बोकेका कथाहरू छन् । मनोविज्ञान र समाज विज्ञान रत्नका कथाका आधारभूमि हुन् । रत्नको कथाको गहना भने पनि हुन्छ- संवेदनशीलतालाई । रत्नले आफ्ना पात्रहरूमा मात्र संवेदना खोजेको छैन । नपत्याउँदो किसिमले उसले पाठकहरूको मनलाई पनि संवेदनशील बनाउँछ । हामीलाई लाग्छ, उसको सफलता भनेकै यही हो । प्रत्येक कथाको मध्यमा हरेक पाठक भावुक र संवेदनशील बन्न बाध्य छ । यो बाध्यता पाठकलाई प्रिय पनि लाग्नेछ । कथाको शक्ति नै यही हो । कोही पनि पाठक रत्नको कथा पढेपछि आनन्दित या प्रभावित नभइरहन सक्दैन ।
यी र यस्तै सन्दर्भहरूमा रत्नका २४ वटा कथा यस सङ्ग्रहमा रहेका छन् । रत्न पुस्तक भण्डारले निकालेको सेतो बादल मानिसका आन्तरिक दुःख र दर्दका कथाहरू हुन् । अझ स्वास्नीमान्छेभित्र हरक्षण हर्ुर्किने एक्लोपन रत्नको चासो र रुचिको विषय हो । रत्नलाई के थाहा छ भने मानिसभित्र रहने अतृप्ति र कुण्ठा नै विचलनका कारणहरू हुन् । रत्न यही विचलनलाई कम गर्ने प्रयासमा छ । तर, उसको यो प्रयास नदेखिँदो छ । बुझिने तर नदेखिने ।
रत्नका कथाका विषयहरू आदिमजस्ता देखिने आधुनिक विषयहरू न्ौ हुन् । साँचोमा रत्नका विषयहरू शाश्वत विषयहरू हुन् । रत्नका विषयहरूले पाठकको मन छुन्छ । उसको उठान गर्ने शिल्प-शैलीले कथामा मीठो स्वाद प्रदान गरेको छ । रत्नको अर्को रमाइलो पक्ष भनेको उसको आफ्नै मौलिक पहिचान र शैली छ । रत्नका कथाले उत्पन्न गर्ने स्थितिका सहजता र स्वाभाविकता अत्यन्तै प्रभावकारी छन् । उसका कथा प्रायजसो थोरै पात्र र संवादका छन् । थोरै पात्रका बीचमा उसले प्रतिनिधि पात्रहरू न्ौ च्ाुनेको छ । प्रत्येक कथामा दाम्पत्य जीवन र यसमा थपिने जटिलताहरू छन् । जीवनतिर आकरि्षत परिवेश र त्यही आकर्षण-विकर्षणका खेलमा पिछिने यावत् सन्दर्भहरू छन् । अझ दुःखका तानाबानाहरू प्ानि छन् ।
रत्नको कथालेखन थोरै शब्दले शीघ्र प्रभाव चित्र उत्पन्न गर्न सफल छ । त्यसैले कथालाई अन्त्यतिर मोड्न उसलाई सजिलो लाग्छ । त्यसका साथै कति कथा जीवनवादी र सकारात्मक शक्ति प्रदान गर्ने खालका छन् । ऊ कथामा जीवन खोजिरहेको हुन्छ । उसको जीवनको खोज प्रिय र आनन्ददायक लाग्छ पाठकलाई । तर उसका पात्रहरू भने हरेक पल जटिलतासँग जुधिरहेका हुन्छन् ।
