एमाले रुपान्तरण कार्यदल : प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी बादल र पोखरेललाई

एमाले रुपान्तरण कार्यदल : प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी बादल र पोखरेललाई


नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनःगठनसम्बन्धी कार्यदलले देशव्यापी सुझाव सङ्कलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शङ्कर पोखरेललाई दिएको छ ।

सो पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बिहीबार (२५ असार) बसेको कार्यदलको बैठकले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ । प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको सो पार्टीले जनाएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित रहेका थिए ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार सुझाव सङ्कलन अभियानबाट प्राप्त राय, सुझाव र निष्कर्षलाई समेटेर तयार गरिने प्रतिवेदनले पार्टीको भावी वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक दिशा निर्धारणमा महत्त्वपूर्ण आधार तयार गर्नेछ ।

कार्यदलले देशभरबाट प्राप्त सुझाव पार्टी पुनर्गठनको भावी कार्ययोजना निर्माणका लागि महत्त्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेको छ ।