✍ पुरुषोत्तम ढकाल
मलाई तिमी चाहिन्छ – क्षणभरका लागि होइन,
हावा जस्तै उड्न मनलाग्छ तिम्रो नाउमा
लगाम बिनाको घोडा जस्तै तर तिमीसँगै
नदीजस्तै बग्ने रहर पुरा होला-नहोला
मैले बाँच्ने जिन्दगीका पलहरुमा
प्रत्येक पल लिने स्वासका लागि
मलाई तिमीभित्रको तिमी चाहिन्छ
हिउँजस्तै सेतो, निश्चल र कञ्चन
पाइलो नपरेको हिम श्रृंखलाको टुप्पोतिर
र, अविरल बहने रुप्से झरनाजस्तै ।
तिम्रो साथ अँध्यारोको उज्यालो हो,
शुक्ल पक्षको चन्द्रमा उदाएजस्तै
जसले मलाई रातका प्रत्येक प्रहरमा बाटो देखाउँछ।
तिम्रा आँखाहरू मेरो कविताको शुभारम्भ हो
प्रिय अनुच्छेद भन्दा सुन्दर, सपनाभन्दा पनि चम्किलो।
जब तिमी मलाई हेर्छ्यौ र मुस्कुराउँछ्यौ लजाउँदै
लाग्छ जगत टक्क अडिएको छ
जसरी घडीको सुई मध्य प्रहरमा रोकिन्छ।
तिमीसँगको पल चैत मासको खडेरीमा वर्षिएको झरीजस्तै हो,
बालकको निश्चल हाँसोजस्तो तर कृष्ण पक्षको रातजस्तै शान्त ।
यदि मैले मभित्रको म गुमाएँ भने वा संसारै गुमाएँ भने पनि,
जबसम्म तिमी मसँग छ्यौ, त्यही हो मेरो सारा संसार ।
बोल्नै पर्दैन प्रिय, हाम्रो मौनता प्रेमले फुल्दै र फल्दै पाकेको छ
नबोलिएका शब्दहरू, तर हृदयमा महसुस भएका प्रेमिल अनुभूतिहरु ।
हाम्रा मनहरू एक–अर्कासँग साउती मार्छन्
आवाजविहीन, बोल्दै नबोलीकन ।
तिमी एउटा कविता हौ
मैले गीतजस्तै गुन्गुनाउँछु पनि
स्वरमा, वाचनमा र लयमा होइन
बरु आत्माभन्दा पर परमात्माको भेटजस्तो
उल्लास र आनन्दको अन्तिम क्षण मोक्षजस्तो ।
यदि हृदयले लेख्न सक्थ्यो भने,
अनुभूतिले देख्न सक्थ्यो भने
आकृतिले तश्वीरको रुप धारण गर्थ्यो भने
यसले तिम्रो नाम म मरेपछि पनि नमेटिने गरि लेख्थ्यो
धर्ति रहोस् नरहोस्, म चाहन्छु त्यो नाम अजर अमर रहोस्
हरेक अंगमा, ओठमा, निधारमा, गलामा र यत्र तत्र सर्वत्र,
अलिकति संघर्ष, अलिकति पीडा, बहेपनि बलिन्द्र धारा आँसु
आखिर जिन्दगी भन्नु पूर्णबिराम हुने यात्रा न हो
र प्रेम भन्नु सप्तरंगी इन्द्रधनुष न रहेछ
बस मलाई तिमी चाहिन्छ
यो जुनीमा प्राप्ति भनेकै तिम्रो प्रेम रहेछ
शरीर र सम्पति भन्नु त नासवान रहेछ
ज्ञान र ज्ञात गरेको छु प्रिय
बस, मलाई तिमीभित्रको तिमी चाहिन्छ !
– लस-एन्जलस, अमेरिका
प्रतिक्रिया