झट्ट हेर्दा रत्नको कथाको मूल विषय यौन हो । यौनिक चेतनाको विकास, पुरुषको भूमिका, नारीको स्थान, त्यसले उत्पन्न गर्ने परिणाम, त्यसमा आधारित कति संस्कार र विकारहरू, अत्याचार र कुसंस्कारहरू कथामा यत्रतत्र भेटिन्छन् । समाजमा त्यसको स्थान, मानव हृदयमा त्यसको स्थान र यौनले समाज विज्ञानमा उत्पन्न गरेको तरङ्ग रत्नका कथामा प्रशस्त छन् । यौनले बनाउने सम्बन्ध, बिगार्ने नाता सम्बन्धहरू यावत् चिज छन् । यति धेरै चिजहरू पनि सहज र स्वाभाविक रूपमा रत्नले कथामा बुनेको छ । ऊ कथालाई जटिल विषयहरूबाट अघि बढाउँछ तर कथालाई सरल नै राख्छ । कथा जटिल बन्न दिँदैन । यही नै रत्नको मौलिक पहिचान हो ।
यौवनको रुढता, वैवाहिक जीवनमा पार्ने तनाव, दाम्पत्यमा थपिएको जटिलता, जीवनमा बढ्ने निराशा रत्नका कथाका सन्दर्भहरू हुन् । मानवजीवनका हरेक अवस्थालाई छेउमा नरनारीको आकर्षणलाई राखेर हेर्दा जीवन कस्तो लाग्छ- त्यसको मनोविश्लेषण र सूक्ष्म कर्म रत्नको कथामा छ । यौनिकतासँग जोडिएका मातृत्वका, पितृत्वका, तृप्ति र अतृप्तिका, सन्देश र विखण्डनका कथा छन् सेतो बादलमा ।
रत्नका प्रायः कथामा नागर जीव्ानका सङ्घर्षरत विपन्न वर्ग छ । कुनै आकर्षणले अल्झेको । छोटो शीर्षक । तर, त्यही छोटो शीर्षकले कथाको पूर्णता बोकेको । छोटो कथा । पढ्दापढ्दै सकिने । टुङ्गिहाल्ने । थोरै पात्र एक वा दुई । धेरै ठाउँमा अनाम ऊ पात्र । संवाद कम । तर शक्तिशाली । कुनै अनावश्यक फुँदा छैन । जे हो त्यही छ । सीधा र प्रस्ट । दायाँबायँँ र छक्कापञ्जा छैन । स्पष्ट छन् प्रत्येक कथाहरू । रत्न सजिला र राम्रा कथाकार हो भन्ने कुराको प्रमाण हो- सेतो बादल ।
रत्न प्रजापतिको अर्को राम्रो कुरा के हो भने ऊ प्रचार खोज्दैन । काठमाडौंबाट पर भक्तपुरमा बसेर ऊ कथा कर्ममा छ । धेरै लेख्दैन । जति लेख्छ । सबैको प्रिय लेख्छ । उसलाई चर्चामा आउनु छैन । तर, पाठकको मनमा चाहिँ बस्नु छ । त्यही भएर जति कथा लेखेको छ । पाठकलाई अग्रभागमा नै राखेर लेखेको छ । ऊ पाठकभन्दा पर पुग्न पनि चाहँदैन । उसलाई थाहा छैन । कथाको मापन गर्ने भनेको पाठकले नै हो । न कि पत्रकार या समालोचनकले ।
रत्नले पत्रकार र समालोचकका लागि कथा लेखेका छैन । उसले केवल पाठकका लागि कथा लेखेको छ । ऊ सधैं पाठकको सामु उभिन चाहन्छ । प्रचारका लागि पत्रकारका सामु ऊ उभिन चाहँदैन । या चर्चाका लागि समालोचकको ढोका-ढोकामा पनि ऊ पुग्दैन । त्यही भएर आफ्नै समकालीन कथाहरूको साथमा ऊ भिन्न छ । आफ्नो विशिष्ट पहिचान छ । यही नै उसको कथाकर्मको उपलब्धि पनि हो ।
सेतो बादलका सबै कथा उत्कृष्ट छैनन् । यसभित्र पनि केही नराम्रा र नराखे पनि हुने किसिमका कथाहरू छन् । रत्नका पनि आफ्ना केही सीमाहरू छन् । त्यो सङ्ग्रहमा पनि देखिएको छ । यसो हुँदाहुँदै पनि सेतो बादल प्रिय बनेको छ । धेरै राम्रा कथाहरूका कारण केही नराम्रा कथाहरू ओझेलमा परेका छन् ।