गणेश नेपालीलाई थप उपचारका लागि भारत लगिने

गणेश नेपालीलाई थप उपचारका लागि भारत लगिने


त्रिपुरेश्वर (काठमाडौं)स्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले उपलब्ध गराउने भएको छ ।

हाल वीर अस्पतालमा उपचाररत नेपालीको थप तथा विशिष्टिकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्लीस्थित ‘अखिल भारतीय आयुर्विज्ञान संस्थान’ लैजाने तयारी गरिएको जनाइएको छ ।

चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै बिरामीलाई तत्काल भारत लैजान आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन प्रधानमन्त्रीको सचिवालयले निर्देशनदिएको छ ।

प्रधानमन्त्री बालेन्द्र साहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारका लागि भारत लैजाने प्रक्रिया अघि बढाइएको बताइएको छ ।

ज्ञातव्य छ, राइड सेयरिङ एपमार्फत राइडरको काम गर्दै आएका मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागअघि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । राहदानी विभाग अघिल्तिर पार्किङ गरेको मोटरसाइकलमा महानगर प्रहरीले ‘व्हीललक’ गरिदिएपछि उनले बाइकबाटै पेट्रोल निकालेर शरीरमा आगो लगाएका थिए ।